देखिन थाले जगदीशपुर तालभरि पाहुना चरा

कपिलवस्तु । देश विदेशका चराको गन्तव्य कपिलवस्तुको जगदीशपुर ताल पाहुना चराको आगमनले मनमोहक बनेको छ । तालभरि चरा देखिन थालेपछि पर्यटक आकर्षण पनि बढेको छ ।

तालमा अहिले मरुल, सिलसिले हाँस, बिजुला गैरी, सुनजुरे हाँस, खडखडे र सिन्दुरे हाँस प्रशस्त देखिएका छन् । त्यस्तै सुइरोपुच्छ, चखेवाचखेवी, बेल्चा ठुँडे, हरिहाँस, नादुन, बगाले सिमकुखुरा, जलेवा, सुइरोठुटे, मालक र हरियो टाउकेहाँस पनि उत्तिकै छन् ।

विश्व सिमसार क्षेत्रमा रहेको सूचीकृत ताल अहिले चरामय बनेको हो । उत्तरी धु्रवमा हिमपात सुरु भएसँगै चरा बसाइँ सर्न थाल्छन् । चराविद् सोम जीसीका अनुसार बढी चिसो हुने हुँदा उता चराले खाने चारो पाउँदैनन् । जीवनयापन पनि उस्तै गाह्रो हुन्छ ।

त्यसैले हिउँद यामको बढ्दो जाडो छल्न नेपालमा चरा आउँछन् । त्यस क्रममा तल्लो हिमाली भेग, पहाड र तराईका सिमसार, तालतलैया र नदी आसपास हजारौँ चरा बसाइँ सरी आउने गर्छन् । कतिपयले बच्चा कोरलेर हुर्काई पनि जाने गर्छन् ।

रुस, चीन, मङ्गोेलिया, कोरिया साथै युरोपबाट हिउँदे आगन्तुक चरा नेपालमा आउने गर्छन् । त्यस्तै मध्य एसियाका तुर्केमिनिस्तान, अजरबैजान, किर्गिस्तान र साइबेरियाबाट यहाँ चरा आउँछन् ।

नेपालमा बर्सेनि १५० भन्दा बढी प्रजातिका चरा आउँछन् । जलवायु परिवर्तन र आहारविहारले चरालाई समस्या परिरहे पनि यहाँ भने चरा बढ्नु राम्रो भएको चराविद् जिसीले बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया