बन्यो बित्तिय राजधानी रुपन्देही

सेयर गर्नुहोस्
119Shares

कार्तिक २९, ई–साझाकुरा

रुपन्देहीमा औद्योगिक तथा व्यावसायिक क्षेत्रमा लगानी बढ्दै छ । पूर्वाधार विकासका योजना थपिँदै छन् । यसले जिल्लामा बैंक तथा वित्तीय संस्थाको आकर्षण बढाएको छ । गत वर्ष मात्रै जिल्लामा १ सय २ शाखा थपिएका छन् । कर्जा र निक्षेपको सम्भावना बढ्दै गएपछि बैंकहरू थुप्रिएको राष्ट्र बैंक सिद्धार्थनगरले जनाएको छ ।जिल्लामा दुई वटा विकास बैंक र ११ वटा लघुवित्तका केन्द्रीय कार्यालय छन् । भैरहवामा राष्ट्र बैंकको कार्यालयसहित वाणिज्य बैंक, विकास बैंक, लघुवित्त र फाइनान्स कम्पनीका ५ सय १ वटा शाखा छन् । बैंक तथा वित्तीय संस्थाको संख्या काठमाडौंपछिको दोस्रो हो । जब कि अन्य आर्थिक र पर्यटकीय जिल्लामध्येका कास्कीमा १ सय ७२, ललितपुरमा २ सय १९, चितवनमा २ सय १७ र मोरङमा २ सय १४ वटा मात्रै बैंक तथा वित्तीय संस्थाका शाखा छन् ।

लगानीका क्षेत्र बढेकाले बैंकहरूको संख्या बढेको डेभलपमेन्ट बैंक एसोसिएसन केन्द्रीय कोषाध्यक्ष प्रदीपकुमार श्रेष्ठले बताए । ‘यहाँका व्यवसायी पनि लगानीमैत्री स्वभावका छन् । कर्जा सुरक्षित रहन्छ,’ उनले भने, ‘भन्सार नाका, औद्योगिक, व्यापारिक र शैक्षिक केन्द्र भएकाले आसपासका अन्य जिल्लाको स्रोत पनि भित्र्याउन र परिचालन गर्न सक्ने आशमा बैंकहरू बढिरहेका हुन् ।’ राष्ट्र बैंक सिद्धार्थनगरका अनुसार रूपन्देहीमा १६ लाख ९ हजार ५ सय ११ निक्षेप खाता छन् । बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनभन्दा बढी कर्जा प्रवाह गरेका छन् ।

निक्षेप र लगानीका हिसाबले पनि रूपन्देही काठमाडौंपछिको धेरै कारोबार हुने जिल्ला बनेको छ । लघुवित्तबाहेकका बैंकहरूले मात्रै आर्थिक वर्ष २०७५र७६ मा १० अर्ब ५२ करोड ७० लाख निक्षेप संकलन गरेर १ खर्ब ५१ अर्ब ६५ करोड ३० लाख रुपैयाँ लगानी गरेका थिए । आर्थिक वर्ष २०७६र७७ मा निक्षेप १ खर्ब ४५ अर्ब ९१ करोड ५० लाख पुगेको छ भने बैंकहरूले १ खर्ब ९७ अर्ब ४६ करोड ९० लाख रुपैयाँ लगानी गरेका थिए । बैंकहरूको सबैभन्दा धेरै लगानी औद्योगिक क्षेत्रमा ६८ अर्ब ४७ करोड रुपैयाँ छ । राष्ट्र बैंकका निर्देशक सुदीप फुयालले पछिल्ला वर्षमा लगानीको क्षेत्र फराकिलो बन्दै गएको बताए । ‘कृषि, सेवा र पर्यटन क्षेत्रमा पनि लगानी बढेको बढ्यै छ,’ उनले भने ।

लुम्बिनी प्रदेशको स्थायी मुकाम दाङ तोकिएको छ । यसअघि अस्थायी राजधानी रूपन्देहीमा थियो । राजधानी सरेर रूपन्देहीको आर्थिक गतिविधि र बैंकिङ लगानीमा असर नपर्ने लगानीबारेको अध्ययन गरिरहेका राष्ट्र बैंकका सहायक निर्देशक रमेश न्यौपानेको भनाइ छ । ‘संघीय सरकार र अन्तर्राष्ट्रिय स्तरका लगानीकर्ताको आकर्षण रहेको क्षेत्रको आर्थिक गतिविधिलाई प्रदेशको प्रशासनिक मुकाम सरेर फरक पर्दैन,’ उनले भने ।

बैंक तथा वित्तीय संस्था खुल्दै जाँदा रूपन्देही बैंकिङ हब बनेको छ । बैंकमा सर्वसाधारणको पहुँच बढ्न थालेको छ । उपभोक्ताले बैंक र सुविधा छानीछानी सहज रूपमा कर्जा लिने अवस्था बनेको छ । बैंकको संख्या र कारोबार बढेपछि लुम्बिनी प्रदेश सरकारले समेत रूपन्देहीलाई वित्तीय राजधानी बनाउने घोषणा गरेको छ । भैरहवामा रहेको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीमा छ । विशेष आर्थिक क्षेत्रसहित जिल्लामा ठूला उद्योग र लुम्बिनी आसपासमा तारे होटल खुल्दै छन् । यसले रूपन्देहीमा बैंक र तिनको लगानी झनै बढ्ने राष्ट्र बैंकको अनुमान छ । ‘ठूला र घरानियाँ व्यवसायी भित्रिने क्रम तीव्र छ,’ राष्ट्र बैंकका सहायक निर्देशक न्यौपानेले भने, ‘यसले बैंक तथा वित्तीय संस्था अझ फैलिने निश्चित छ ।

स्रोत : ईकान्तिपुर

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट ओली विरूद्धको एकल प्रस्ताव फिर्ता गर्नुहोस् : पोखरेल
अगिल्लो पोस्ट अमेरिकी राष्ट्रपति ट्रम्पले लगाएको ‘चुनावमा धाँधली’ आरोप खारेज