खाने तेल र माछामासुमा अत्यधिक मूल्यवृद्धि : राष्ट्रबैंक

काठमाडौं

नेपालमा पछिल्लो एक वर्षमा घ्यू तथा तेलको मूल्य २८ प्रतिशत भन्दा धेरैले बढेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले पछिल्लो एक वर्षको आर्थिक तथा वित्तीय अवस्थाबारे अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै घ्यू तथा तेलको मूल्यवृद्धि २८.२० प्रतिशत रहेको जानकारी दिएको छ । २०७७ वैशाखको तुलनामा २०७८ वैशाखमा घ्यु तथा तेलको मात्र नभई अन्य वस्तुहरुको पनि मूल्यवृद्धि उच्च रहेको छ ।

यस अवधिमा मासु तथा माछाको मूल्य वृद्धि १७.१२ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै गैर-मदिराजन्य पेय पदार्थको मूल्य ९.८५ प्रतिशत र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि ९.८४ प्रतिशत रहेको छ ।

समग्रमा उपभोक्ता मुद्रास्फीति भने घटेको प्रतिवेदनमा उल्लेख छ । उक्त प्रतिवेदनका अनुसार अनुसार २०७८ वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ३.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ५.८३ प्रतिशत रहेको थियो । वैशाखसम्म खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ४.७२ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मूल्यवृद्धि २.८१ प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा काठमाडौं उपत्यकामा ३.६२ प्रतिशत, तराईमा ३.५१ प्रतिशत, पहाडमा ४.१४ प्रतिशत र हिमालमा १.३३ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ वैशाखमा यी क्षेत्रहरुमा क्रमशः ५.७१ प्रतिशत, ६.३५ प्रतिशत, ५.११ प्रतिशत र ५.१९ प्रतिशत मूल्यवृद्धि रहेको थियो ।

घ्यू, तेल तथा माछामासुको मूल्य वृद्धि यतिधेरै देखिदा उता श्रमिकहरुको आम्दानी वृद्धिदर भने खुम्चिएको छ । राष्ट्र बैंकका अनुसार तलब तथा ज्यालादर सूचकाङ्क वृद्धिदर निकै घटेको छ । पछिल्लो एक वर्षमा तलब तथा ज्यालादर १.८९ प्रतिशतले मात्रै बढेको छ ।

जबकी अघिल्लो वर्षको सोही अवधिमा तलब तथा ज्यालादर सूचकाङ्क ७.४९ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया