काठमाण्डाै
पानी नपर्दा पश्चिम तराईमा उखरमाउलो गर्मी छ । एक हप्ताभन्दा लामो समयदेखि पश्चिम तराईमा तातो हावा ‘लू’ चलिरहेको छ । आज पनि ‘लू’ चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । लगातार एक हप्ताभन्दा लामो समयदेखि तातो हावा चल्दा पश्चिम तराईको जनजीवन प्रभावित भएको छ ।
मध्य र पूर्वी क्षेत्रमा मनसुन भित्रिएर पानी पर्न थाले पनि पश्चिमी क्षेत्रमा अझै मनसुन प्रवेश गरेको छैन । पश्चिमी क्षेत्रमा मनसुन प्रवेश गर्न समय लाग्ने मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । मौसमविद्ले तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएका छन् । अबको तीन दिनसम्म पनि पश्चिमी क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना कम रहेको मौसमविद् लामिछानेले बताउनुभयो ।
पानी नपर्दा अधिकतम तापक्रम बढिरहेको छ । भैरहवाको अधिकतम तापक्रम ४३ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ । यस्तै, सिमरा र नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस छ । जनकपुरको अधिकतम तापक्रम ४० दशमलव ५ डिग्री सेल्सियस, धनगढीको ३९ दशमलव ७, दीपायलको ३९ दशमलव ५, वीरेन्द्रनगरको ३८ दशमलव ७ र दाङ घोराहीको अधिकतम तापक्रम ३८ दशमलव १ डिग्री सेल्सियस पुगेको छ ।
यस्तै, आज कोशी प्रदेश र काठमाण्डौसहित पहाडी क्षेत्रमा पानी पर्ने अनुमान गरिएको छ । मनसुनी वायुको प्रभावका कारण कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँ तथा अन्य पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।