महिलाको सुरक्षा, सम्मान र रोजगार ः समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ आयोजित अन्तराष्ट्रिय महिला दिवसको कार्य

सागर पौडेल ,कपिलवस्तु १११ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजित जिल्ला स्तरीय कार्यक्रममा स्थानीय सरकारले महिलाको सुरक्षा, सम्मान र रोजगारको क्षेत्रमा न्यून बजेट र कार्यक्रम समावेश गरेको पाइएको छ । जिल्लाका १० वटै पालिकाहरुको निति, कार्यक्रम र बजेटमा महिलाको सुरक्षा, सम्मान र रोजगारको क्षेत्रमा अत्यन्तै न्यून कार्यक्रम र बजेट छुट्टाइएको प्रतिवेदन सार्वजनिक गरिएको हो ।
जिल्लाको कपिलवस्तु, वाणगंगा, बुद्धभूमि, कृष्णनगर, शिवराज, महाराजगंज नगरपालिका र मायादेवी, शुद्धोधन, विजयनगर, यशोधरा गाउपालिकाले महिलाहरुको सुरक्षा, सम्मान र रोजगार सम्बन्धी नितीगत व्यवस्था र बजेटको अस्पष्टता भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जिल्लाको सदरमुकाम तौलिहवामा महिलाको सुरक्षा, सम्मान र रोजगार ः समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ आयोजना गरिएको अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा सरोकारवाला निकायले उक्त जानकारी दिएका थिए ।
कार्यक्रममा १० स्थानीय तहबाट सुरक्षा,सम्मान र रोजगार सम्बन्धी निती तथा कार्यक्रमहरु सम्वन्धित पालिकालाई जिम्मेवारी दिइएको भएपनि ६ वटा पालिकाहरुको मात्र कार्यक्रममा सहभागिता र प्रस्तुती रहेको थियो । यस्तै समग्र १० वटै पालिकाको अवस्थाको बारेमा गैसस महासंघ कपिलवस्तुकी प्रतिनिधि शुसिला बेल्बासेले प्रस्तुत गरेकी थिईन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सांसद रीना नेपालले नारी दिवसमा मात्रै महिला अधिकारको कुरा नगरी नियमित रुपमै गर्नुपर्नेमा जोड दिईन् । उनले महिलाहरुलाई सीपमुलक तथा आयआर्जनका लागि विभिन्न तालिमहरु दिए पनि अझै पनि उनीहरुलाई आत्मनिर्भर बनाउन नसकेको भन्दै नतिजामुखी तालिम हुनुपर्नेमा जोड दिईन् । सांसद नेपालले स्थानीय तहको निति तथा कार्र्यक्रम निर्माण गर्दा अब समावेशी खालको बजेट विनियोजन गर्न आवश्यक रहेको बताईन् । उनले समावेशीका आधारमा महिलाहरु पहिलेको तुलनामा नेतृत्वमा आए पनि निर्णायक कर्ताको रुपमा अझै अगाडि आउन नसकेकोले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको बताईन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति कपिलवस्तुकी उपप्रमुख तारावती चौधरीले पालिकाहरुले महिलाको सुरक्षाको विषयमा पर्याप्त ध्यान नदिएको बताइन् । उनले महिलाको सम्मान र रोजगारीमा सामान्य कार्यक्रम भएपनि त्यसलाई अझ बृद्धि गर्नुपर्ने बताइन् । कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समितिका प्रमुख नारायण खनाल, समाजसेवी सुरेन्द्र लम्साल, मानव अधिकार निगरानी समूहकी जिल्ला संयोजक पुष्पा रेग्मी लगायतले मन्तब्य राख्दै महिलाहरु राजनीतिक, सामाजिक र आर्थिक पक्षमा सवल हुनुपर्नेमा जोड दिएका थिए ।
आयोजक संस्था जिल्ला समन्वय समितिकी उप प्रमुख तारावती चौधरीको अध्यक्षता भएको कार्यक्रममा समितिका नासु कमला पौडेलको स्वागत मन्तब्य तथा माया ज्ञवाली र रुकैया खातुनको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा जिल्लामा कृयाशिल संघसंस्था माहुरी होम, सिद्धार्थ सामाजिक विकास केन्द्र, गैसस महासंघ कपिलवस्तु, दलित सामाजिक विकास संस्था, लिडो नेपाल, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, सनसाइन सामाजिक विकास संस्था, कालिका स्वावलम्बन सामाजिक केन्द्र, संवाद समूह, दियालो लगाएतका संघसंस्थाहरुले सहकार्य गरेका थिए ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं FacebookYouTube मा पनि जोडिन सक्नुहुन्छ ।