कपिलवस्तु वाणगंगाका विशाल अधिकारीको प्रधानमन्त्रीलाई खुल्ला पत्र

कपिलवस्तु

कपिलवस्तु जिल्लाको वाणगंगा ८ बोडगाउँ बस्ने  ने.वि संघ कपिलवस्तुका सक्रिय विद्यार्थी नेता विशाल अधिकारीले प्रधानमन्त्रीलाई खुल्ला पत्र लेखेका छन् । जिल्लाभित्र बसेर कोभिड महामारी नियन्त्रणमा सक्रिय रुपमा लागेका अधिकारी विभिन्न सामाजिक संस्थाहरुमा समेत अबद्ध रहेका छन् ।  सामाजिक कार्यमा निकै अगाडि रहेका अधिकारीले नव नियुक्त प्रधानमन्त्रीलाई खुल्ला पत्र समेत लेखेका छन् ।
यस्तो छ उनको खुल्ला पत्र

प्रधानमन्त्री केपी शर्मा ओलीज्यू,

सम्माननीय केपी शर्मा ओलीज्यू सर्वप्रथम त तेस्रो पटक प्रधानमन्त्री बन्नु भएकोमा धेरै धेरै शुभकामना ! कार्यकाल सफल बनोस् । तपाइँलाई शुभकामना दिदै गर्दा अहिले देशमा हरेक सात मिनेटमा कम्तिमा एक नेपालीको कोरोनाबाट मृत्यु भइरहेको छ, सरकारी आँकडा नै भएकाले यहाँलाई अवगत नै होला । राजधानीकै मुटुमा रहेको वीर अस्पतालमै अक्सिजन अभावमा मृत्युको खबरले देशमा सरकार नभएको र अब सबै भरोसा सधै झैँ उनै पशुपतिनाथमा पुगेको अनुभव भएको छ । जनता कोरोनासँग युद्ध मैदानमा छन् ।

जनताको सास रोकिएको छ । अक्सिजन पाउन सत्ता, शक्ति र पैसाको समीकरण मिल्नुपर्ने भएको छ । ज्यान जोगाउन अस्पतालको गेट चाहार्दा एम्बुलेन्समा, ट्याक्सीमा, ट्रयाक्टरमा ज्यान गएको छ । अर्को शब्दमा भन्दा एक किसिमको नरसंहार नै भएको छ । जनताको लडाईमा तपाइँ नेतृत्वको सरकार लाचार मात्र बनेको छैन, मुकदर्शक बनेको छ । जनताको यो कठोर संघर्षका बीच तपाइँ राजनीतिक लडाई जितेर फेरी प्रधानमन्त्री बन्नु भएको छ । यस अवस्थामा तपाइँलाई शुभकामना दिनेकी अक्सिजनको जोहो गर्न नसकेर ज्यान गुमाएकालाई श्रद्धान्जली दिने साच्चै अलमलमा छु । यसबीचमा यहाँको सक्रियता पार्टीका बैठक, भेला, शिलान्यास र उद्घाटनमा देखिएकै हो ।

यसको अर्थ यो गर्न नहुने भन्ने होइन । विकास र समृद्ध नेपाल हुनुपर्छ भन्ने तपाइँले देखेको र देखाएको सपना ठिक थियो र छ तर यो सबको अनिवार्य सर्त जनता बाच्नु पर्छ भन्ने हैन र ? जनता नै नरहे तपाईले हालै उद्घाटन गरेको धरहरामा को चढ़ला ? तपाईलाई यो सब ज्ञान छैन भन्ने म पत्याउदिन । तर किन सरकारको काम लास गन्ने मात्र भएको होला भन्ने प्रश्नले म जस्तो युवाको मनमा आधी ल्याएको छ, छटपटी बनाएको छ । उमेरले परिपक्क नभएपनि घटनाक्रम र देशको अवस्थाले बुझ्नै पर्ने, सिक्नै पर्ने र बोल्नै पर्ने बनाएको छ ।

देश लकडाउनमा छ जनता घरमा बन्द छन्, तर तपाइँहरु राजनीतिक लडाईमा राजीनामा र शपथको गोल चक्करबाट बाहिर निस्किन सक्नु भएको छैन । केन्द्रदेखि प्रदेश सरकारसम्म हालत उस्तै छ । सरकारी संयन्त्र अस्तव्यस्त भएको छ र ज्यान जोगाउन छटपटाई रहेका जनता अभिभावक नभएको टुहुरो जस्तो बनेका छन् ।

यस स्थितिमा तपाइँले आफ्नो तेस्रो कार्यकाल शुरु गर्दै हुनुहुन्छ । अब तपाइले कम्तिमा जनता अक्सिजन नपाएर मर्नु नपर्ने अवस्था कहिले बनाउनु हुन्छ ? कोरोनाको अग्नि परीक्षामा जनता भए जस्तै तपाइँ पनि शायद तपाइको राजनीतिक जीवनको कठिन मोडमा हुनहुन्छ । अस्पतालले विरामी भर्ना लिन्न भन्ने हिम्मत तपाइँहरुकै लाचारी र सेटिंगको उपज हो भन्न हामी जस्ता सामान्य युवाले बुझिसकेका छौं तर तपाइँहरुले बुझ पचाउनु भयो । हेरिरहनु भयो, सुनिरहनु भयो । देशको नेतृत्व तपाइले गरेको हुनाले यो सबको दोष पहिला तपाइँलाई नै जान्छ ।

तपाइँले चाहेर या नचाहेर तपाइँ नै दोषी हो । जनता अहिले जसोतसो कोरोनाविरुद्ध सकेसम्म लडेका छन् । ज्यान बचाउने प्रयास गरिरहेका छन् । अब जनताको ज्यान बचाउने अभियानमा लाग्नुस् भन्ने मेरो सुझाव छ । जनताकै स्तरमा सहयोग आदान प्रदान भएको छ । सहयोगी हातहरु संकटको बेला अगाडी आएर एकअर्काको दुखमा साथ खडा छन् तर हामीले यो दुखको घडीमा जनताको साथमा तपाई खडा भएको हेर्न चाहन्छौं । तपाइँलाई धेरै होइन जनता बचाउनुस भन्ने अपिल छ ।

उही तपाइँको शुभचिन्तक 

विशाल अधिकारी     

कपिलवस्तु

प्रतिक्रिया