संघीयता बीनाको हिन्दु राष्ट्र भन्ने पैदलयात्री बस्नेतलाई बाणगंगामा स्वागत

कपिलवस्तु । बाँकेबाट पैदलयात्रा थालेका झनक बहादुर बस्नेतलाई शनिबार कपिलवस्तुमा स्वागत गरिएको छ भने उनको यात्राको सफलताको शुभकामना प्रदान गरिएको छ । उनी शनिबार बिहान करिब ११ बजे बाणगंगामा आइपुगेका थिए ।

गत साउन ४ गते देखि बस्नेतले बाँकेको कोहलपुर(सुर्खेतको बबई पुलबाट पैदलयात्रा आरम्भ गरेका हुन् । काठमाडौंसम्म पैदलयात्रामा निस्किएका बस्नेतको माग संघीयता बीनाको हिन्दु राष्ट्र हुनुपर्ने छ ।

संघीयता देश र जनताको हितमा नभएको भन्दै यसको खारेजीको लागि आफूले पैदलयात्रा मार्फत सरकारलाई दबाब बढाउन लागेको उनले बताए ।

‘संघीयता देश र जनताको हितमा छैन् । हिन्दु राष्ट्र आजको आवश्यकता हो उनले भने,’( ‘शक्तिकेन्द्रको स्वार्थमा ल्याइएको संघीयता र धर्म निरपेक्षताको विरोध स्वरुप सरकारको कानसम्म पुगोस् भनेर पैदलयात्रा थालेको हुँ ।’

नेपाली कांग्रेस समर्थित बस्नेतले पार्टीका नेता स्वर्गीय खुमबहादुर खड्काको अभियानलाई सार्थक तुल्याउन पनि पैदलयात्रा थालेको बताए । स्वर्गीय नेता खड्काले पछिल्लो समय पार्टी भित्र हिन्दु राष्ट्र हुनुपर्ने अभियानको नेतृत्व गरेका थिए ।

दाङ जिल्ला घर भएका बस्नेतले नेता खड्काको एजेण्डा उठाउँदै यस्तो अभियान थालेको जनाए । उनले काठमाडौं पुगेर पार्टी नेतृत्वलाई दबाब दिने र पशुपतिमा गएर अभियानको अन्त्य गर्ने योजना रहेको सुनाए ।

बस्नेतलाई बाणगंगाको बैरियामा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, पूर्व अध्यक्ष उमानाथ पौडेल, वडा नं। ४ का पूर्व वडाध्यक्ष गणेश क्षेत्री, उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेल, कोषाध्यक्ष विनोद पन्त, नेपाली कांग्रेसका बाणगंगा नगर सचिव सूर्य बराल, मायादेवी मिडिया ग्रुपका अध्यक्ष हरि अधिकारी, पत्रकार बाबुराम रायमाझी , दिपक अनुरागी, अशोक पौडेल, कपिलवस्तु हाट बजार व्यवसायी संघका अध्यक्ष पवित्रा सोमै, लगायतले स्वागत गर्दै आगामी यात्राको शुभकामना दिएका थिए ।

प्रतिक्रिया