कपिलवस्तुमा झाडापखालाको प्रकोप, २ को मृत्यु, बिरामीले भरिए अस्पताल

कपिलवस्तु ।
कपिलवस्तुको कृष्णनगरमा झाडापखालाको प्रकोप फैलिएको छ । झाडापखलाका कारण अहिले सम्म दुई जनाको मृत्यु भएको छ भने दुई सय भन्दा बढी बिरामी भएका छन्।

कृष्णनगर नगरपालिकाको वडा न. ७, ८ र ९ नम्बर वडामा झाडापखलाका बिरामीहरु बढ्दै गएपछि अहिले अस्पतालमा विरामीले भरिएका छन्। कृष्णनगर वडा न. ९ का पाँच वर्षीय राज काश्यप र कृष्णनगर ८ का ४० वर्षीय राप्रसाद केवट को स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

स्थानीय अस्पतालले बिरामी थेग्न नसकेपछि सोमबार रातिदेखि शिवराज अस्पतालमा बिरामी आउन थालेका छन् । बिहानदेखि बिरामीको चाप बढ्दै गएपछि अहिले अस्पतालको शय्या भरिएर बाहिर टेन्ट टाँगेर उपचार सुरु गरिएको अस्पतालका सूचना अधिकारी रवि प्रकाश उपाध्यायले जानकारी दिए। ‘बिरामी आउनेक्रम जारी छ, अब भर्ना गरेर उपचार गर्ने ठाउँ छैन,’ उनले भने।

शिवराज अस्पताल बिरामीले भरिन थालेपछि जटिल बिरामीलाई तौलिहवा र बुटवलमा पठाउन थालिएको छ। विभिन्न गाउँका दुई सयभन्दा बढी मानिसहरु बिरामी भएको र प्रकोप नियन्त्रणका लागि स्वास्थ्य कार्यालय जुटेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताए।

उनले झाडापखला कसरी फैलियो भन्ने बारेमा अध्ययन अनुसन्धान भइरहेको समेत बताए । स्थानीयले पानी र सरसफाइमा हेलचेक्र्याइँ गर्दा झाडापखलाको प्रकोप बढेको हुनसक्ने अनुमान गरिएको छ। स्थानीयहरुले दूषित पानीमा माछा मार्ने र त्यतिकै खाँदा बिरामी बढेको हुनसक्ने प्रारम्भिक अनुमान छ।
के यो महामारी हो?
कपिलवस्तुमा फैलिएको झाडापखालाको अवस्था महामारी हो भन्ने प्रश्नको जवाफमा जनस्वास्थ्य विज्ञ शरद वन्तले भने, ’अहिले नै महामारी भनिहाल्न मिल्दैन। यसका लागि अध्ययन गरेर, प्रभावित क्षेत्रको पहिलेको अवस्था र संक्रमण फैलिइसकेपछि त्यसले असर गरेको अवस्थाबारे बुझ्नुपर्छ।’

डा. वन्त भन्छन्, ’कहिलेकाहीँ टाइफाइड, डेंगु, झाडापखाला लगायतका ’सिजनल भेरियसन’ हुन्छन्। संक्रमण कहिलेकाहीँ अवस्था हेरेर पिकमा पुग्नेसक्छ। यो महामारी हो कि होइन भन्ने कुराको अध्ययन गरिनुपर्छ।’

प्रतिक्रिया