काठमाडौं :
एसिया कपमा आज (शनिबार) ३ः१५ मा समूह ’ए’ अन्तर्गत दोस्रो खेल हुँदै छ। विश्व भरका दर्शकका लागि बहुप्रतिक्षित मानिएको भारत–पाकिस्तान एकदिवसीय खेलको टिकट बिक्रिमा राखिएको केही समयमानै ’सोल्ड आउट’ भएको थियो।
तर शनिबार भारत–पाकिस्तान खेलमा वर्षा बाधक हुने जोखिम उत्कर्षमा रहेको छ। चार वर्ष पछि हुन लागेको विश्व क्रिकेटका दुई चिरप्रतिद्वन्दीको भिड्न्त भने आकाशमा बादल मडारिएसँगै समस्यामा परेको छ। केन्डीमा शनिबार बिहानै देखी कालोबादल मडारिएको छ भने हल्का वर्षा सुरु भएको छ।
दिनभर वर्षाको सम्भावना भएकाले समर्थकहरु निरास बनेका छन्। विभिन्न मौसम अनुमान गर्ने निकायहरुले केन्डीमा दिनभर वर्षाको सम्भावना ९० प्रतिशत माथि औंल्याएका छन्। जसले गर्दा आज भारत–पाकिस्तानको खेल ५० ओभर हुने सम्भावना कमजोर छ।
यदि वर्षा भएमा ओभर घटाएर खेल खेलाउने सम्भावना रहन्छ। तर कम्तिमा २० ओभरको खेल हुनु पर्ने छ। यदि त्यसो हुन नसकेमा खेल रद्द हुने छ। यदि भारत र पाकिस्तानको खेल हुन नसके रिजर्व डे नभएकाले दुबै टिमले अङ्क बाँड्ने छन्। दुबै टिमले १–१ अङ्क बाँड्दा पाकिस्तानको ३ र भारतको १ अङ्क हुने छ।
वर्षाका कारण अङ्क बाँड्न पुगेमा पाकिस्तान ३ अङ्कका साथ शीर्ष चारमा प्रवेश गर्ने छ। भारतका लागि भने पुन एक पटक नेपालसँगको खेल निर्णायक हुने छ। यदि नेपालसँग पनि वर्षाले खेल हुन नसकेमा भारत २ अङ्कका साथ शीर्ष चारमा पुग्ने छ। तर यदि नेपालसँग खेल भएमा र भारतलाई नेपालले पराजित गरेमा भने नेपाल शीर्ष चारमा पुग्ने छ।
तर भारतले नेपाललाई पराजित गरेको खण्डमा भने भारतले शीर्ष चारमा स्थान पक्का गर्ने छ। शनिबारको खेल नेपालका लागि पनि महत्वपूर्ण छ। यदि पाकिस्तानले भारतलाई हराएमा अन्तिम खेल निर्णायक हुने छ। समग्रमा वर्षा बाधक बनेमा भने भारतले नेपालसँगको खेलको प्रतिक्षा गर्नु पर्ने छ। यद्यपि वर्षा रोकिएर कम ओभरमा घटाएर पनि खेल गराउने प्रयास भने आयोजकले गर्ने छ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।