प्राविधिक कलेजका नाममा महायज्ञ, तीन वर्ष वित्यो बनेन कलेज

सेयर गर्नुहोस्
339Shares

राजेन्द्र खनाल/ कपिलवस्तु

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित जिनुवामा आयोजना गरिएको भव्य श्रीमदभागवत धनधान्याञ्चल ज्ञान महायज्ञ सम्पन्न भएको तीन वर्ष भन्दा बढी भयो । तर महायज्ञको उद्धेश्य एक प्रतिशत पनि पुरा नहुँदा भने अहिले सवत्र आलोचना भईरहेको छ । पछिल्लो पटक सामाजिक संजालमा यो विषयले स्थान पाईरहेको छ तर सम्बन्धित निकायका व्यक्तिहरु अहिले पनि मौन रुपमा छन् ।

प्राविधिक शिक्षालय स्थापनाको उद्धेश्य सहित वि.सं. २०७४ साल असोज २५ गते देखि कात्तिक १ गते सम्म महायज्ञको आयोजना गरिएको थियो । श्री शुद्धोधन जन जीवन माध्यमिक विद्यालयका तत्कालिन प्रधानाध्यापक अफाक अहमद खाँको अध्यक्षतामा पहिलो पटक बसेको बैठकले सोही विद्यालयलाई आधुनिकीकरण गरि प्राविधिक धारको शिक्षामा रुपान्त्रण गर्ने उद्धेश्य लिएको थियो । साथै विद्यालयलाई व्यवस्थित बनाउने र भलवाड सँगै छिमेकी जिल्ला अर्घाखाँची सम्मका विद्यार्थीहरुलाई प्राविधिक शिक्षा प्रदान गर्ने सोच बनाइएको थियो ।

प्रधानाध्यापक खाँको अध्यक्षतामा बसेको बैठकले श्रीमद भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ मूल आयोजक समितिको अध्यक्षमा स्थानिय समाजसेवी दिपक कुमार थापा चयन भएका थिए भने सो समितिको निर्देशक कुमार मधु बेल्बासे, महासचिवमा सोही विद्यालयकी शिक्षक राम प्यारी पौडेल, बरिष्ट उपाध्यक्षमा नारायण खनाल, ज्योतिष खेमराज पौडेल, चुरामणी आचार्य, दुर्गा प्रसाद चालिसे, त्यस्तै महिला उपाध्यक्षमा केशरा गुरुङ र लिला घिमिरे, सचिवमा एकनारायण पौडेल र जन्जिर प्रसाद चौधरी, सहसचिव नेत्र प्रसाद खनाल, कोषाध्यक्षमा लाल बहादुर खडका सहितको मुल समिति गठन गरेको थियो । सो समितिको निर्णय अनुसार पण्डीत दिनबन्धु पोख्रेलका पिता पण्डीत नारायण पोख्रेलको सपना साकार पार्न भन्दै जिनुवामा महायज्ञको आयोजना गर्ने र सो महायज्ञमा दिनबन्धु पोख्रेललाई मुख्य कथावाचकको रुपमा प्रस्तुत गरेको थियो । २०७४ असोज २५ गते देखि कात्तिक १ गते सम्म संचालन गरिएको महायज्ञमा विशेष गरी प्राविधिक शिक्षा संचालन गर्ने र भलवाडबाट शिक्षाको विकास गर्ने नारा दिईएका कारण भलवाड मात्रै नभई विभिन्न क्षेत्रका व्यक्ति र संघसंस्थाहरुले लाखौँ रकम दान स्वरुप सहयोग गरेका थिए । सो महायज्ञबाट झण्डै रु . एक करोड भन्दा बढी रकम संकलन समेत भएको महायज्ञ पश्चात गरिएको एक पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको थियो । तर वर्षै वितिसक्दा पनि प्राविधिक शिक्षा संचालनको एक प्रतिशत काम पनि हुन सकेको छैन ।

महायज्ञको मुल डिजाईन गर्न प्रधानाध्यापक खाँको अध्यक्षतमा बसेको बैठकमा सहभागि भएकाहरु मध्ये महायज्ञका सह कथा बाचक ध्रुब सहण बस्याल, राष्ट्रनिर्माण फाउण्डेसन नेपालका सन्तोष न्यौपाने, वडा नं ९ का वडा अध्यक्ष ध्रुब बेल्बासे, विद्यालयका संस्थापक नन्दबहादुर कुवर, त्यस्तै प्रेम घिमिरे, ओमलाल गिरी, मन्जु भुषाल, रोमबहादु खत्री, बलराम आचार्य, जित बिकास रायमाझी, लक्ष्मी भुषाल, शंकर प्रसाद आचार्य, रामप्यारी पौडेल , तिलकराम पौडेल लगायत थिए । उनीहरु समेत महायज्ञको हिसबा र त्यसको लक्ष्य र उद्धेश्य सँग अनविज्ञ जस्तै छन् ।

