कपिलवस्तु । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ अर्थात नेविसंघ कपिलवस्तुको जिल्ला नेतृत्वको विषयमा अहिले असामान्जस्यता देखिएको छ । नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले नेविसंघ जिल्ला अध्यक्ष चन्द्रकान्त पोख्रेललाई बनाएपछि यता कार्यवाहक अध्यक्ष रहेका माधव पौडेलले असन्तुष्टि प्रकट गरेका हुन ।
नेपाल विद्यार्थी संघ कपिलवस्तुका कार्यवाहक अध्यक्ष पौडेलले चन्द्रकान्त पोख्रेललाई अध्यक्ष स्विकार नगर्ने एक विज्ञप्ति मार्फत घोषणा गरेका छन् । पौडेलले आफू नेविसंघको जिम्मेवारीमा रहदा रहदै पोख्रेलले भ्रामक सूचना दिएको आरोप समेत लगाएका छन् ।
उता पोख्रेललाई नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले तीन महिनाका लागि अध्यक्ष तोकेर पठाएका थिए । पोख्रेललाई जिल्ला अध्यक्ष बनाएको पत्र सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा बधाई दिनेको संख्या पोख्रेल समर्थकहरुको देखिएको छ । यही बेला यता कार्यवाहक अध्यक्ष रहेका पौडेलले बिहिबार एक विज्ञप्ति जारी गर्दै आफूले नेविसंघको जिल्ला नेतृत्व नभएका बेला कार्यवाहक अध्यक्ष भई काम गरिरहेका बेला आफूलाई जानकारी समेत नगराई एका एक भ्रामक सूचना जारी गरी अध्यक्ष तोकिनु आफ्ना लागि स्विकार्य नहुने बताएका हुन ।
युवा नेताको छवि बनाएका पोख्रेललाई तीन महिनाभित्र अधिवेशन गर्ने गरी नेविसंघ केन्द्रीय समितिले जिम्मेवारी दिइएको पत्र सार्वजनिक भएको छ । तर यो विधान विपरित रहेको कार्यवाहक अध्यक्ष माधव पौडेलले दाबी गरेका छन् । उनले नेविसंघको विधान अनुसार ३२ वर्षे उमेर हदको पनि नियम तोडिएको बताएका छन् ।
पौडेलले २०७९ माघ २० गते नेविसंघ कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका थिए । तर उता पोख्रेललाई अध्यक्ष तोकिएको मिति २०८० असार २५ को छ ।
यो विषयले अहिले नेपाली कांग्रेस कपिलवस्तु भित्रको आन्तरिक राजनितिक गुटबन्दी र यसको असर नेविसंघमा प्रष्ट बाहिर देखिएको छ । पार्टी भित्रको गुटबन्दीको असर नेविसंघको माध्यबाट बाहिर पोखिएको हो ।
पोख्रेललाई अध्यक्षको जिम्मेवारी दिएको पत्रको मिति २०८०। ३ । २५ रहेको छ । पौडेल भन्छन् ‘उक्त मितिमा म नै कार्यवाहक अध्यक्ष थिएँ । मेरो कार्यकाल अझै बाँकी छ । यस्तो गैर जिम्मेवार काम गरेर केन्द्रिय कार्यसमितिले ममाथि राजनीति गरेको छ । यो राजनीति गर्नुमा जिल्लास्थित पार्टी पङ्ति र केहि गुटका मान्छे रहेका छन् ।’
पौडेलले आफूलाई २०७९ माघ २० गते कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको जानकारी दिए । निर्वाचित जिल्ला सभापति राकेश पाण्डेले आफूलाई अध्यक्षको जिम्मेवारी तोकेको सबैलाई अवगत रहेको उनले बताए ।
जिल्लाको कार्यवाहक अध्यक्ष रहेको अवस्थामा केन्द्रिय समितिमा सिफ्ट गरेर आफूलाई हटाउने खेल सुरु भएको पनि उनले बताए । यो थाहा पाएपछि नवगठित नेविसंघको केन्द्रिय सदस्यबाट आफूले राजिनामा दिएको पौडेलले बताए ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।