कपिलवस्तुका थारु समुदायले मनाए बल्चढाई पर्व

राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका लगाएत जिल्लाभरका थारु समुदायमा मंगलबार झुमरा नाचले रौनकता छाएको छ । मादलको ताल र मञ्जिराको झंकारले पुरै थारु समुदाय गुञ्जायमान बनेको छ ।

थारु बाहुल्य समुदाय रहेको कपिलवस्तुमा यस वर्षको विजया दशमी पर्व तथा महानवामीका दिन हरेक वर्ष जस्तै यस वर्ष पनि आज बल्चरहाइ÷पित्राही पर्व मनाइएको हो । सामूहिक नाचिने झुमरा नाचले गाउँमा दसैँ आएको छनक दिएको छ । सुनसान हुने गाउँको मोहोललाई एकाएक उल्लासमय पनि बनाएको छ ।

कपिलवस्तुका थारु समुदायले घटस्थापनाको दिन जुन हेरेर जमरा राख्ने गर्छन भने त्यसको आठौँ दिन ढिक्राही पर्व र नवौँ दिन पित्राही पर्व मनाउने गर्छन । सोही अनुसार आज यो पर्व मनाएको उनीहरु बताउँछन् । कपिलवस्तुको बाणगंगा नदी, कोइली नदी लगाएतका जलाशय किनारमा भेला भई आफ्नो परम्परा अनुसार झुमरा गित गाउँदै उनीहरुले विधि पुर्वक पित्राही पर्व मनाएको बताउँछन् कपिलवस्तुका थारु पत्रकार नरेश थारु ।

एकाबिहानै हरियो खरको मुठाइ बनाइ मिन्झारीमा राखि जमरमा, बेबुरी, रक्सि र लोकल भाले आफ्ना पितृहरुलाई चढाउने चलन रहेको उनले बताए । आफ्ना दिवङ्गत आत्माहरुको सम्झाना स्वरुप उनीहरुको स्वर्गमा बास होस भनी चामलको पिठो घोलेर भित्तामा बकुल्ला चराको आकृति बनाउने गरिन्छ ।

यस्तै उनीहरुलै आज कै दिन आफ्ना पुराना देवतालाई नदी मा शेलाउने र नयाँ देवतालाई पुजाघरमा राख्ने चलन रहेको छ ।

प्रतिक्रिया