महायज्ञ सम्पन्न भईसकेको तीन वर्ष वितिसक्दा पनि महायज्ञमा संकलित रकमको पारदर्शी हिसाब सार्वजनिक हुन नसक्दा अहिले भलवाडमा आयोजक समितिको चर्काे आलोचना भईरहेको छ । आयोजक समितिका अध्यक्ष दिपक कुमार थापाले अब तिहार पछि छिट्टै बैठक आह्वान गर्ने र काम अगाडी बढाउने बताए ।

सो महायज्ञ संचालन अवधि भित्र भलवाडका हरेक परिवारले आफुसक्दो आर्थिक सहयोग प्रदान गरेका छन भने ठूलो मात्रामा खाद्यान्न संकलन पनि भएको थियो ।

विषय सामाजिक संजालमा छताछुल्ल

पछिल्लो साता भलवाडका युवा समाजसेवी प्रेमनाराण पाण्डेले आफ्नो सामाजिक संजाल फेसबुकमा महायज्ञको विषयलाई जोडेर लेखेको विषयमा भलवाडका भद्रभलाद्मीहरुले समेत प्रतिक्रिया जनाएका छन् ।

पाण्डेले फेसबुकमा लेखेका छन् । “इन्जिनियरिङ कलेज निर्माणार्थ बाचन शिरोमणि दिनबन्धु पोख्रेलको प्रमुख आथिथ्यता सङ्गै संचालित महायज्ञमा संकलन भएको सम्पुर्ण रकमको पुर्ण बिवरण तिहार पछी पत्रकार सम्मेलन गर्दै सार्बजनिक गरिने कुरा सम्बन्धित कार्यक्रमका अध्यक्षले हामीलाइ फोन मार्फत जानकारी गराउनु भएको छ। हामी चाहन्छौं उक्त कार्यक्रममा भलवाड भित्रका सम्पुर्ण जिम्मेवार युवाहरुको उल्लेख्य उपस्थिति होस् युवाहरुको सुनुवाइ होस् ।

हामी यो पनि चाहन्छौं । बिवरण सार्बजनिक हुदैगर्दा कागजी लिस्ट मात्र सार्बजनिक नहोस् । तपाईं जत्ति दानबिर हुनुहुन्छ तपाईं हरुले अर्पनु भएको रकम पनि सार्वजनिक होस् । सक्छ पुरानै कार्यसमिति ले उक्त कार्य ९ इन्जिनियरिङ क्याम्पस निर्माणकार्य ० सम्पन्न गरोस् सक्दैन समिती विघटन होस् रकम हामीलाइ ह्याण्डओभर गरियोस् उदेश्यको DPR हामीलाई हस्तान्तरण गरियोस् तपाइहरुले ९आदरणीय अग्रज०देख्नुभएको सपना हामीले बिपना बनाउछौँ । बस् तपाइँहरुमा एत्तिमात्र ताकत राख्नुस् कि अब भलवाड को जिम्मा हामी युवाहरूलाई सुम्पिन्छौं ।

र युवाहरूलाई पनि आव्हान गर्न चाहन्छौं यो स्टाटस ले तपाईं सबैका महायज्ञ सम्बन्धि सकारात्मक प्रतिक्रिया को ओइरो लाग्ने छ १ अनि संबंधित सबैले यो बिषयमा हामीलाइ सकारात्मक सल्लाह दिनुहुने छ १”

पाण्डेले लेखेको यो विषय प्रति भलवाडका सामाजिक अभियान्ताहरु सँगै विभिन्न राजनैतिक दलका नेता तथा कार्यक्रताहरुले समेत चाँसो व्यक्त गरेका छन् ।

स्थानिय समाजसेवी तथा जसपा केन्द्रिय सदस्य नारायण खनालले सो विषय प्रति लेखेका छन्, “गाउँको मुख्य शाषक बर्ग र प्रमुख प्रतिपक्ष दलको बिगत तीन बर्ष देखि प्राथमिकताको सुचिमा नपरेको ज्यादै महत्त्वपूर्ण मात्रै होइन, अति संबेदनसिल र समय सान्दर्भिक बिषयबस्तुको बारेमा सामाजिक संजाल फेशबुक मार्फत चिन्ता ब्याक्त गर्दै सरोकारबाला लाई यस बिषयमा अहिलेसम्म को आय र ब्याय सहित आफनो धारणा सार्बजनिक गर्न अपिल गर्नु भएको कुरा प्रति मेरो गंभिर ध्यानाकर्षण भएको छ ।”

