करणीको आराेप लगाउँदै रकम असुली गर्ने तीन महिला पक्राउ

दाङ । दाङ प्रहरीले आपराधिक लाभ (एक्सटर्सन) कसुरमा तीन जना महिलालाई पक्राउ गरेको छ ।

कानुनी परामर्शको नाममा होटेलमा बोलाई बियर र चिया खाएकै भरमा जबर्जस्ती करणीको आरोप लगाएर ती महिलाहरूले एक पुरुषसँग बार्गेनिङ गरेको पाइएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको जानकारी दिएको छ ।

५० लाख रुपैयाँबाट बार्गेनिङ गरेर १८ लाख रुपैयाँमा कुरा मिलाई आपराधिक रूपमा रकम असुल गरेको पाइएपछि तीन जना महिलालाई पक्राउ गरी कानुनी कारवाही सुरु गरिएको दाङका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले बताए ।

‘हनी ट्र्याप’मा पारेर पैसा असुल्ने ती महिलालाई पक्राउ गरी कानुनी दायरामा ल्याएका छौँ’, उनले भने, ‘अनुसन्धानले उनीहरूले पैसा असुल गरेको पुष्टि पनि भएको छ ।’

रिजालले पुरुषहरूलाई ‘हनी ट्र्याप’मा पारेर रकम असुल गर्ने घोराही उपमहानगरपालिका- १५ निवासी ३२ वर्षीया सीतादेवी थापा, ३५ वर्षीया खुमा वली र घोराही- ५ निवासी ३२ वर्षीया सुष्मा परियार रहेको बताए ।

पक्राउ परेकामध्ये सीतादेवी थापा बस्दै आएको डेराबाट ७ असारमा पीडितलाई धम्की दिई पीडितबाट लिएको १७ लाख रुपैयाँको सिभिल बैंकको चेक एक थान बरामद भएको र नगद एक लाख रुपैयाँ थापाले ब्याजमा लगाइसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । प्रहरीले पीडकको साथबाट चेक र तमसुक पनि बरामद गरेको छ ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुर गरेकाले सोही दफाको उपदफा ३ (ख)बमोजिम व्यवसायमा गैरकानुनी तरिकाले कुनै क्षति पुर्‍याउने वा चरित्रमा झूटो दोष लगाउने नियतले डर, त्रास देखाई आपराधिक लाभ लिएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिमाना हुने कानुनी प्रावधान रहेको हुँदा उनीहरुलाई सोहीअनुसार अदालतमा मुद्दा दर्ता गरिएको रिजालले बताए । न्युज कारखाना

प्रतिक्रिया