लुम्बिनी प्रदेशका पहाडी जिल्लामा पनि सुरु भयो कोरोना खोप अभियान

अर्घाखाँची ।
लुम्बिनी प्रदेशका पहाडी जिल्लामा पनि खोप अभियान बिहिबार देखि सुरु भएको छ । तराईका जिल्लामा बुधबारबाट सुरु भएको यो अभियान लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरु अर्घाखाँची ,गुल्मी,पाल्पा,प्युठान,रोल्पा र पुर्वीरूकुम जिल्लामा आज बिहिबार देखि कोरोना बिरूद्दको खोप अभियान सुरू भएको हो ।
लुम्बिनी प्रदेशको सामाजिक बिकाश मन्त्रालय स्वास्थ्य निर्देशनालयको यहि माग १२ गतेको निर्णय अनुसार प्रदेशको तराईका ६ जिल्लामा माग १४ गते देखि र पहाडी ६ जिल्लाहरूमा माग १७ गतेदेखि कोरोना बिरूद्दको खोप अभियान सुरू गर्ने भन्दै स्वास्थ्य निर्देशनालयले प्रदेशका सबै पहाडी जिल्लाका जनस्वास्थ्य कार्यालयलाई परिपत्र गरेको थियो । तर स्वास्थ्य मन्त्रालय काठमान्डौबाट पहाडी जिल्लाहरूमा पनि आजै बिहिबार देखिनै लक्षित समुहलाई कोरोना बिरूद्दको खोप लगाउन प्रदेश स्वास्थ्य निर्देशनालयलाई ताकेता गरि परिपत्र पठाएपछि लुम्बिनीका पहाडी जिल्लाहरूमा पनि बिहिबार देखि खोप अभियान सुरू भएको हो ।
पहिलो चरणको खोप कार्यक्रम अन्तर्गत पहाडी जिल्लामा सरकारले तोकेका अग्रपंक्तिमा खट्ने चिकित्सक , स्वास्थ्यकर्मीहरु , सरसफाईकर्मी, एम्बुलेन्स चालक, सव व्यवस्थापनमा खटिने समुहलाई खोप लगाउन शुरु गरिएको हो । अर्घाखाँचीमा जिल्ला अस्पतालका निमित्त प्रमुख डाक्टर जगदिश शर्माले पहिलो खोप लगाउनु भएको छ । जिल्लामा पहिलो खोप मैले लगाएँ । नराम्रो केही भएको छैन । खोप लगाउन पाउँदा धेरै खुशी लागेको वहाँले बताउनु भयो । वहाँले डर त्रास नमानि ढुक्क भएर सबैले कोरोना बिरूद्दको खोप लगाउन सुझाप दिनु भयो । जिल्लामा लक्षित बर्गमा खोप लगाउन सुरू गरिएको जिल्ला जनस्वास्थ्य निरिक्षक गणेशराज पौडेलले बताउनु भयो ।
अर्घाखाँची जिल्ला अस्पताल सन्धिखर्क, गुल्मी अस्पताल तम्घास, पाल्पा अस्पताल तानसेन, रामपुर अस्पताल पाल्पा,प्युठान सदरमुकाम अस्पताल, रोल्पा सदरमुकाम अस्पताल र पुर्वी रूकुम अस्पतालमा आज बिहिबार देखि कोरोना बिरूद्दको खोप लगाउन सुरू गरिएको हो । लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रमा मुख्यमन्त्री शंकर पोखरेलले बुधबार अभियानको सुभारम्भ गरेपछि लुम्बिनीका तराईका ६ जिल्लामा बुधबार देखिनै कोरोना बिरूद्दको खोप लगाउन सुरू गरिएको थियो ।
पहिलो खोप लुम्बिनी प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले लगाउनु भएको थियो ।
लुम्बिनी प्रदेशमा ३९ हजार ४९५ जनाको लागि ८७ हजार ६७९ डोज खोप आएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा. बिनोद कुमार गिरीले जानकारी दिनु भयो । भारतबाट १० लाख डोज खोप यहि माग ८ गते नेपालमा आएपछि सक्रमण फैलिएको ठिक एक बर्षपछि नेपालमा कोरोना बिरूद्दको खोप लगाउन सुरू गरिएको हो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं FacebookYouTube मा पनि जोडिन सक्नुहुन्छ ।