काठमाडौं
सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्षपछिकै उच्च मापन भएको छ ।
बाढीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको र खतराको संकेत स्वरुप रातो बत्ती बालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् डिएसपी राजकुमार राईले जानकारी दिए ।
उनका अनुसार आज बिहान चार बजे पानीको बहाव ४ लाख ६२ हजार क्युसेक मापन भएको थियो । यद्यपि यो घट्दो क्रममा छ ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सप्तकोशीमा १९८९ पछिकै उच्च बाढी रेकर्ड भएको बताइन् । उनका अनुसार १९८९ मा ४ लाख ७२ हजार क्युसेक मापन भएको थियो । आज बिहान चार बजे ४ लाख ६२ हजार क्युसेक मापन भएकोमा बिहान साढे ७ बजे घटेर ४ लाख ४० हजारमा झरेको छ ।
यद्यपि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेले वस्तीमा बाढी पस्न सक्ने जोखिम भएकाले उच्च सतर्कता अपनाइएको जानकारी दिइन् । उनले भनिन्, ‘वस्ती बाढीमा पसिसकेको चाहिँ छैन, तर हामी हाई अलर्टमा छौं ।’
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।