उनले कुनै पनि बिषय जनस्तरमै उठिसके पछि त्यसको तातोतातो जवाफ सामाजिक संजालमा उठका विषय यथार्थपरक रहेको र जायज रहेको बताएका छन् । गाउँमा प्राबिधिक शिक्षालयका निम्ति गाउँका आम नागरिकहरुले आफ्नो बालबालिकाहरुको गास काटेर, एउटा उत्शाहका साथ , उमङ्गका साथ , नाच्दै ,गाउदै , हास्दै ,बजाउँदै करोड भन्दा बढी सहयोग गरेका भए पनि यहाँको नेतृत्व शत्ताको दम्भ, घमण्ड ,अहंकारले चुर चुर भएको, प्रतिपक्ष भनिएको ठालु शत्ताको चाकडी गरेर जिबिकोपार्जन गर्ने कुटिल खेलमा लम्पट भएकोले यो बिषयले प्राथमिकता नपाएको प्रतिक्रिया जनाएका छन् ।

त्यस्तै स्थानिय समाजसेवी तथा राप्रपा नेपालका केन्द्रिय सदस्य धुव्र रायमाझीले लेखेका छन्, बिगत १४ बर्षको बिचमा जनप्रतिनिधि नभएको समयमा सर्बदलिय संयन्त्र संन्चालित भलवाडमा भएका बिकस निर्माण बारे अनुसन्धान र हाल यस वाडमा भएका समुदाय बन र खोला नाला बाट प्राप्त आमदानी र तिनको खर्चको बारे अनुसन्धान गर्न युवाहरुलाई आह्वान गरेका छन् । भलवाडको बिकासमा यहि स्रोत नै सहि ठांउमा सहि उपयोग भए मात्र पुग्ने उनको विचार व्यक्त भएको छ ।

त्यस्तै स्थानिय समाजसेवी रोमबहादुर खत्रीले लेखेका छन्, हिजो जुन उत्साहा थियो त्यो पूरा नहुदा भलवाडका जनता आक्रोसित छन ।

शुद्धोधन जनजीवन माविलाई प्राविधिक शिक्षालयमा रुपमान्त्रण गर्ने अभियानका लागि स्थानिय समाजसेवी देखि समान्य नागरिकहरुले नगद दान, भूमी दान, अन्नदान, र श्रमदान गरे, तर आफ्नो दानको कुनै लेखाजोखा नहुँदा भने भलवाडको नेतृत्वप्रति नागरिकहरुको वितृष्णा पैदा भएको छ ।

नागरिकहरुलाई कथावाचन र नाचगानमा लठ्ठ पार्दै एक हप्ता सम्म रकम जम्मा गर्ने ध्याउन्नमा लागेको आयोजक समिति तीन वर्ष सम्म मौन र निष्कृय भई बसको छ ।

यस्तो थियो समितिको आर्थिक विवरण

तत्कालिकन समयमा महायज्ञ सम्पन्न भएको करिब ६ महिना पछि महायज्ञ मुल आयोजक समितिले लुम्बिनी दर्र्पण राष्ट्रिय साप्ताहिक मार्फत आम्दानी खर्च विवरण सार्वजनिक गरेको थियो । जस अनुसार कुल १ करोड ३६ लाख १८ हजार ९ सय ६० रुपैँया ११ पैसा आम्दानी भएको जनाएको थियो । सो मध्ये ३५ लाख २३ हजार ३६२ रुपैँया मात्रै नगद रकम जम्मा भएको थियो । महायज्ञ संचालन अवधिभर सहयोग गरेका दाताहरु बाट अब रु. १ करोड ७१ लाख ३२८ रुपैँया ११ पैसा रकम उठाउनुपर्ने देखिएको छ । तर मुल आयोजक समिति भने निस्कृय बनेको छ । महायज्ञ अवधिभर ३८ लाख ४४ हजार ७ सय रुपैँया नगद खर्च भएको र ३ लाख २१ हजार ३३८ रुपैँया अझै तिर्न बाकीँ रहेको देखाइएको छ ।

महायज्ञ संचालन अवधिभर विभिन्न शिर्षकमा गरी सो रकम खर्च भएको मुल आयोजक समितिले जनाएको छ । महायज्ञ सम्पन्न भएको लामो समय भई सक्दा पनि यसको आवस्यक सक्रिता नदेखिदा उठेको रकम पनि हिनाबिना भएको भन्दै धेरैले आलोचना गर्ने गरेका छन् । नगद उठेको रकम भन्दा खर्च बढी हुँदा पनि सम्बन्धित निकाय मौन बस्दा आर्थिक पारदर्शीता नभएको भन्दै अहिले संङ्का समेत उत्पन्न भएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट प्रिमियर लिगमा आर्सनलको लज्जास्पद हार
अगिल्लो पोस्ट हिरासतमा मोबाइल चलाएको भन्दै अर्नब गोस्वामीलाई जेल चलान