कपिलवस्तु । पछिल्लो केही साता यता तराईका जिल्लामा आँखा पाक्ने रोगको संक्रमण बढेसँगै पालिका तथा विद्यालयहरु बढी प्रभावित भएका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका अन्र्तगतका केही विद्यालयहरुले यही रोगका कारण धमाधम विद्यालयमा विदा दिन थालेका छन् ।
बाणगंगा नगरपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखा प्रमूख खिमबहादुर जिसीका अनुसार यहाँका झण्डै आधा विद्यालयले केही दिनका लागि पठनपाठन बन्द गरेका छन् । विशेष गरी विद्यार्थीहरुमा बढी मात्रामा आँखा पाक्ने रोगको संक्रमण बढेको पाइएकाले बाणगंगाका सामुदायिक तथा निजि विद्यालयहरुले विद्यालयमा बिदा दिएको उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाले विद्यालयमा रोगको संक्रमणका अवस्थालाई हेरेर ३ देखि ५ दिन सम्म स्थानीय बिदाबाट मिलाउने गरी विदा दिन सक्ने अधिकार विद्यालयहरुलाई दिएसँगै सोमबारसम्म बाणगंगाका करिब २० विद्यालयले विदा दिएको पनि जिसीले बताउनुभयो ।
यसैबीच दाङ, रुपन्देही नवलपसारी लगाएतका जिल्लामा पनि पालिकाहारुले विद्यालयमा एक साता विदा दिएका छन् ।
आँखाका बिरामी तीव्र रुपमा बढेपछि पालिकाहरुले रोगको संक्रमण बढी फैलने डरका कारण विद्यालयमा बिदा दिएका हुन ।
अहिले विद्यालय उमेर समुहका बालवालिकाहरुमा आँखा पाक्ने रोगको संक्रमण बढी देखिएको छ । आँखा अस्पतालहरुमा समेत सामान्य अवस्थामा भन्दा आँखाका बिरामीहरुले बढी उपचार सेवा लिइरहेका बताइएको छ । केही दिनयता विद्यालय तथा समुदायस्तरमा बालबालिकाहरुको आँखा चिलाउने, पाक्ने र रातो हुने प्रकोप बढेको छ । प्रकोप फैलनबाट रोक्नका लागि तथा जोखिम न्यूनीकरणका लागि विद्यालय बन्द गरिएको हो ।
यसैबीच आँखा पाक्ने रोगको सङ्क्रमण अहिले देशभर प्रकोपको रुपमा फैलिएको छ । डाक्टरका अनुसार हरेक बर्खायाममा आँखा पाक्ने समस्या देखिन्छ । तर, यसपालि भने धेरै ठाउँमा प्रकोपको रुपमा नै सङ्क्रमण फैलिरहेको छ ।
आँखामा सङ्क्रमण हुँदा आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने लगायतका लक्षण देखिन्छ। यस्तै, बिरामीको परेला सुन्निने, आँखामा केही बिझे जस्तो महसुस हुने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने लगायतका समस्या पनि देखिने तिलगङ्गा अस्पतालका नेत्ररोग विशेषज्ञ डाक्टर इन्दिरा पौडेलले बताउनुभयो ।
रोग फैलिएसँगै देशभरका आँखा अस्पतालमा बिरामीको भिड बढेको छ । तनहुँ, चितवन, धनुषा, सिन्धुली, नवलपरासी लगायतका केही विद्यालय बन्द भएका छन् । प्रकोप फैलिएका ठाउँमा रहेका अस्पतालका डाक्टर र अभिभावकको आग्रहमा विद्यालय बन्द गरिएको हो ।
धेरै ठाउँमा प्रकोपको रुपमा सङ्क्रमण फैलिरहेकाले महामारी फैलिने खतरा रहेको भन्दै डाक्टरले सावधानी अपनाउन सुझाव दिएका छन् । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर इन्दुप्रसाद ढुङ्गेलका अनुसार अहिले आँखामा देखिएको सङ्क्रमण सरुवा रोग हो । यो रोगबाट जोगिन हातले आँखा नछुन, बारम्बार हात धुन र सङ्क्रमित बिरामीबाट टाढै रहन डाक्टरको सुझाव छ ।
डाक्टरका अनुसार सामान्यतयता यो रोग एकदेखि दुई हप्ताभित्र निको हुन्छ । तर, सावधानी नअपनाए, जथाभाबी औषधिको प्रयोग गरे दृष्टि नै गुम्ने खतरा हुन्छ । आँखामा कुनै पनि समस्या देखिए नजिकैको आँखा अस्पतालमा जँचाएर मात्र औषधि प्रयोग गर्न डाक्टरको आग्रह छ ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।