रूपन्देही । लुम्बिनी प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम आज (शुक्रबार) सार्वजनिक हुँदै छ । शुक्रबार ११ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
सरकारले ५ वर्षमा कम्तीमा २ लाख रोजगारी सिर्जना गर्ने गरी व्यावसायिक कृषि, उद्योग र सिपमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम ल्याउन लागेको हो ।
सरकारले यसअघिका सरकारले ल्याएका दीर्घकालीन महत्त्वका र प्रभावकारी देखिएका योजनालाई निरन्तरता दिने बताएको छ । त्यस्तै सरकारले प्रदेशमा रहेका वन, नदी र खानीको उत्पादनलाई व्यावसायिक प्रयोग गर्ने र त्यसबाट सीमान्तीकृत समुदायले आर्थिक लाभ लिने गरी नीति तय गर्न लागेको छ । लुम्बिनी प्रदेश वन जंगल पर्याप्त भएको क्षेत्र हो । चुरे क्षेत्रमा रहेका खानीलाई पनि सरकारले उपयोग गर्ने गरी कार्यक्रम गर्न लागेको छ ।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री सन्तोष पाण्डेले सरकारले अबको ५ वर्षमा कम्तीमा पनि २ लाख जनतालाई रोजगारी दिने गरी नीति कार्यक्रम र बजेट तयार गरेको बताए । ‘नीति तथा कार्यक्रममा नयाँ कार्यक्रमको रुपमा मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम राखिएको छ,’ उनले भने, ‘यस्तै अरु एकरदुई केही नयाँ कार्यक्रम पनि थपिन सक्छन् ।’
लुम्बिनी प्रदेशमा स्थापनाकालदेखि नै मुख्यमन्त्रीसँग जोडेर कार्यक्रम ल्याउने गरिएको छ । पूर्वमुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम ल्याएका थिए । त्यसपछिका कुलप्रसाद केसीले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम ल्याए भने अहिलेका मुख्यमन्त्री डिल्ली चौधरीले मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम ल्याउन लागेका छन् ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।