बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा आगलागी

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका वनभित्र डढेलो लागेको छ ।

निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने चुरे पहाडबाट सल्किएको डढेलो निकुञ्जको पश्चिम दक्षिण क्षेत्रमा फैलिँदै आएको हो । निकुञ्ज क्षेत्रमा लागेको डढेलोको धुवाँले निकुञ्ज मध्यवर्ती क्षेत्रका बस्ती ढाकेको छ ।

निकुञ्जमा लागेको डढेलोका कारण पशुपक्षी, जनावर, बोटबिरुवा तथा जडिबुटीहरु जलेर नष्ट हुने डर बढेको स्थानीयले बताएका छन्।

साथै, डढेलोको धुवाँले निकुञ्जको सुरक्षार्थ खटिएका सेना र निकुञ्जका कर्मचारी पनि प्रभावित भएका छन् । विशेषत बर्दिया निकुञ्ज मध्यवर्ती क्षेत्रमा पर्ने भुरिगाउँ, रानीपुर, कर्मला, प्रतापुर, डुम्रेनी, सैनवार, मैनवार, बर्गदा, रम्मापुर, औँरी, ठाकुरद्धारा लगायतका दुई दर्जनभन्दा बढी गाउँलाई केही दिनयतादेखि डढेको धुवाँले ढाकेको छ ।

डढेलोको धुवाँले निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दामा आँखा पोल्ने, सास फेर्न गाह्रो हुने, गाडि चलाउन गाह्रो हुनेलगायतका समस्या देखा परेको छ ।

धुवाँका कारण हिँडडुल गर्न र बाहिर निस्कन निकै समस्या परेको निकुञ्ज मध्यवर्ती क्षेत्रका स्थानीय केशव खनालले बताउनुभयो । बस्तीमा दिउँसोको तुलनामा राति र बिहानपख बढी धुवाँको प्रभाव पर्ने गरेको उहाँले बताउनु भयो ।

दिउँसो हावा चल्ने हुनाले धुवाँको प्रभाव केही कम हुने भए पनि साँझ पर्नासाथ धुवाँले गाउँ ढाक्ने गरेको ठाकुरबाबा नगरपालिका(४ का वडाध्यक्ष शेरबहादुर थारुले बताउनुभयो ।

निकुञ्जले भने एकैपटक धेरै ठाउँमा डढेलो लागे निभाउन सम्भव नहुने बताएको छ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।