बाँके । नेकपा (एमाले) लुम्बिनी प्रदेश सङ्गठन कमिटीको आयोजनामा भएको लुम्बिनी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम आइतबार समापन भएको छ । भेलाले पन्ध्रबुँदे घोषणापत्र जारी गरेको छ । भेलाको अन्तिममा घोषणापत्र बाचन गर्दै एमाले नेता खिमलाल भट्टराईले सङ्घीयतालाई बलियो बनाउने गरी पार्टीबाट निर्वाचित जनप्रतिनिधिले भूमिका खेल्न आवश्यक रहेको बताउनुभयो ।
पारित घोषणापत्रमा वडाको आर्थिक अधिकार बढाउन लागिपर्ने, देश र जनताको हितका लागि बढीभन्दा बढी केन्द्रित हुने, निर्वाचनमा गरिएका वाचा र घोषणापत्रप्रति प्रतिबद्ध हुने, जनसरोकारका सवालमा प्रतिबद्ध हुने उल्लेख छ ।
यसैगरी महिला प्रमुख र उपप्रमुख रहेको स्थानीय तहमा कुनै पनि खालको विभेद हुन नदिने र महिलालाई कार्यकारी पदमा प्रोत्साहन गरिनुपर्ने उल्लेख छ । यसैगरी निर्वाचन प्रणालीमा सुधार गरी गरिब जनताका सन्तान पनि जनप्रतिनिधि बन्न सक्ने बनाउन पहल गरिने, भ्रष्टाचार अन्त्यका लागि पहल गरिनेलगायतका विषय समेटिएको छ ।
पार्टी उपाध्यक्ष विष्णु पौडेलले एमालेविरुद्ध जतिसुकै भ्रम फिँजाइए पनि जनताको विश्वास र भरोसा जित्न सकेको पार्टी एमाले मात्रै भएको दाबी गर्नुभयो । उहाँले एमालेबाट निर्वाचित जनप्रतिनिधि र अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिमा व्यवहार र कर्मबाट पहिचान हुनुपर्ने बताउनुभयो ।
यसैगरी महासचिव शङ्कर पोखरेलले सङ्घीय सरकारले गरिरहेको विभिन्न गलत निर्णयको भण्डाफोर गर्नु आजको आवश्यकता भएको बताउनुभयो । पार्टीबाट निर्वाचित जनप्रतिनिधिको भूमिकाले आगामी निर्वाचनमा प्रत्यक्ष प्रभाव पार्ने भन्दै जनताको अधिकतम हितमा काम गर्न निर्देशन दिनुभयो ।
लम्बिनी प्रदेशका १२ जिल्लामा एमालेबाट निर्वाचित, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख, वडाध्यक्ष र कार्यपालिका सदस्यको सहभागिता रहेको कार्यक्रमको शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।