तिहारको मुख्य दिन आज भाइटीका

मंसिर १ काठमाडौ‌ं ।
नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन, आज भाइटीका।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्।

यमपञ्चकको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइँदैछ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ। भाइटीकाको टीका आज दिनभर लगाउन सकिने नेपाल पचांग निर्णायक समितिले जनाएको छ।

साइत खोज्नेका लागि भने मध्याह्न ११ बजेर ३७ मिनेटको समय उत्तम रहेको समितिले जनाएको छ। भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ। यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दाहिने पर्नेछ। शुभकर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ।

लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाराधना गरिन्छ। त्यसपछि दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परानुसार सप्तरंगी वा पञ्चरंगी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक परम्परा छ।

आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्धन पर्वत मानेर पूजा गरिएको छ। द्वापर युगमा श्रीकृष्णले हत्केलाले गोवद्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्धन पर्वतको पूजा गर्ने गरिन्छ। यस वर्ष तिथिको घटबढका कारण भाइटीकाको दिन गोवद्धन पूजा परेको हो। कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ। गोवद्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने भएकाले आजै गर्ने निर्णय गरिएको समितिले जनाएको छ।

आज बिहान प्रतिपदा तिथि हुँदै गोवद्धन पूजा गर्न समितिले आह्वान गरेको थियो। त्यसपछि भाइटीकाको तयारी थालिएको छ। यस वर्ष कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर भाइटीका लगाउन सरकारले अनुरोध गर्दै आएको छ।

तिहारका बेला देउसी भैलो खेलेर रमाइलो गर्ने प्रचन रहेपनि कोरोना महामारीका कारण समूहमा हुने सबै गतिविधि रोक लगाइएको छ। कोरोनाकै कारण यस वर्ष सबे चाडवाड प्रभावित भएका छन्। मेलाहरू स्थगित गरिएको छ।

प्रतिक्रिया