कोइलीचौर घटना : भ्रम र वास्तविकता

सेयर गर्नुहोस्
465Shares

– नारायाण खनाल
गत हप्ता नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरी, नेपाल पत्रकार महासंघ कपिलवस्तुका पूर्व अध्यक्ष डिलाराम भुषाल र नेपाल पत्रकार महासंघ कपिलवस्तुका सचिव जानु पाण्डे लगाएतका पत्रकार साथिहरु कपिलवस्तु जिल्लाको बनगाई देखि भर्लावास जाने क्रममा हाम्रो निवासमा आउनुभएको थियो । हाम्रो घरमा बसाईको क्रममा देशको राष्ट्रिय राजनिति र आगामी दिनहरु नेपाली जनताका कस्ता हुनेछन का अलावा पारिवारीक स्थितिको विषयमा असाध्यै छोटो संवाद भएको थियो । ति तीनै जना पत्रकार साथीहरु मेरो परिवारका सदस्यहरु जस्तै हुन र तीनै जना पत्रकार साथीहरु मलाई आफ्नो राजनितिक तथा पत्रकार क्षेत्रको एक जना गुरु मान्दछन् । किनकी ती सबै साथिहरुलाई पत्रकारीताको क्षेत्रमा ल्याउनमा मेरो धेरै ठूलो भूमिका रहेको छ र ति साथीहरु आज देशको महत्वपूर्ण जिम्मेवारी सम्हालीरहेका छन् त्यसमा मलाई गर्व छ । उहाँहरु सँगको हाम्रो भेटघाट नितान्त व्यक्तिगत र पारिवारिक थियो ।
सोही दिन बेलुकी नै हाम्रो परिवार संलग्न रहेको स्थानीय कोईली चौर साना किसान सामुदायिक वन उपभोक्ता समितिको नेतृत्व, अनियमितता तथा भ्रष्टाचारजन्य सुचना सहितको समाचारहरु यस जिल्ला र प्रदेशका स्थापित अनलाइन पत्रपत्रिकाहरुबाट संप्रेषण भएको रहेछ । त्यस प्रकारको समाचार प्रकाशित भए पछि त्यस स्थानीय सामुदायिक वन उपभोक्त समितिका कतिपय साथीहरुले त्यस प्रकारको सूचनाको संप्रेषणको मुख्य स्रोत हाम्रो परिवार नै भएको आसंका गर्नुभएको रहेछ । सोही आसंकाकै आधारमा आफ्नो धारणा समेत निर्माण गर्नुभएको रहेछ । मानिसहरुलाई आसंका गर्ने सुविधा सबैलाई हुन्छ । तर आसंकाकै भरमा धारणा निर्माण गर्ने र त्यसलाई सार्वजनिक गर्ने काम कसैलाई पनि सैह्य र बर्दास हुदैन । यस परिघटनाले मलाई ज्यादै गम्भिर र चिन्तत बनाइदिएको छ ।

१. सर्व प्रथम म के कुरा स्पष्ट गर्न चाहान्छु भने मेरो राजनितिक जीवनको साढे तीन दशक सिर्फ नेपाली समाजको राजनितिक, सामाजिक, आर्थिक र समाजको बृहत्तर सांस्कृतीक रुपान्त्रण सहितको जनताको खुसी र संबृद्धीको निम्ति सक्रिय विताउँदै आएको छु र भविष्यमा पनि त्यही कामलाई निरन्तरता दिइरहेको छु । नेपालमा बहुदलिय व्यवस्थाको आगमन पश्चात वा पछि मात्रै होइन जनयुद्ध कालमा समेत म स्वयम युद्धमा सहभागि भएको बेलामा पनि यस गाउँमा क्रियाशिल विभिन्न राजनितिक दलका नेता तथा कार्यक्रताहरु र सामाजिक अभियान्ताहरुसँग सहकार्य गरेर यस क्षेत्र र गाउँको ठूला ठूला विकासका कामहरु सम्पन्न गरिएको थियो । त्यस प्रकारको विकासमा मेरो पहलकदमी र सक्रिय भूमिका रहेको थियो । मलाई राम्रो सँग थाह छ, कुनैपनि गाउँको विकास, शुसासन र संबृद्धीमा त्यस गाउँका सबै प्रकारका कला, प्रतिभा र क्षमताहरुको केन्द्रिकरण, संयोजन, र क्षेमताअनु्सारको कामको विन्यास बिना सम्भव नै छैन । चुच्चे टोपी लगाएर एक्लै हिडेर सिर्फ गीत, गजल, कविता र चित्र कोर्न सकिन्छ । गाउँको उन्नती प्रगति र विकासका निम्ति सामुहिक नेतृत्व, नेतृत्वको वरिपरि गढिलो टिम, टिमको मातहतमा अल्पकालिन, मध्यकालिन र दिर्घकालिन आर्थिक संबृद्धीको मार्गचित्र, त्यसलाई सफलतापूर्व कार्यान्वयन गर्न गराउन सक्ने भविष्यप्रति आशावादी, उत्साहित युवाहरुको एउटा फौज र दुरदर्शी भिजनरी र संन्तुलित नेतृत्वको आवश्यकता प्रदछ । मेरो राजनितिक अनुभव र पृष्ठभूमी तथा हाल बहन गरिरहेको जिम्मेवारीको आधारबाट हेर्दा यस क्षेत्र र गाउँकै निम्ति हमेशा अभिभावकीय भूमिका रहँदै आएको छ र भविष्यमा पनि त्यही प्रकारको भुमिका रहने छ ।

