देश–देशमा फेरि फर्किंदै कोरोना

काठमाण्डौँ

विश्वमा केही दिनयता कोरोना संक्रमण पुनः बढ्दै गएको छ। बेलायतमा गत बिहीबार पछिल्लो तीन महिनायता पहिलो पटक ५० हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन्। जुलाइ १७ तारिखयताको यो सबैभन्दा उच्च संक्रमण हो।

त्यहाँ थप प्रतिबन्धको माग भइरहँदा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जनतालाई पालो आउनासाथ बुस्टर डोजको खोप लगाउन आग्रह गरेका छन्। बेलायतमा बिहीबार ५२ हजार ९ जना नयाँ संक्रमित देखिएका छन्। संक्रमण भएको २८ दिनभित्र करिब १ सय १५ जनाको मृत्यु भएको छ।

उच्च संक्रमणका बाबजुद पनि सरकारले आफ्ना योजनालाई पहिलो वर्षभन्दा प्रभावकारी रूपमा अघि बढाइरहेको दाबी गरेको छ। गत जुलाइ १७ मा ५४ हजार ६ सय ७४ संक्रमित थिए। बेलायतमा लगाइएका प्रतिबन्धमा फुकुवा गरेपछि परिवारहरू एक–आपसमा घुलमिल हुन थाले र आतिथ्य पुनः सुरु भएको धेरै सातापछि यो अवस्था आएको थियो।

चिकित्सकहरूले त्यहाँका मन्त्रीहरूलाई ‘प्लान बी’ को अबलम्बन गर्न आग्रह गर्दैछन्। जसअन्तर्गत सरकारले अनिवार्य मास्क लगाउने र घरबाटै काम गर्ने जस्ता नियमलाई पुनः लागू गर्नुपर्नेछ।

बेलायती प्रधानमन्त्री जोनसनले १२–१५ वर्ष उमेर समूहका बालबालिकालाई पहिलो खोप लगाउन आग्रह गरेका छन्। आपूर्तिको कमी नभएको र ठूलो मात्रामा खोप उपलब्ध भएकाले पनि उनले यस्तो अपिल गरेका हुन्। खोपको दोस्रो मात्रा लगाएको कम्तीमा ६ महिनापछि आउने अनुमानित ४७ लाख बुस्टर खोप बेलायतमा आइसकेको छ।

खोपका सम्बन्धमा सरकारका एक सल्लाहकार प्राध्यापक जेरेमी ब्राउनका अनुसार कोभिडको गम्भीर संक्रमणमा परी अस्पताल आउने, सघन उपचार कक्षमा हेरचाह गराउने र मृत्यु हुनेमा खोप नलगाएका व्यक्ति बढी छन्। जाडो मौसममा बेलायतमा कोभिडको सामना गर्ने रणनीतिअन्र्तगत हाल बेलायत सरकारको ‘प्लान ए’ संचालनमा  छ। यसमा करिब ३ करोड जनतालाई बुस्टर डोज प्रदान गर्ने, १२–१५ वर्षका स्वस्थ बालकलाई पहिलो खोप लगाउने, साथै भीडभाड हुने ठाउँहरूमा बन्द भेला नगर्ने, हात धुने र मास्क लगाउन प्रेरित गर्ने रहेका छन्।

हाल १०–१९ वर्ष उमेर समूहमा संक्रमण बढी रहेको पाइन्छ भने ८० वर्षमाथिकामा कम रहेको पाइन्छ। अन्य उमेर समूहमा पनि संक्रमण फैलन सक्ने सम्भावना छ। त्यसैले वैज्ञानिकहरूले आगामी केही साताभित्र अवस्था कस्तो हुन्छ भन्ने अनुमान लगाउन गाह्रो पर्ने बताएका छन्। त्यहाँका स्वास्थ्य सचिव साजिद जाभिदले संक्रमण चाँडै नै १ लाख पुग्न सक्ने बताएका छन्।

