राजेन्द्र खनाल, जितपुर । कपिलवस्तुको बाणग्ांगामा संचालनमा रहेका बजार व्यवसायीहरु विभाजित भएका छन् । अहिले सम्म साप्ताहिक मंगलबार मात्रै बजार बन्द गर्दै आएका व्यवसायीहरु मध्ये हाल केहीले शनिबार पनि बजार बन्द गर्ने घोषणा गरेका हुन ।
बाणगंगामा व्यवसायीहरु दुई समुहमा विभाजित भएसँगै बजार संचालनमा समेत त्यसको प्रत्यक्ष असर देखा परेको हो । व्यवासायीहरु हाल कपिलवस्तु उद्योग वाणिज्य संघ र उद्योग व्यापार संघमा विभाजित छन। जसका कारण यसको असर दैनिक बजार संचालनमा देखिएको हो । हरेक मंगलबार बजार बन्द रहने नियम कपिलवस्तु उद्योग वाणिज्य संघले बनाएको थियो । यता बाणगंगाका व्यवसायीहरु विभाजित बनेसँगै कपिलवस्तु उद्योग वाणिज्य संघले हाल चलाखिपूर्ण निर्णय गरेको छ । संघले साप्ताहिक मंगलबार बन्द गर्दै आएको बजार आर्थिक मन्दी र व्यवसायीमा परेको असरको कारण देखाउँदै मंगलबार पनि बजार संचालन गर्ने निर्णय ग¥यो । तर अघोषित रुपमा एकथरी व्यवसायीहरुले शनिबार समेत बजार बन्द गरिरहेका छन् । पछिल्लो केही साता यता बाणगंगाको मुख्य बजार क्षेत्र चार नम्बर जितपुरमा संचालनमा रहेका अधिक्तम व्यवसायीहरुले शनिबार आफ्नो व्यवसायमा सटर लगाएका थिए ।
व्यवसायीहरुमा भइरहेको आन्तरिक फुटका कारण आम उपभोक्ताले भने दुःख पाइरहेका छन् । यहाँ कपिलवस्तु उद्योग वाणिज्य संघ र कपिलवस्तु व्यापार संघ बिचमा आन्तरिक द्धोन्द्ध रहेको बताइन्छ । यस अघि एउटै संस्था बनाएका व्यवसायीहरु हाल उद्योग व्यापार संघ बनाएर अलग्गै व्यवसायिक निति बनाइरहेका छन् । जसका कारण सामान्य व्यापारीहरु समेत दुई समुहमा विभाजित बनेको प्रष्ट देखिएको छ ।
शनिबार चार नम्बरमा मात्रै बन्द किन ?
कपिलवस्तु उद्योग वाणिज्य संघमा आबद्ध समेत रहेका ब्यवसायीले अबदेखि शनिबार बजार बन्द गर्ने निर्णय गरेका छन् । एक बर्षअघिदेखि संघ मातहतका बजार शनिबार बन्द गर्दा व्यावहारिक हुने माग राखेका ब्यवसायीले संघको निर्णय विपरित शनिबार बजार बन्द गरेका हुन् ।
चार नम्बरमा अधिकांस ब्यवसायी शनिबार एकजुट भएर बजार बन्द सुरु गरे । सिद्धार्थ बजार विकास समिति, फेन्सी ब्यवसायी, सुनचाँदी व्यवसायी संघ, मोबाइल ब्यवसायी संघ, फर्निचर ब्यवसायी संघ लगायतको सहभागितामा खुलेका पसल र व्यवसाय बन्द गराइएको थियो ।
चार नम्बरबाट होराइजन चोकसम्म केही व्यवसायीहरुको टोली पुगेर बजार बन्द गराएको देखिन्थ्यो । उद्योग वाणिज्य संघको निर्णय अनुसार अहिलेसम्म मंगलबार मात्रै बजार बन्द रहँदै आएको थियो । तर पनि अबदेखि मंगलबार बजार खुला गरेर शनिबार बन्द गर्ने आफूहरुको निर्णय भएको सिद्धार्थ बजार विकास समितिका अधयक्ष विष्णु थापाले बताए ।
उनले भने ‘यो नै ब्यावहारिक हुन्छ । शनिबार सबैको विदा हुन्छ । यहाँ धेरै बैङक र वित्तीय संस्था पनि छन् । ती सबै शनिबार बन्द हुन्छन् । शनिबार बजार बन्द गर्नुपर्नेमा धेरै ब्यवसायी एकजुट छन् । त्यसैले यो निर्णय गरिएको छ ।’ उद्योग वाणिज्य संघका क्षेत्रगत सदस्य दिनेश क्षेत्री, कृष्ण चालिसे लगायत पनि यो निर्णयको पक्षमा देखिएका छन् ।
संघका सदस्य दिल बहादुर खातीले आफूहरुको निर्णय उद्योग वाणिज्य संघविरुद्ध भएको रुपमा नबुझ्न आग्रह गर्छन् । उनी भन्छन् ‘यो निर्णय संघ विपरित होइन । उहाँहरुसंग लड्न खोजेको पनि होइन । मुलुकका धेरै ठाउँमा यो निर्णय छ । शनिबार बजार बन्द आफैमा ब्यावहारिक पनि हुन्छ । सबै व्यासायीको माग पनि यही हो । गलत अर्थमा कसैले लिन हुँदैन ।’
फेन्सी व्यवसायी संघका अध्यक्ष कमल बस्यालले अझै पनि आफूहरु उद्योग वाणिज्य संघसंग छलफल गर्न तयार रहेको बताउँदै संघले नमाने पनि अबदेखि चार नम्बरको बजार शनिबार बन्द हुने दावी गरे । ‘यो विषय हामीले साधारण सभामा पनि राखेका थियौँ । तर उहाँहरुले संवेदनशिल रुपमा लिनुभएन त्यसैले हामी यसरी उत्रनु पर्यो’, उनले भने ।
यस्तै यता वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाणले आफूहरु सबै व्यवसायीहरुलाई मिलाएर जाने पक्षमा रहेको बताए । उनले आफूहरुको तत्काल कतै समर्थन नभएको तर दुबै पक्ष मिलेर जानुपर्ने बताए ।
उद्योग वाणिज्य संघको चलाखीपूर्ण निर्णय
बजार बन्द गर्ने विषयमा व्यसायीहरुमा देखिएको मतभेद र आपसी द्धोन्द्धका कारण यता कपिलवस्वतु उद्योग वाणिज्य संघले आफ्नो चलाखीपूर्ण निर्णय गरेको छ । संघले केही दिन अघि एक निर्णय गरि अब अर्काे निर्णय नहुँदा सम्मका लागि साप्ताहिक मंगलबार बन्द रहँदै आएको बजार बन्द नहुने र बन्द नगर्न व्यसायीहरुलाई आग्रह गर्याे । देशमा देखिएको आर्थिक समस्याका कारण व्यवसायीहरु समेत अफ्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको भन्दै अब सातै दिन बजार खोल्न पाउने गरी संघले निर्णय गरेको थियो । व्यवसायीहरुमा देखिएको आन्तरिक द्धोन्द्धका कारण सातामा दुई दिन बजार बन्द हुने अवस्था देखिएपछि कपिलवस्तु उद्योग वाणिज्य संघले तत्कालका लागि चलाखीपूर्ण निर्णय गरेको बुझिएको छ ।
यता बजार बन्द गर्ने विषयमा कुरा बाझिएपछि केही व्यवसायी भने अलमलमा परेका छन् । ‘चार नम्बरका बजार शनिबार बन्द हुने, ओदारी, वनगाई, पिपरा, बोडगाउँ, लगायतमा मंगलबार बजार बन्द हुने स्थिति बनेको छ ।व्यवसायी बिच नै एकता र सामञ्जस्यता नभएपछि कपिलवस्तु उद्योग वाणिज्य संघको नेतृत्वमाथि नै प्रश्न खडा भएको छ ।
यसो भन्छन् उद्योग व्यापार संघका अध्यक्ष पौडेल
कपिलवस्तु उद्योग वाणिज्य संघको सचिव रहेका खिमानन्द पौडेल कोपिलले उक्त पदबाट राजिनामा दिई हाल कपिलवस्तु उद्योग व्यापार संघको अध्यक्ष भइसकेका छन् । शनिबार बजार बन्द भएको विषयमा पौडेलले आफूहरुले शनिबार बन्द गर्ने विषयमा कुनै निर्णय नगरेको दाबी गरे । उनले भने, हाम्रो संस्थाबाट आधिकारिक निर्णय भइसकेको छैन, तर केही व्यवसायीहरुले अहिले मात्रै होइन दुईतीन वर्ष अघि देखि नै राख्दै आएको माग हो । त्यसैको असर अहिले देखिएको हो ।’
उनले शनिबार सबै सरकारी कार्यालयहरु पनि बन्द हुने र बजार पनि सोही दिन बन्द गर्दा सबैलाई सहज हुने व्यवसायीहरुको भनाई रहेको आफूले बुझेको भन्दै उद्योग व्यापार संघको अघोषित समर्थन रहेको संकेत गरे । उनले भने, ‘हाम्रो औपचारीक बैठकमा यो विषयले प्रवेश पाएको छैन तर उद्योगी व्यवसायीहरुको हित जुन कुरामा हुने देखिन्छ त्यसमा समर्थन गरीनु राम्रो हुन्छ ।‘
केही समय पहिले पनि शनिबार बजार बन्द गर्नु पर्ने माग सहित कपिलवस्तु उद्योग वाणिज्य संघमा आबद्ध २३५ व्यवसायीले निवेदन दिएका थिए । कपिलवस्तु उद्योग वाणिज्य संघले भने मंगलबार बन्द गर्दै आएको बजार शनिबार बन्द गर्न राजी नदेखिएपछि हाल भने व्यसायीहरु स्वघोेषित बजार बन्द गर्न थालेका हुन । जसका कारण हाल एउटै नगरपालिका भित्रका बजार समेत दुई धुव्रमा विभाजित भएका छन् ।
(लुम्बिनी दर्पणमा प्रकाशित)
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।