पौडी टोली आबुधाबी जाँदै

काठमाडौं

पन्ध्रौं विश्व फाना पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा सहभागी हुन नेपाल पौडी टोली सोमबार आबुधाबी जाँदै छ ।

डिसेम्बर १५ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष÷महिला गरी ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषको २ सय मिटर फ्रिस्टायल र व्यक्तिगत मिड्लेमा नासिर हुसैन तथा ५० र १ सय फ्रिस्टायलमा एलेक्स शाहले प्रतिस्पर्धा गर्ने छन् ।

महिलाको ५० र १ सय मिटर फ्रिस्टायलमा अनुश्रिया तण्डुकार तथा ५० र १ सय मिटर ब्रेस्टस्ट्रोकमा उपास्ती महर्जनले सहभागिता जनाउने छन् । अमेरिकामा रहेका एलेक्स त्यत्तैबाट आबुधाबी जाने नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जनाएका छन् ।

प्रशिक्षकमा नयना शाक्य तथा व्यवस्थापकमा अनिश महर्जन रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले नयाँ उपलब्धी हासिल गर्न खेलाडीलाई उच्च मनोबलका साथ प्रदर्शन गर्न बताउदै खेलाडीले व्यवस्थापनमा नभइ आफ्नो खेल र प्रशिक्षण तिर मात्र ध्यान दिन आवश्यक रहेको बताए । उनले राष्ट्रिय टिमको प्रदर्शन व्यवस्थित गर्न राखेपले हाइ पर्फमेन्स कमिटी गठनको तयारी गरिरहेको जानकारी गराए ।

खुला कराते शनिबार

नेपाल सितोरियो सोबुकान कराते डो संघको आयोजनामा चौथो नेपाल सितोरियो सोबुकान खुला राष्ट्रिय कराते प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगितामा करिब ४ सय खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक सनिश श्रेष्ठले जनाएका छन् । पुरुषमा ९ र महिलामा ८ गरी १७ स्पर्धामा खेल हुने छ । एकदिने प्रतियोगिता भक्तपुरको बालकोटमा हुने छ ।

प्रतिक्रिया