छानो चुहिएपछि कक्षा कोठामै छाता ओढ्नुपर्ने बाध्यता

कपिलवस्तु । बिहिबार बिहान परेको वर्षाका कारण विद्यालयको छानो चुहिदा कपिलवस्तुको एक विद्यालयमा अध्ययनरत विद्यार्थीले कक्षा कोठामै छाता ओढ्नुपर्ने अवस्था सिर्जना भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ मा रहेको आधारभूत विद्यालय मदवाको भवनको टिनको छानो चुहिदा विद्यालयका बालबालिकाले कोठा भित्रै छाता ओढ्नु परेको हो ।

बर्षौ देखि टिन परिवर्तन नहुदा समान्य बर्षा हुदा समेत बालबालिकालाई पठानपठानमा समस्या हुने गरेको छ । यो विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म गरी ३ सय २५ विद्यार्थी अध्ययनरत छन् । सामान्य वर्षामा पनि छानो चुहिने समस्याका कारण वर्षातका बेला कक्षा कोठामा विद्यार्थीको पठनपाठन समेत प्रभावित हुने गरेको छ ।

वडा अध्यक्ष टेकलाल सापकोटाका अनुसार विद्यालयमा हाल २ कोटे एक पक्कि भवन र तीन वटा टीनको छानासहितका भवन रहेका छन् । टिनले छाएको एउटा भवनका कक्षा कोठामा पानी चुहिने समस्या देखिएको वडा अध्यक्ष सापकोटाले बताउनुभयो ।

उहाँले आफूले विद्यालयका प्रधानाध्यापकसँग समेत यस विषयमा पहिले देखि नै जानकारी लिएको बताउनुभयो । उहाँले यस वर्ष सोही विद्यालयका लागि वडाका तर्फबाट ७५ हजार विद्यालय मर्मत सम्भारका लागि बजेट छुट्टाएको भन्दै सम्भव भए सोही रकमबाट र नभए आउँदो वर्षको नयाँ बजेटमा छाना मर्मत गर्न बजेट छुट्टाउने बताउनुभयो ।

शिवराज नगरपालिकामा माध्यमिक तह सम्मको शिक्षा पूर्ण निशूल्क बनाइएका बेला आधरभूत तहको एक विद्यालयमा भौतिक पूर्वाधार कमजोर भई सामान्य पानी पर्दा पनि छानो चुहिएको घटनाले चर्काे अलोचना समेत भइरहेको छ ।

प्रतिक्रिया