कोरोना कहरमा बाणगंगामा टोल शिक्षा संचालन, प्रशासन भन्छ अनुमति छैन

सेयर गर्नुहोस्
2Shares

कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका अन्तरगतका विभिन्न वडामा विद्यालयहरुले समुदाय सिकाई केन्द्र स्थापना गरी विद्यार्थी पठनपाठन गरिरहेका छन् । जसका कारण कोरोना फैलने फेरी जोखिम बढेको छ ।

अहिले बाणगंगा नगरपालिकामा कुल ४२ जना कोरोनाका सक्रिय संक्रमित रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमूख ठगराज पौडेलले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाको वडा नम्बर ८ स्थित बोडगाउँ र वडा नम्बर २ स्थित पिपरा क्षेत्र सबैभन्दा जोखिमको दायरामा राखिएको छ । बोडगाउँ र पिपराको एन्टिजेन परिक्षणका लागि केही दिनमै इपिडिमियोलोजी महाशाखाको चिकित्सक सहितको टोली आउने तयारीमा रहेको पनि पौडेलले जानकारी दिनुभयो । उहाकाँ अनुसार अहिले बाणगंगामा गरिएका परिक्षणमा लक्ष्यण नभएका मानिसहरु धेरै संक्रमित हुने गरेका पाइएको छ । जसका कारण दुई क्षेत्र अति प्रभावित क्षेत्रको रुपमा हेरिएको छ । यस्तै वडा नम्बर ८ स्थित मोर्मी टोलमा केही दिन अघि गरिएको एन्टिजेन परिक्षणका क्रममा ७ जनामा कोरोना पोजेटिभ देखिएको मोतिपुर स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेले बताउनुभयो ।

निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमण दर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै सङ्क्रमणको दर पनि बढ्दै गएको पाइएको हो । निषेधाज्ञा खुलेसँगै भीडभाड तथा जनस्वास्थ्यमा मापदण्ड लागू नगर्नेजस्ता कारणले सङ्क्रमणको दर बढेको पाइएको हो ।

यता कपिलवस्तु जिल्लामा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या ५३ जना रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार कपिलवस्तुका १० वटै स्थानीय तहहरुमा कोरोना परिक्षणका लागि प्रयाप्त किट रहेको भए पनि उनीहरुले परिक्षणको दायरा बढाउन सकिरहेका छैनन् जसका कारण कोरोना संक्रमण दर केही घटेको जस्तो देखिएको छ । तर जोखिम भने अझै उत्तीकै रहेको स्वास्थ्य कार्यालय तौलिहवाका कोरोना फोकल पर्सन उमेशचन्द्र घिमिरेले बताउनुभयो । स्थानीय तहहरुमा परिक्षण किट र जनशक्ति प्रयाप्त रहे पनि परिक्षणको दायरा कम हुँदैँ जाँदा संक्रमण घटेको जस्तो रहेको उहाँले बताउनुभयो ।

समुदायमा बिरामीको संख्या उच्च रहे पनि परिक्षणको दायरामा आउन नसक्दा भने संक्रमण दर घटेको जस्तो देखिएको छ । विशेषगरी नगरपालिका भित्रका संस्थागत विद्यालयहरुले गाउँगाउँमा विद्यार्थीहरु भेला गराई अहिले पठनपाठन गराइरहेका छन जसका कारण समुदायमा फेरी जोखिम बढ्ने खतरा देखिएको छ ।

उता जिल्ला प्रशासन कार्यालयले भने सिकाइकेन्द्र संचालनको अनुमति नदिएको जनाएको छ । प्रमूख जिल्ला अधिकारी चक्रपाणी पाण्डेका अनुसार संस्थागत विद्यालयका शिक्षकहरुसँग यस विषयमा छलफल भएको तर आफुले सिकाई केन्द्र संचालन कार्यविधि अनुसार योजना पेस गर्न भनेको बताउनुभयो । सिसिएमसीले समेत निश्चित कक्षाका परिक्षा संचालनको अनुमति दिएको भए पनि कपिलवस्तुको बाणगंगामा भने गाउँगाउँमा विद्यालय उमेरका बालवालिकाहरुलाई जोखिमका साथ पठनपाठन गराइएको पाइएको छ ।

यस बिषयमा बाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम भट्राराईसंग बुझ्दा जिल्ला प्रशासन कार्यालयले  २५ जना भन्दा कम संख्यामा भेला, बैठक गर्न सकिने भन्ने निर्णयको आधारमा केहि विद्यालयले त्यस्तो गरेको हुन सक्ने भन्दै नगरपालिकाले शैक्षिक संस्था सञ्चालन गर्न अनुमति नदिएको बताउनुभयो । प्रमुख भट्रराईले कोभिडको जोखिम बढ्दै गईरहेको अवस्थामा विद्यार्थीलाई झन जोखिममा राखेर विद्यालय खोल्न नपाईने समेत बताउनुभयो । यदि नगरपालिकाको मापदण्ड विपरित कुनै पनि विद्यालयले भौतिक उपस्थितिमा पठनपाठन गराएको पाईएमा अनुगमन गरि त्यस्ता विद्यालयलाई कारवाही गर्ने चेतावनी समेत दिनुभयो ।।

नगरपालिका र जिल्ला प्रशासन कार्यालयले अनुमति नदिएको भन्दै आए पनि त्यसको अनुगमन र नियमनमा भने चासो दिन सकेका छैनन् । जसका कारण विद्यार्थीहरु अहिले कोरोनाको उच्च जोखिममा पर्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।