ल्यान्डिङका लागि जानकारी दिन खोज्दा तारा एयरको जहाजसँग सम्पर्क हुन सकेन : जोमसोम विमानस्थल

काठमाण्डौँ

आइतबार बिहान समिट एयर र तारा एयरका जहाज सँगसँगै पोखराबाट जोमसोमका लागि उडेका थिए।

समिटको जहाज अघि थियो भने ताराको ९एन एइटी जहाजपछि थियो।

जोमसोम विमानस्थलका प्रमुख पुष्कल शर्माका अनुसार सँगै सँगै आइरहेका दुई जहाजले मुस्ताङको आकाशमा पुगेपछि जोमसोम विमानस्थलमा सम्पर्क गरेका थिए।

‘समिटको जहाज ल्यान्ड भयो। पछि आइरहेको ताराकोलाई पनि ल्यान्डिङका लागि सम्पर्क गरौं भन्दा सम्पर्क हुनै सकेन,’ शर्माले भने,‘पाइलटले जहाजमा कुनै समस्या आएको संकेत पनि विमानस्थलको एटिसीलाई दिएका थिएनन्।’

समिट एयरले आजै जोमसोममा अर्को फ्लाइट पनि गरिसकेको थियो भने तारा एयरको पहिलो फ्लाइट थियो।

जोमसोम जाने जहाज लेतेको आकाशमाथि पुगेपछि जोमसोम टावरसँग सम्पर्क गर्छन्।

सुरूमा कुरा हुँदा क्याप्टेन प्रभाकर घिमिरेले अरू बेलाजस्तै सामान्य कुरा गरेका थिए।

‘उहाँ यो रूटमा उडाइरहने अनुभवी पाइलट हो,’ शर्माले भने।

जहाजसँग सम्पर्क नभएपछि पोखरा र काठमाडौं विमानस्थललाई जानकारी दिइएको उनले बताए।

टावरसँग सम्पर्कमा नआएको जहाज अहिलेसम्म फेला परेको छैन।

पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार तारा एयरको नाइन एन एइटी जहाज ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो।

१० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण हुनुपर्ने जहाज १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको देखिन्छ।

फ्लाइटराडारको तथ्याङ्कअनुसार जहाज हराउनुअघि १२ हजार ८ सय २५ फिटको अल्टिच्युडमा उडिरहेको थियो। जहाज युटिसी टाइम ४ बजेर २२ मिनेटमा हराएको थियो। जुन नेपाली समय अनुसार बिहान १० बजेर ७ मिनेट हुन्छ। जहाज घाँसा-सिखा क्षेत्रबाट हराएको देखिन्छ।

अधिकारीहरूले जहाज लेतेदेखि टुकुचेको बिचमा हराइरहेको हुनसक्ने आशंका गरेका छन्। लेते थासाङ गाउँपालिकामा पर्छ। थासाङका अध्यक्ष प्रदीप गौचनले लेतेदेखि टुकुचेको बीचमा मौसम खराब भएकाले जहाज त्यहीँ हराएको हुन सक्ने बताए।

‘लेतेदेखि टुकुचेबीच निकै बादल लागेको छ। अहिले यहाँ सिमसिम पानी पनि परिरहेको छ,’ गौचनले भने।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा १९ जना यात्रु थिए। तीमध्ये दुई जना तेस्रो मुलुकका, चार जना भारतीय र १३ जना नेपाली रहेको उनले जानकारी दिए।

जहाज क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए। चालक दलमा अरू दुई जना सदस्य रहेको बर्तौलाले जानकारी दिए। जहाजमा रहेका चालक दलका अरू दुई सदस्य र यात्रुको विवरण प्राप्त भएको छ।

सम्पर्कविहीन जहाजको खोजीका लागि दुइटा हेलिकप्टर परिचालन गरिएको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले नेपाली सेनाको एक र एउटा निजी कम्पनीको हेलिकप्टर परिचालन गरिएको सेतोपाटीलाई बताए।

नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट पठाइएको हो भने मुस्ताङमै रहेको फिस्टेल एअरको हेलिकप्टर खोजीका लागि परिचालन गरिएको छ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले पनि हराइरहेको जहाज खोज्ने कार्य जारी रहेको बताए।

प्रतिक्रिया