२.यहाँ स्मरणीय कुरा के छ भने, विगत दुई दशक देखि यता म यस कोईलीचौर साना किसान सामुदायिक वन उपभोक्त समितिको सल्लाहाकार पदमा रही आवश्यकता अनुसार सल्लाह सुझाव र रचनात्मक आलोचनामा सहभागी हुँदै आएको छु । यस संस्थाको सर्वाेपरी हित विकास र विस्तारको निम्ती म मात्र होइन हाम्रो परिवारका सबै सदस्यहरुको अमूल्य योगदान रहँदै आएको कुरा सर्वविदितै छ । त्यो अवस्थामा सामान्यतय यस वडाका प्राय सबै, विशेषत ः यस कोईलीचौर साना किसान वन उपभोत्ता समितिको नेतृत्व, पदाधिकारी र सदस्यहरु सहितको हुने बैठक भेला वा साधारणसभाहरुमा मलाई आफु्लाई मनमा लागेका कुराहरु, वा सीमासमस्याहरु तथा कमजोरीहरुका सवालमा सिधासिधा विषयवस्तु राख्न सक्ने हैसियत राख्दछु । सस्थाका पदाधिकारी वा सदस्यहरुलाई कुनै विषयमा अग्रिम सचेत गाराउनुपर्ने भए वा आलोचना गर्नुपर्ने विषय भए भिन्दाभिन्दै समय र परिस्थितिहरुमा व्यक्तिगत रुपमा समेत भेटेर खुल्ला हृदयका साथ राख्ने गरेको छु ।

३.यतिवेला देशैभरिका असामाजिक तत्वहरुको जोड र ध्यान प्राय आर्थिक स्रोतका केन्द्र वरिपरी रहने गरेको छ । त्यस प्रकारका तत्वहरु स्थानीय सामुदायिक वनका पदाधिकारी वा सदस्यहरुलाई आर्थिक प्रलोभनमा पारेर÷स्थानीय दलाल प्रशासनसँग मिलिमतो गरेर, सेटिङमा देशका प्राकृतिक साधन र स्रोतहरु दिनदहाडै दोहन गर्ने र रातारात फास्र्ट ट्रयाक्बाट, सटकर्ट तरिकाले धनी÷मालामाल हुने गरेका घटनाक्रमहरुले आम जनता चिन्तित देखिन्छन् । देशमा भएका नियमनकारी निकायहरुको पनि भुमिका शून्य रहेको बेला देशमा भएका विभिन्न प्रकारका विकृती विंसंगती आर्थिक अनियमितता र भ्रष्टाचारजन्य विषयवस्तुहरुलाई उजागर गर्ने भएकाले संचारजगतलाई जनताले आशाको नजरले हेर्ने गरेका छन् । यो कुरा बेग्लै हो की हाम्रो निवासमा आउनुभएका मेरा प्रिय संचारकर्मी मित्रहरुले यस सामुदायिक वनको आन्तरिक सूचना बाहिर ल्याउनुभयो वा भएन ? त्यो कुरा उहाँहरुले नै ल्याउनुभयो वा अरु कसैले ? ठिक कुरा उठाउनुभयो वा बेठिक कुरा ? त्यस कुराको समस्यालाई सन्ुतलित र परिपक्क ढङ्गले जिम्मेवारीपूर्वक वस्तुनिष्ठ रही समाधान गर्ने जिम्मा यसै स्थानीय सामुदायिक वन उपभोक्त समितिको नेतृत्व, यसका पदाधिकारी वा आमभेला वा साधारणसभाको सामुहिक अध्ययन र जाचँप्रतालको विषय हो । यसप्रकार विषय उजागर भईसकेपछि एकआध मानिहरुले आफ्नो मनोगत लहड र व्यक्तिगत सनकको भरमा धारणा बनाउने र त्यसैलाई नै अन्तिम ठान्ने कुरा विज्ञानसम्मत हुूँदैन । समाजका समस्याहरु उजागर गर्न पाउनु आम नागरिक र संचारकर्मीहरुको दायित्व भित्रको कुरा हो । माथि पहिला नै चर्चा गरियो त्यसरी उठेका विषयवस्तुहरु तथ्य र सत्यतामा आधारित छन छैनन, त्यो कुरा अध्ययनको विषय हो ।

४. मेरो दिमागमा चलिरहेको कुरा के हो भने मेरो घरमा आउनुभएका पाहुनाबहरुबाट नै त्यस प्रकारको समाचारको स्रोत हाम्रो परिवार नै हो भन्ने कुराको मुख्य आधार के हो ? त्यो कुराको छानविन नगरिकन नै आशंकाका आधारमा असाध्यै हचुवा तरिकाले धारणा बनाउने र त्यसैलाई नै अन्तिम सत्य ठान्दै जुन तरिकाले सार्वजनिक मञ्चबाट अप्रत्यक्ष ढङ्गले व्यक्तिको चरित्र हत्या गर्ने काम किमार्थ कसैलाई पनि सैह्य र बर्दास्त हुदैन । फेरी मसँगको भेटघाटमा तीन संचारकर्मी साथिहरुले यो विषयमा कुनै जिकिर गर्नुभएको पनि थिएन र मेरो दिमागमा पनि यस विषयमा कुनै पूर्व योजना थिएन । यदी कथमकदाचित कतिपय साथिहरुलाई त्यस प्रकारको आशंका लागेको भए मलाई भेटेर वा फोनको माध्यमबाट पनि स्पष्ट हुने सुविधा थियो । तर साथीहरुले त्यसरी स्पष्ट हुने, सबैको धारणाहरु सुनेर आफ्नो धारणा बनाउने झन्झट उठाउन चाहनुभएन । यो तरिका वास्तवममा असाध्यै हचुवा र गैरजिम्मेवार तरिका हो । यस्तो कार्यशैली वा कार्यप्रणाली र कार्यतरिका समाजको विकासमा बाधक तत्व हो ।

५. जनताको विकासका निम्ति खडा गरिएका स्थानीय सामुदायिक वनका संरचनाहरु वा आर्थिक स्रोतका क्षेत्रहरु कुनै राजनितिक दल वा तिनका भातृ संगठनहरु होइनन् । त्यहाँ कुनै दल विषेशका हैसियतका आधारमा प्रतिनिधित्व पनि हुँदैन । सामान्यतया यसको गठन, पदाधिकारी र सदस्यहरुको चयन आवश्यकताका आधारमा सकेसम्म समावेशी चरित्रको र विसुद्ध स्थानीय उपभोक्ताहरुको सहभागिता र छनोटमा नै हुने गर्दछ । यस प्रकारका संस्थाहरुको चरित्र, विशेषता, तथा गुणहरु सामुहिक किसिमको हुने गर्दछ । यसको जस वा अबजसको स्वमित्व र अपनत्व स्थानीय उपभोक्तामा नै निर्भर गर्दछ । तर संस्थाको सर्वाेपरी हित विपरित सामुहिक विकासको प्रश्नमा देखा पर्ने विकृति विसंगती अनियमितता र भ्रष्टाचारजन्य क्रियाकलापहरु हुँदा वा सामुहिक पूँजीमा व्यक्तिगत स्वामित्व भएको कुनै सदस्यले देखेमा समितिको पदाधिकारी वा सदस्यहरु भएकै आधारमा मौन बस्नुपर्छ भन्ने पनि हुँदैन । समाजको एक असल नागरिकका हैसियतले समाजको साझा पुँजीमा व्यक्तिगत अधिपत्य हुने खालको क्रियाकलापको खबरदारी, भण्डाफोर, आवश्यकताअनुसार त्यसको समाजमा उजागर गर्ने अधिकार समाजको प्रत्यक नागरिकलाई हुन्छ र हुनुपर्दछ । त्यस प्रकारको समाचार लेख्ने संस्था वा व्यक्ति त्यस विषयमा सत्य र तथ्यको कति नजिक छ, त्यो कुरा सम्बन्धित व्यक्तिमा भर पर्ने कुरा हो ।

अन्त्यमा, हामी हिजोका आग्रह, पुर्वाग्रह, गुटगत, संकृणता, बदला र प्रतिशोध, छुद्र व्यक्तिगत टिकाटिप्पणी र गालीगलौजको संस्कृती, भडुँवा विकासवादी तुच्छ सोँचहरुबाट माथि उठेर शान्तपूर्ण वातावरणमा बहस, छलफल र संवाद गरौँ । हामी किन पछि पर्याैँ ? हाम्रो विकासको बाधक तत्व के हो ? हाम्रो चौतर्फि र सर्वाङ्गिण विकास कसरी हुन्छ ? त्यसका लागि अवको नेतृत्व कस्तो हुनुपर्दछ ? हाम्रा सहयोगी युवाहरु को को हुन सक्छन ? हामीसँग भएको साधन स्रोत कसरी सदुपयोग गर्न सकिन्छ ? र समतामूलक विकास र आर्थिक संबृद्धीको मार्र्गचित्र कसरी कोर्न सकिन्छ ? त्यसका लागि आवश्यक पर्ने पुर्वाधारहरु कसरी खडा गर्न सकिन्छ ? ठन्डा दिमागले सामुहिक सोँचौ र अगाडी बढौँ ।

 

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।