काष्ठमण्डपको पुनर्निर्माण अन्तिम चरणमा

काठमाडौं उपत्यकाको परिचय र इतिहाससँग जोडिएको काष्ठमण्डपको पुनर्निर्माण ९५ प्रतिशत सम्पन्न भएको छ ।

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको मुख्य पूर्वाधार (सुपर स्ट्रक्चर) को काम सम्पन्न भई अहिले ‘फिनिसिङ’ कार्य भइरहेको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ ।

‘हामीले सातौं शताब्दीकै शैली र प्रविधि प्रयोग गरिरहेका छौं । माटो र त्यसबेला प्रयोग गरिएका सामग्री प्रयोग गरिरहेका छौं । सातौं शताब्दीमै प्रयोग गरिएको साइजको इँटा प्रयोग गरेका छौं,’ संयोजक शाक्यले भने, ‘समितिले इँटा निर्माण कम्पनीलाई विशेष आग्रह गरी सातौं शताब्दीकै साइजको इँटा निर्माण गर्न लगाएको छौं । मात्र काठ, माटो र इँटाको प्रयोग गरेर काष्ठमण्डपको पुनर्निर्माण भइरहेको छ ।’

कूल १२ करोड रुपैयाँको लागतमा निर्माण हुने अनुमान गरिएकोमा अहिलेसम्म काठमाडौं महानगरपालिकाले ११ करोड ५० लाख रुपैयाँ पुनर्निर्माण समितिलाई उपलब्ध गराइसकेको उनले जानकारी दिए । यस वर्षको साउन मसान्तसम्म १० करोड ८० लाख रुपैयाँ खर्च भइसकेको छ ।

पुनर्निर्माणका लागि महानगरपालिका र पुनर्निर्माण समितिबीच २०७५ वैशाख २९ गते सम्झौता भई कात्तिक २२ गतेदेखि काम शुरू गरिएको थियो । पुनर्निर्माण भइरहेको काष्ठमण्डपमा ४ घेराका सय वटा थाम राखिएको छ । संकल्प पूजा गरेर ठड्याइएका २५ फिट अग्ला ४ वटा मूल थाम पहिलो घेरा हो । ४ वटा मूल थाममध्ये एउटा ११ सय वर्ष पुरानो रहेको उनले बताए ।

दोस्रो घेरामा जोडाका दरले ३२ वटा थाम ठड्याइने छ । तेस्रो र चौथो घेरामा १/१ वटाका दरले क्रमशः २८ र ३६ वटा थाम राखिएको संयोजक शाक्यले जानकारी दिए । ३ तलाको अबको काष्ठमण्डप भूकम्प प्रतिरोधी क्षमताको निर्माण भइरहेको उनले बताए ।

काष्ठमण्डपको पुनर्निर्माण गर्न ठूलो र सानो आकारको गरी करीब २ लाख थान माःअप्पा इँटा लागेको छ । ठूलो आकारको ९० हजार र सानो आकारको १ लाख १० हजार थान इँटा रहेको छ । काष्ठमण्डप निर्माणमा करीब १२ हजार क्युफिट सालको काठ लाग्ने अनुमान गरिएको छ । सबै काठ बारा, रौतहट, महोत्तरीको जंगलबाट मगाइएको संयोजक शाक्यले जानकारी दिए । यो काष्ठमाण्डपको निर्माण सातौं शताब्दीमा भइएको पाइएको छ ।

संयोजक शाक्यले भने, ‘एउटै रुखको काठबाट बनेको सत्तलको नामबाट नै काठमाडौंको नामकरण भएको गरिएको विश्वास गरिन्छ । यसअघि १२औं शताब्दीमा बनेको विश्वास गरिए पनि यो वर्ष बेलायतको दुराहम विश्वविद्यालय र पुरातत्व विभागले गरेको अध्ययनले काष्ठमण्डप सातौं शताब्दीमा निर्माण भएको प्रमाणित भइसकेको छ ।’

गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया