दाङमा पहिलो पटक सहकारी बजार सञ्चालन

कात्तिक २९ दाङ

नेपाललाई कृषि प्रधान देश भन्ने तर बाहिरबाट दाल चामल ल्याएर खानुपर्ने बर्तमान लाजमर्दो अवस्था अन्त्यका लागि सहकारी बजार प्रवद्र्धनमा लागेको मन्त्रि पौडेलको भनाई

दाङ, कार्तिक २९ । लुम्विनी प्रदेशका भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रि आरती पौडेलले कृषकले उत्पादन गरेका कृषिजन्यबस्तु बजारिकरणका लागि लुम्विनी प्रदेशका सवै जिल्लामा सहकारी बजारको शुरुवात गरिएको बताउनुभयो ।

सर्वेात्तम बहुउद्देश्यीय सहकारी संस्था दाङको ब्यवस्थापनमा घोराहीमा सञ्चालनमा आएको सहकारी बजारको उदघाटन गर्दै उहाँले कृषकको उत्पादनले बजार नपाउने र उपभोक्ताहरुले बाहिरि देशबाट आयात गरिएका कषि उपज महंगोमा किनेर खानुपर्ने अवस्थाको अन्त्यका लागि प्रदेशका १२ वटै जिल्लामा सहकारी बजार कार्यक्रम शुरु गरिएको बताउनुभयो ।

नेपाललाई कृषि प्रधान देश भन्ने तर बाहिरबाट दाल चामल ल्याएर खानुपर्ने बर्तमान अवस्था लाजमर्दो भएको भन्दै मन्त्रि पौडेलले त्यसको अन्त्यका लागि प्रदेश सरकारले किसानलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । किसानलाई उत्पादनमा जोड दिदै बजारसँग जोड्नका लागि लुम्विनी प्रदेशका सवै उपमहानगरपालिकामा ठूला सहकारी बजार, १ सय ९ वटै पालिकामा कृषि स्मार्ट कार्यक्रम, बजार क्षेत्रका लागि शहरी कृषि कार्यक्रम, रोड करिडोर कार्यक्रम, विद्यार्थीहरुलाई पढाईमा सहयोग गर्नका लागि पढ्दै कमाउदै कार्यक्रम, भैसी श्रोत केन्द्र लगायतका कार्यक्रम शुरु गरिएको बताउनुभयो ।

किसानले उत्पादन गरेका बस्तुले बजार नपाएर खेर गइरहेका बेला दाङमै पहिलो पटक कृषि तथा अग्र्यानिक बस्तु सस्तोमा दिनका लागि शुरु भएको सहकारी बजारलाई सफल बनाउन प्रदेश सरकारले सहयोग गर्ने भन्दै उहाँले किसानको उत्पादनले बजार नपाउने तर बाहिरबाट कृषि उपज आइरहने प्रबृत्तिको अन्त्य गर्न प्रदेश सरकार लागिपरेको दावी गर्नुभयो ।

सर्वोत्तम बहुउदेश्यीय सहकारी संस्थाले दाङका किसानहरुले उत्पादन गरेको बस्तु महंगोमा खरिद गर्ने र उपभोक्ताहरुलाई बजार मूल्य भन्दा सस्तोमा सामान दिने उद्देश्यले प्रदेश सरकारको सहयोगमा सहकारी बजार सञ्चालन ल्याइएको भन्दै मन्त्रि पौडेलले सहकारी बजारमा आफूले उत्पादन गरेका बस्तु बिक्रि गर्न आउने किसानहरुको बिवरण राख्न आग्रह गर्नुभयो । सहकारी बजारमा आफूले उत्पादन गरेका बस्तु बेच्ने किसानहरुलाई महमा प्रतिकिलो २५ रुपैया र तरकारीमा प्रतिकिलो २ रुपैया प्रदेश सरकारले अनुदान दिने भन्दै मन्त्रि पौडेलले सवै किसानको उत्पादनलाई बेच्ने केन्द्रका रुपमा सहकारी बजारलाई बिकास गर्नुपर्ने बताउनुभयो ।

सहकारी बजारमा सामान खरिद तर्फ भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्विनी प्रदेशको ४९ लाख ४९ हजार ९ सय ४८ रुपैया अनुदान र संस्थाको ५३ लाख ६० हजार ८ सय २८ गरी १ करोड ३ लाख १२ हजार ७ सय ७६ रुपैया सम्पत्ति खरिदतर्फ र चालु पूँजीतर्फ ४० लाख ५५ हजार ६ सय ५२ गरी कुल १ करोड ४३ लाख ६८ हजार ४ सय २८ रुपैयाको लागतमा बजार सञ्चालनमा ल्याइएको हो ।

दाङको केन्द्रविन्दु घोराहीको मूख्य ठाउँ तुलसीपुरचोकमा रहेको यस बजारमा स्थानीय उत्पादन, दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नहरु,अग्र्यानिक तरकारी तथा फलफूलहरु,दुध तथा दुग्धजन्य वस्तुहरु, तयारी तरकारी तथा खाद्यान्नहरु, स्थानीय तरकारी तथा खाद्यवस्तुहरु, पलाष्टिक भाँडाहरु, स्टेश्नरी तथा गिफ्टका समेत बस्तुहरु रहेका छन । सहकारी बजारले अनलाइनबाट खरिद, होम डेलिभरीको र डिजिटल भुक्तानीको माध्यमबाट कारोबार हुने ब्यवस्था गरिएको छ ।

सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था दाङका अध्यक्ष ध्रुवराज पौडेलको सभापतित्वमा भएको सहकारी बजारको उदघाटन कार्यक्रमका बिशिष्ट अतिथि दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसालले सहकारी बजारलाई कृषि उत्पादन बेचबिचखनको थलो बनाउनु पर्ने बताउनुभयो ।

जिल्ला सहकारी संघ दाङका अध्यक्ष गोविन्दप्रसाद शर्माले नयाँ सोच र लक्ष्यका साथ सवैको साझा थलोका साथ रुपमा सहकारी बजार शुरु गरिएको भन्दै यसलाई सफल बनाउन सवै लाग्नुपर्ने बताउनुभयो । कार्यक्रमका अर्का बिशिष्ट अतिथि नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले कृषिजन्य उत्पादन बाहिरबाट आइरहेको भन्दै त्यसको अन्त्य र अग्र्यानिक बस्तु उपभोक्तालाई सस्तोमा दिनका लागि सहकारी बजारको खुलेको भन्दै खुशी ब्यक्त गर्नुभयो ।

सहकारी बजार ब्यवस्थापन प्रमुख माधव खनालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, बहुउद्देश्यीय सहकारी संघ दाङका अध्यक्ष कृष्णप्रसाद गौतम, जिल्ला कृषि संघ दाङका अध्यक्ष पद्मा आचार्य, महिला उद्यमी शुशीला पौडेल लगायतका बोल्नु भएको थियो । कार्यक्रममा उपस्थितलाई सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष शालिकराम खनालले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सञ्चालक हेमराज शर्माले गर्नु भएको थियो ।

प्रतिक्रिया