गण्डकीका खेलकुद मन्त्री दीपक मनाङे बर्खास्त

गण्डकी

गण्डकी प्रदेशको कामचलाउ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ लाई हटाउनुभएको छ । सरकारका बहालवाला मन्त्रीले नै सरकारलाई विश्वासको मत नदिएको भन्दै कामचलाउ मुख्यमन्त्री गुरुङले मनाङेलाई हटाउनुभएको हो ।

गुरुङले बिहीवार (हिजो) बेलुकी नै मनाङेलाई मन्त्रीबाट बर्खास्त गरेर प्रदेश प्रमुखलाई जानकारी गराइ सक्नुभएको छ । हिजो विश्वासको मत लिँदा मन्त्री मनाङे प्रदेश सभा बैठकमा अनुपस्थित हुनुभएको थियो ।

कामचलाउ मुख्यमन्त्री गुरुङकाे पत्र

यस्तै मन्त्री पदबाट बर्खास्त भएपछि मनाङेले पनि राजीनामा पत्र सार्वजनिक गर्नुभएको छ । उहाँले राजीनामा पत्र आज मुख्यमन्त्री गुरुङलाई बुझाउँदै हुनुहुन्छ ।

दीपक मनाङेकाे राजीनामा पत्र

राजीनामा पत्रमा उहाँले विश्वासको मत नपाएको सरकारका मन्त्री हुन नैतिकताले नदिने र अब आफूले विपक्षी गठबन्धनलाई साथ दिने बताउनुभएको छ । राजीनामा पत्रमा मनाङेले प्रदेश सभालाई विघटनमा जान नदिनका लागि पनि आफूले विपक्षी गठबन्धनलाई साथ दिने निर्णय गरेको बताउनुभएको छ ।

मनाङ ‘ख’ बाट निर्वाचित दीपक मनाङेलाई मुख्यमन्त्री गुरुङले केही दिनअघि मात्रै मन्त्री बनाउनुभएको थियो ।

मनाङेले अब आफूले कांग्रेस संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई सहयोग गर्नेसमेत घोषणा गर्नुभएको छ । मनाङेले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसद् विघटन गर्ने योजना बनाएपछि संसद् जोगाउनका लागि विपक्षी गठबन्धनमा उभिने घोषणा गरेको उहाँको भनाइ छ ।

सांसद मनाङेले साथ दिएमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्रको नेतृत्वमा गण्डकीमा नयाँ सरकार गठन हुने देखिएको छ ।

प्रतिक्रिया