नगरको सूचना बिरुद्ध गई विद्यालय बन्द नगरेपछि प्रहरी पठाइयो

18.5kViews
238 Shares

बाँके । नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालय पठनपाठन बन्द गर्ने सूचना टाँस गरेको थियो। उपमहानगरपालिकाको सूचनालाई बेवास्ता गर्दै बिदा नगर्ने संस्थागत विद्यालयमा नेपालगञ्ज उपमहानगरपालिकाले आइतबारदेखि नगर प्रहरी परिचालन गरेको छ।

उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले सामुदायिक, मदरसा र संस्थागत विद्यालयलाई आगामी समयमा हुने बर्खे बिदाबाट कट्टा हुनेगरी आइतबारदेखि २३ गते मङ्गलबारसम्म बन्द गरिएको सूचना जारी गरेको थियो।

उक्त सूचनाविपरीत पठनपाठन सञ्चालन गरेको जनाउँदै आदर्श माध्यमिक विद्यालय नेपालगञ्ज, जयबागेश्वरी बोर्डिङ स्कुललगायतका विद्यालयमा नगर प्रहरी पठाएर बन्द गराइएको उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरपालिकाको सूचनाविपरीत पढाइ सञ्चालन भएपछि उपमहानगरपालिकाले ती विद्यालयमा नगर प्रहरी पठाएको थियो। नगर प्रहरी प्रमुखको नेतृत्वमा नगर प्रहरी बन्द गराउन विभिन्न विद्यालयमा आइतबार पुगेका थिए।

आदर्शले गर्मीयाममा विद्यार्थीका लागि कक्षाकोठामा ‘एसी’ चलाउनुपर्ने जनाउँदै मासिकरुपमा दुई सय रुपैयाँ विद्युत्को अलग शुल्क लिने गरेको छ। विद्यालय बन्द गराउन पुगेका नगर प्रहरीलाई विद्यालय प्रशासनले गर्मीमा पठनपाठनमा सहज गराउनका लागि प्रत्येक कक्षाकोठामा एसी जडान गरिएको र गर्मीले विद्यार्थीलाई खासै असर नगर्ने जवाफ दिएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले बताए।

नगर प्रहरी पुगेपछि ती विद्यालयले सोमबारदेखि लागू हुने गरी गर्मी बिदा गरेका छन्। आदर्श माध्यमिक विद्यालयले अभिभावकलाई पठाएको नोटिसमा अत्यधिक गर्मी भई पठनपाठनमा कठिनाइ भएकाले विद्यालयको आगामी समयमा हुने बर्खे बिदा कट्टी हुने गरी यही जेठ २२ गते सोमबारदेखि २३ गते मङ्गलबारसम्म विद्यालय बन्द रहने उल्लेख छ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here