राजेन्द्र खनाल, कपिलवस्तु । अर्घाखाँचीको सितगंगा नगरपालिकाले चुरे क्षेत्रमै खुलम्खुल्ला जेसिबीको प्रयोगमा छुट दिएको पाइएको छ । नदिजन्य पदार्थको ठेक्काका नाममा अहिले सितगंगा नगरपालिकाले कपिलवस्तु र अर्घाखाँचीका सीमा क्षेत्रमा ठेक्का लगाएको छ । तर उक्त ठेक्कामा खोलामै जेसिबीको प्रयोग भएको पाइएको छ ।
सितगंगा नगरपालिका र ठेकेदार पक्षबिच २०७९ चैत्र १५ गते भएको सम्झौतामा समेत विवादास्पत सम्झौता भएको पाइएको छ । नगरपालिका र ठेकेदार पक्ष स्वाभिमान कन्स्ट्रक्सन प्रा.ली रुपन्देही बिच उक्त सम्झौता भएको हो । सम्झौता अनुसार ठेकेदार पक्षले उत्खनन गर्न पाउने नदी क्षेत्र नै स्पष्ट उल्लेख छैन । सितगंगा नगरपालिका वडा नम्बर १२ मुसियान खोला–वगाले विसौना अर्घाखाँची र कपिलवस्तुको सिमाना कुसुमको रुख देखि सिकारी र मुसियान खोलाको दोभान सम्मको क्षेत्र भनि उल्लेख गरिएको भए पनि ठेकेदार पक्ष र स्थानीयका बिच अहिले विवदा भइरहेको छ । कुसुमको रुखलाई सीमाना मानिएको भए पनि कुन कुसुमको रुख भन्ने नै किटान छैन । नगरपालिकाले नै गैरजिम्मेवारीपूर्ण तरिकाले सम्झौता गरेको पाइएको हो ।
उक्त ठेक्का स्वाभिमान कन्र्सट्रक्सन बुटवलले मुल्य अभिवृद्धी करबाहेक १३ लाख ३ सयमा ठेक्का लिएको सम्झौतामा उल्लेख छ । तर सम्झौता भन्दा चारगुणा बढीको नदिजन्य पदार्थ उत्खनन् भइसकेको स्थानीय बताउँछन् । यति हुँदा सम्म नगरपालिका भने बेखबर छ । सितगंगा नगरपालिकाका सूचना अधिकारी गणेश बहादुर थापाले त्यस्तो नहुनुपर्ने भन्दै आफूलाई जानकारी नभएको आश्यको जवाफ दिएका छन् । उनले ठेक्का भएको भन्ने सुनेको तर कुन क्षेत्र र कहाँ भन्ने विषयमा आफू जानकार नभएको बताए । ठेक्का अनुसार खोलामा जेसिबी वा कुनैपनि मेसिनको प्रयोग गर्न नपाइने सूचना अधिकारी थापाको भनाई छ । तर ठेकेदार पक्षले भने खोलामै जेसिबीको प्रयोग गरी धमाधम काम गरिरहेका छन् ।
नदिजन्य पदार्थ उत्खनन्का विषयमा समेत कपिलवस्तुको खुतखुते सामुदायिक वनका उपभोक्ता र ठेकेदार पक्षविच पटक पटक विवाद समेत भएको छ । आफूहरुले वर्षाै देखि सोही स्थानको मुहानबाट आउने पानिको प्रयोग गरिरहेको भए पनि सिगतगंगा नगरपालिकाले लगाएको ठेक्काले पानिको मुहान सुक्ने डर भएको स्थानीय सोमलाल गिरिले बताए । उनले ठेकेदार पक्षले मापदण्ड भन्दा विपरित नदीजन्य पदार्थ निकाल्दा पानीको मुहान सुक्ने र त्यसको प्रत्यक्ष असर आफूहरुलाई पर्ने बताए । यस्तै उनले कपिलवस्तु र अर्घाखाँचीको सिमाना कुसुमको रुख भनिएको तर उक्त क्षेत्रमा कुन कुसुमको रुख भन्ने एकिन नभएको पनि उनको भनाइ छ ।
यस्तै नगरपालिका र ठेकेदार पक्षका विचमा गरिएको सम्झौता पत्रमा उल्लेखित नदि तथा खोला बाहेक नदीजन्य पदार्थको उत्खनन्, संकलन तथा विक्री वितरण कार्य चुरे, मध्यवर्ती क्षेत्र, राष्ट्रिय निकुञ्ज, सामुदायिक वन र नेपाल सरकारले निषेश गरेको स्थलहरुबाट गर्न नपाइने भनिएको छ । तर हाल भने यी सबै मापदण्ड र नियमहरुको पालना नगरि मनपरी ढङ्गले चुरे क्षेत्र र सामुदायिक वन भित्र निर्वाध ढुङ्गा, गिटी र मिसकट उठाइएको छ । यस्तै प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन (आईई) समेत अभिन्न अंग भनिएको भए पनि स्थानीयको विरोधका बिच उक्त कार्यलाई जारी राखिएको छ ।
ठेकेदार पक्षले २०७९ चैत्र १७ गते देखि २०८० जेष्ठ १५ गते सम्म उत्खननको सम्झौतामा हस्ताक्षर गरेका छन् । देखावटी रुपमा कामदार लगाएर चुरे क्षेत्रको खोलमा भएका ठूला ठूला ढुङ्गा फोडेर राखिएको भए पनि अन्य समयमा जेसिबिले उत्खनन भइरहेको बताइन्छ । ठेक्का सम्झौता अनुसार ४ हजार ६ सय ४ घन मिटर उत्खनन गर्न पाउने उल्लेख छ । चुरे क्षेत्रमा मनपरी नगरपालिकाले ठेक्का लगाउँदा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ का स्थानीयले लामो समय देखि उपयोग गर्दै आएको पानीको मुहान समेत सुक्ने जोखिम बढेको छ । यहाँका नागरिकहरु पिउने पानी र सिँचाईका लागि समेत चुरे क्षेत्रको मूलबाट आउने पानीको प्रयोग गर्दै आएका छन् ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।