सबै काम ‘फास्ट ट्र्याक’ बाट गर्नुपर्दा चुनाव खर्च बढ्छ : निर्वाचन आयाेग

काठमाण्डाै

आउँदाे स्थानीय तहको चुनावमा विगतको तुलनामा खर्च बढ्ने निर्वाचन आयोगले बताएको छ । आज मङ्गलवारकाे कुराकानीमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विगतको चुनावकाे तुलनामा आउँदाे वैशाख ३० गते गरिने स्थानीय तहको चुनावमा खर्च बढ्ने बताउनुभएको हो ।

आयोगले चुनाव प्रयोजनका लागि एक सय २० दिन पाउनुपर्नेमा अब मात्र ९०/९५ दिन मात्रै आयोगसँग भएकाले सबै काम ‘फास्ट ट्र्याक’ बाट गर्नुपर्दा खर्च बढ्ने उहाँले बताउनुभयो । सामान खरिदका लागि लामो समय राखेर प्रतिस्पर्धा गराउन नसक्दा, आयोगको कर्मचारीले नपुगेर बाहिरबाट कर्मचारी ल्याउनुपर्ने अवस्था लगायतका कारणले चुनावमा खर्च बढ्ने भएको उहाँले उल्लेख गर्नुभयो ।

प्रवक्ता पाैडेलले भन्नुभयो, ‘समयकाे दबाब भएको कारणले फास्ट ट्र्याकमा काम गर्नुपर्दा खर्च बढ्छ । प्रतिस्पर्धा नभइसकेपछि मूल्य उच्च हुने सम्भावना छ । त्यस्तै अहिले हामीसँग भएका कर्मचारीले नपुगेर बाहिरबाट ल्याउनुपर्ने हुन सक्छ । यसले गर्दा एक सय २० दिनमा गर्दा लाग्ने खर्च अहिले दिइएको ९०/९५ दिनमा चुनाव गर्दा त्याेभन्दा बढी खर्च लाग्ने देखिन्छ ।’

आयोगले ताेकिएकै समयमा चुनाव गर्न सक्ने बताएको छ । प्रवक्ता पौडेलले आयोगले सबै लेखाजोखा गरेर नै सय दिनको आसपासमा चुनाव गर्न सकिने गरी प्रधानमन्त्री समक्ष मिति प्रस्ताव गरिएको बताउनुभयो । उहाँले चुनावका लागि जनशक्तिको समस्या नभएको बताउँदै चुनावसम्बन्धी कानुनी व्यवस्थाका आधारमा विभिन्न निकायबाट कर्मचारी परिचालन गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया