छोरीलाई कहिल्यै सिकाउन खोजिएन तिमी आत्मनिर्भर बन्नुपर्छ भन्ने कुरा : भुसाल

सेयर गर्नुहोस्
139Shares

छोरीलाई घरको लक्ष्मी मान्ने हाम्रो समाज न त छोरीलाई कहिल्यै आत्मनिर्भर बनाउन तर्फ जोड दिन्छ न त उसले जानेका हरेक कामहरुको मुल्यांकन नै गर्छ । कस्तो अचम्मको संसार जुन घरमा छोरी हुन्छिन त्यो घरमा लक्ष्मीको बास हुन्छ भन्ने हाम्रो समाज छोरीलाई नै किन दास बनाउँछ बुझ्नै गाह्रो ,

छोरी,बुहारी,श्रीमतीलाई घरको काम त छदै छ बाहिर कुनै कार्यक्रममा पनि सहभागी गराएमा केही ज्ञान मिल्छ जस्तो लाग्छ मेरो बिचारमा , यो लेख कसैलाई वाह लाग्न सक्छ कसैलाई ह्या लाग्न सक्छ तर यो हाम्रो समाजको यथार्थतालाई समावेश गर्ने सानो प्रयास मात्रै गरेकी छु मैले ।

न त एउटै घरमा भएकी छोरीले त्यो घर मेरो हो भन्ने अधिकार नै पाउछिन न त पराई घरमा गएर नै उनलाई सधै निर्जीव बन्न हौसला दिइन्छ, अर्काको घरमा सुम्पिने अनि त्यही घरलाई आफ्नो घर बनाउन बाध्य हुन्छिन तर पनि उनी त्यहा दास बनेर बस्नुपर्छ । यो २१ औं सताब्दीमा पनि हाम्रो समाजमा भएका यस्ता बिकृती विसंगतिहरु पन्छाएर अघि बढ्न सकेको छैन ।

छोरीले घरमा धेरै परिश्रम गर्छिन सरसफाइ देखि लिएर घरको चुलो चौको देखि अन्यत्र सम्मको काम सक्नुपर्ने बाध्यता अझै पनि हाम्रो समाजमा चलिरहेकै छ ।

तीनै छोरीले आफू जन्मिएको घरलाई सानैदेखि सजाउन थाल्छिन् अनि घरका सदस्यहरूमाथि मायाको वर्षा गरिरहन्छिन् । आमाबुवा, हजुरबुवा, हजुरआमा, अंकल–आन्टी , ठूलाबुवा, ठूलीआमा, दाजुभाइ, दिदीबहिनी, फुपू मामा हरेकको दिलमा बसेर सधै मायाको मुस्कान छर्छिन् ।

त्यो घर उनीबिना अधूरो हुन्छ । उनले त्यो घरलाई हरप्रकारले सजाउँछिन् । मेहनत गरेर उनी हरेक कामका लागि तयार हुन्छिन् । यद्यपि तिनै छोरीलाई मारे पाप पाले पुण्य भनी अर्काको हातमा सुम्पिएपछि पराइ घरमा जान बाध्य हुन्छिन् ।

जुन घरलाई उनले आजसम्म मेरो भनेकी हुन्छिन्, भोलिपल्टैदेखि माइती भन्नुपर्ने,अवस्था सृजना हुन्छ त्यहाँका कुनै पनि चल–अचल सम्पत्ति उनको नहुने जसका लागि उनले आफ्नो आधा जीवन सुम्पी सकेकी हुन्छिन् त्यो सबै भुलेर पराइ मान्दै, अर्काको हातमा अर्कैको घरमा सदस्य भएर जानुपर्ने तीतो यथार्थले हाम्रो समाजमा निरन्तरता पाउँदै आएको छ ।

त्यसैले पनि छोरीलाई जन्मदै भेदभावपूर्ण वातावरणमा हुर्काइन्छ होला । छोरालाई केही काममा पनि त्यति जोड गरिदैन उसले परिवार पाल्नुपर्छ भनेर तर्काइन्छ तर त्यही छोरीले घरको काम सिक्नुपर्छ अनि अर्काको घरमा जानुपर्छ जहाँ गए पनि घरको काम गर्नु नै पर्छ –यो नियम समाजले नै बनाएको हो ।

छोरीलाई कहिल्यै सिकाउन खोजिएन तिमी आत्मनिर्भर बन्नुपर्छ भन्ने कुरा उनलाई कहिल्यै भनिएन यो घर तिम्रो हो यसमा तिमीले आफ्ना दाजुभाइसरह अधिकार पाउनेछौ भनेर । उनलाई सधै निर्जीव बन्न हौसला दिइन्छ ।

नारीले आफ्नो अस्तित्व मेटाएर सन्तानलाई जन्म दिन्छिन् अनि त्यो सन्तानको नाम बाबुको हुन्छ । उनलाई फलानाका छोराछोरी भनाएर चिनाइन्छ । आत्मनिर्भरता हुँदैन त्यहाँ पनि अर्काकै कमाइमा बाँच्नुपर्छ । आफुले चाहेको काम गर्न पाउदिनन पराइ घरमा जे भन्यो त्यही नै मान्नुपर्छ भन्ने हाम्रो समाज ।

साँच्चिकै एउटा गितले समाजको यथार्थतालाई समाबेश गरेको छ जुन गित हालै मात्र बिस्णु माझीको आवाजमा सजिएको थियो ूजेलैमा हो जेलैमा चरी जेलैमा मै छोरी रुदैँ रुदै बेशी मेलैमा ूशब्द थोरै तर भाव भने यो गितमा धेरै । न त जन्मघरमा छोरीको बारेमा अगाडि बढ्ने हौसला मिल्छ न त पराई घरमा गएर नै कहि न कहि दबाब अनि अभाव भोग्नु पर्ने हामी छोरीको जिन्दगी १

घरमा सासू सशुराको साथ भएको ठाँउमा श्रीमानको साथ पाइदैन जहाँ श्रीमानको साथ हुन्छ त्यहा घर परिवारको साथ हुदैन बडो अचम्मको संसार १ तर सबै उस्तै पनि हुदैनन कुनै घर परिवारले आफ्नी छोरी, बुहारी श्रीमतीलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर साथ दिएका पनि हुन सक्छन् । जति नै जे भए पनि छोरी मान्छेलाई पराइ घरमा श्रीमानको साथ भने अपरिहार्य नै रहन्छ सायद ।

केही गर्छु भन्दा भन्दै पनि सपना मै कैद गर्नु पर्ने हामी नारीहरुले सबै परपर सार्नुपर्ने घर परिवारमा नारी भएकै कारण सबै काम निम्त्याइदिनुपर्ने अनि जागिर नै गरे पनि उसले धेरै पैसा कमाओस यी कुराहरु सोच्नै नसकिने कतिपयको जीवनमा । यसो भैरहदा त लाग्छ यो संसारमा छोरीको जन्म नै नहोस् ।

हिजो उनी फलानाकी छोरी थिइन् तिनैलाई घरबाट निकालेर दान गरी अर्काको हातमा सुम्पिएपछि अब उनको नाम फलानाकी बुहारी,श्रीमती, अनि भन्ने त यहाँ पनि यही हो यी हुन् घरकी लक्ष्मी, यस्तो दासतामा जकडदै समाजले नारीलाई आफ्नै हिसाबले उपयोग गर्दै आएको छ । समाज उनको अस्तित्व मेटाइदिन कम्मर कसेर लागेको हुन्छ ।

जब कुनै पनि महिला आफ्नै बाबुको घरमा आफ्नै अभिभावकसँग अधिकार विहीन हुन सिकेर आउँछिन्, ती नारीले कसरी अगाडि बढेर आफ्नो अधिकारको रक्षा गर्न सक्छिन् ।

जब उनको मानसिकतालाई नै मोडेर म र मेरो भन्ने सबै कुरा खोसिन्छ, न उनको हातमा सम्पत्ति हुन्छ न त उनलाई मानसिक रूपमा बलियो बनाइन्छ । उनलाई त तिमीलाई अरूले पाल्छ, तिमीले अर्काको घर जानुपर्छ भनेर सिकाइन्छ ।

सधै आफ्नो अस्तित्व समाप्त गरी, कसैकी छोरी, श्रीमती अनि आमा यिनै हुन्छन् । नारीको बौद्धिकता कमजोर हुँदैन तर उनलाई कमजोर बनाइन्छ ।

आफ्नै अभिभावकबाट नारीलाई कमजोर हुन सिकाइन्छ । यही नै हिजो र आजको तीतो यथार्थ हो । जन्मनासाथ सुरु गरिने गलत शिक्षाका कारण पनि नेपाली नारीहरू अघि बढ्न सकिरहेका छैनन् ।

अहिलेको २१ औं शताब्दीमा आएर छोरीहरु आत्मनिर्भर हुने मौका पाए पनि उनको मस्तिष्कमा भरिएको अरूले पाल्ने, अरूको हुनुपर्ने, यो सम्पत्ति मेरो होइन, मैले पराइघर जानुपर्छ भन्ने सामाजिक विभेदले चेतना नै कमजोर बनाइदिन्छ ।

अनि उनी आफ्नो कर्तव्य यही हो भन्ने धारणा बनाउन तिर लाग्छिन  । उनले अधिकारको उपभोग होइन कर्तव्य मात्र पालना गर्छिन् ।

बिहे अगि राम्रो कामको लागि लड्ने छोरी जब पराई घरमा जान्छिन तब सबै सपनाबाट बन्चित हुन पुग्छिन । पराई घरमा आफू खुसी अगाडि बढ्न खोजियो भने पनि मेरो घरवार नै बिग्रेने हो कि हाम्रो सम्बन्ध नै पो तोडिने हो कि उनले यहि कारन आफ्ना इच्छा चाहानालाई बन्देज बनाउन बाध्य हुन्छिन ।

उनीहरू आफ्नो अधिकारलाई सुनिश्चित गर्न पाउदैन्न, सक्दैनन् । उनीहरूको मनस्थिति नै कमजोर हुन्छ । यो स्वाभाविक पनि हो किनभने समाजले नारीलाई अधिकार होइन कर्तव्य र बाध्यतामा मात्र बाँच्न सिकाएको छ । जब उनीहरूलाई अधिकारका लागि लड्न सिकाइन्छ तब उनीहरू समाज विरोधी हुन्छन् ।

अधिकार विहिन बनेकी नारीले दासताको बन्धन तोड्न खोज्दा घर भँडुवाको संज्ञा पाउँछिन् । यद्यपि जस्तोसुकै परिस्थितिको सामना गर्नुपरे पनि महिलाहरूले यी तमाम बाधा–अड्चन पन्छाउँदै आफ्नो स्वतन्त्रताका साथ अघि बढ्नु नै आजको एक मात्र विकल्प हो ।

छोराले कमाएर पाल्छ भन्ने हाम्रो समाज भोलीका दिनहरुमा छोरीले पनि पाल्छन भन्ने बिचारमा लागोस । केही गर्न खोज्ने अगि बढ्न खोज्ने नारीलाई अपहेलना अनि दबाब होइन,जसरी उनी राम्रो कामको लागि लड्न चाहन्छिन त्यसरी नै अघि बढाउन हौसला दिनुहोस उनलाई त्यति भए कसैले पाल्नु पर्दैन आफै पालिने अनि परिवार पाल्ने आट गर्नेछिन ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।