सर्वदलीय बैठक : वैशाख १४ भित्रै पालिकाको चुनाव सम्पन्न गर्ने गरी मिति घाेषणा गर्न सरकारलाई आग्रह

सेयर गर्नुहोस्
12Shares

काठमाण्डाै

राजनीतिक दलका नेताहरुले वैशाख १४ गतेभित्रै पालिकाको चुनाव सम्पन्न हुने गरी मिति घोषणा गर्न सरकारलाई आग्रह गरेका छन् ।

राष्ट्रिय सभा चुनाव, मतदाता नामावली र पालिकातहको चुनावबारे छलफल गर्न निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा दलका नेताहरुले आउने वैशाख १४ गतेभित्रै पालिकाको चुनाव सम्पन्न हुने गरी मिति घोषणा गर्न ढिलाइ नगर्न सरकारलाई आग्रह गरेको हो ।

निर्वाचन आयोगले यसअघि नै सरकारलाई जेठ ५ गतेअघि नै पालिकामा नयाँ जनप्रतिनिधिहरुले पदबहाली गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै वैशाख १४ गते एकै चरण वा दुई चरणमा गर्ने भए वैशाख १४ गते र २२ गते गर्न सरकार समक्ष प्रस्ताव गरेको थियो ।

आयोगको यो  प्रस्तावलाई दलहरुले समर्थन गर्दै त्यसका लागि छिटो मिति घोषणा गर्न सरकारलाई आग्रह गरिएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिनुभयो । उहाँले कोरोना सङ्कटका कारण राष्ट्रिय सभाको चुनावको मतदान केन्द्र र मतदानस्थल सकेसम्म सबै जिल्लामा रहने गरी आवश्यक व्यवस्था मिलाउन पनि निर्वाचन आयोगलाई सुझाव दिइएको बताउनु भयो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले निर्वाचन आयोगले प्रस्ताव गरेकाे पालिकाको चुनावको मितिमा आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताउनु भयो । उहाँले २०५४ सालमा पालिकाको चुनाव सारे जसरी सार्न संविधानले नदिनेतर्फ सरकारलाई सचेत गराउनु भयो ।

बैठकमा दलका नेताहरुले उमेर पुगेका सबै नागरिकले पालिकाको  चुनावमा मतदान गर्न पाउने गरी मतदाता नामावली सङ्कलनको काममा तीव्रता दिन पनि आयोगको ध्यानाकर्षण गराएको छ । बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल मजदुर किसान पार्टीलगायतका १५ दल सहभागी भएका थिए ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।