रुसले एक साता बिदा दिने
कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्न थालेपछि एक सातालाई ‘काम नगर्ने साता’का रूपमा घोषणा गर्ने रुसी क्याबिनेटको  प्रस्तावलाई त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनले समर्थन गरेका छन्। त्यहाँको सरकारी तथ्याकंका अनुसार विगत २४ घण्टामा कोरोना भाइरसका कारण १०२८को मृत्यु भएको छ। जुन महामारीको सुरुआतपछि सबैभन्दा धेरै संख्या हो। यसले रुसको कुल मृत्यु संख्या २२६३५३ मा थप बढाएको छ। यो युरोपमा अहिलेसम्मकै  सबैभन्दा उच्च हो। रुसमा अक्टोबर ३० बाट काम नहुने अवधि सुरु गरी अर्को सातासम्म विस्तार गरिने भएको छ। त्यहाँ ३२ प्रतिशत जनसंख्याले पूर्ण खोप लगाइसकेका छन्। सन् २०२०को अगस्टमा विश्वमै पहिलोपटक खोपलाई मान्यता दिने पहिलो राष्ट्र रुस बनेको थियो।

रुसका ८५ राज्यहरूमध्ये धेरैले ठूला सार्वजनिक कार्यक्रमहरूमा उपस्थित हुन, सिनेमा, रेस्टुराँ र अन्य ठाउँमा जान प्रतिबन्ध लगाएका छन्। कतिपयले केही सरकारी कर्मचारी र ६० वर्ष उमेरमाथिका जनतालाई खोप अनिवार्य गरेका छन्। रुसमा हाल ८० लाखभन्दा बढी संक्रमित छन्। न्युयोर्क टाइम्सका अनुसार अमेरिकामा पनि सेप्टेम्बरको सुरुआतदेखि नै प्रत्येक दिन करिब आधाभन्दा बढी नयाँ संक्रमितको संख्या थपिँदै गएको छ। त्यस्तै, भारतमा पनि २४ घण्टामा संक्रमितको संख्या १५६५ बढेको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार बिहान १४,६२३ नयाँ संक्रमण पुष्टि गरेको थियो।

मंगलबार उक्त संख्या १३,०५८ थियो। त्यस्तै, मंगलबार मृत्यु हुनेको संख्या १६४ रहेकोमा बुधबार बढेर १९७ पुगेको थियो। शुक्रबारको तथ्यांकअनुसार यो संख्या बढेर १५,७८६ पुगेको छ।

युक्रेनमा विद्यालय बन्द
कोरोनाबाट मृत्यु हुनेको संख्या एक्कासि बढेपछि युक्रेनका विद्यालयहरू बन्द गरिएका छन्। राजधानी सहर किभमा रहेका विद्यालयहरूलाई दुई साता बन्द गर्न निर्देशन दिइएको छ। शिक्षक शिक्षिकाले पूर्ण खोप लगाइसकेपछि मात्र विद्यालय खोल्न निर्देशन जारी गरिएको छ।

युरोपको एक गरिब राष्ट्रमध्येको युक्रेनको ४ करोड १० लाख जनसंख्यामा ६८ लाखले मात्र खोप लगाएका छन्। युक्रेनमा बिहीबार कोरोनाबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको आधिकारिक तथ्यांक छ।

बेइजिङमा सामूहिक परीक्षण सुरु
चीनको बेइजिङमा ४ जना नयाँ संक्रमित भेटिएपछि शुक्रबारदेखि हजारौंको संख्यामा सामूहिक परीक्षण सुरु गरिएको छ। नयाँ प्रकोपको सुरुसँगै त्यहाँका विद्यालय र उडान रद्द गर्ने संकेत देखिएको छ। चीनले कडा सीमा बन्द, लामो क्वारेन्टाइन र लक्षित लकडाउनका साथ कट्टर शून्य कोभिड रणनीति कायम राखेको छ।

  •  यो समचार अन्नपुर्ण अनलाईनमा रामकला खड्काले लेखेका छन् । 

प्रतिक्रिया