तिहारका लागि २० करोडको झिलिमिली बत्ती आयात

सेयर गर्नुहोस्
0Shares

कात्तिक १६, काठमाडौ

विगतका वर्षहरुमा जस्तो यस पटकको तिहारमा झिलिमिली बत्तीको आयात कम हुने देखिएको छ । तिहार आउन झण्डै दुई साता बाँकी हुँदा झिलिमिलि बत्तीको आयातमा व्यवसायीहरु उदासिन देखिएका छन् ।
तिहार भन्ने बित्तिकै झिलिमिलीको चाड भन्ने बुझिन्छ । माटाका पाला, विद्युतीय बत्ती, पटाका आदि तिहारका विशेषता हुन् । तिहारमा नेपालीहरुले सबैभन्दा बढी विद्युतीय बत्ती प्रयोग गर्छन् । तर, यस पटक कोरोना कहरले गर्दा व्यापार धेरै नहुने भएकाले व्यवसायीहरु नयाँ विद्युतीय झिलिमिली बत्ति आयात धेरै नगर्ने मनस्थितिमा पुगेका हुन् ।

यसवर्षका लागि हालसम्म झण्डै २० करोड रुपैयाँ बराबरको मात्र तिहार लक्षित विद्युतीय बत्ती आयात भएको नेपाल विद्युतीय व्यवसायी महासंघको अनुमान छ । महासंघमा आवद्ध नभएका व्यवसायीहरुले पनि थोरै आयात गरेको बुझिएको छ । विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुर्दशन प्रसाद पौड्यालले गत वर्षको भन्दा यसवर्ष ४० प्रतिशत कम विद्युतीय बत्ती आयात भएको बताए ।

यस वर्षको तिहार लक्षित बत्ती करिब २० करोड रुपैयाँ जतिको आयात भएको पौड्यालले बताए । गत वर्ष झण्डै ४० करोड रुपैयाँको विद्युतीय बत्ती आयात भएको थियो । महासंघका अनुसार आयात गर्नुपर्ने बत्ती लगभग आयात भइसकेको छ । केही आउनेक्रममै बाटोमा रहेको छ ।

यता महासंघका बरिष्ठ उपाध्यक्ष समेत रहेका व्यवसायी रेशम प्रसाद देवकोटाले कतिपय गत वर्षकै स्टक बत्ती पनि यस पटकको तिहारमा बिक्री गरिने बताए । उनका अनुसार विद्युतीय बत्तीको व्यापार यसपटक खुम्चिएकाले व्यवसायीहरुको दोधारमा रहेका छन् । सामान बिक्री हुने÷ नहुने अनिश्चितता बढेपछि व्यवसायीहरुले थप बत्ती आयात गर्ने अवस्थामा नरहेको उनले बताए । ‘यो भन्दैमा आयात शून्य मै भने झरेको छैन । गत वर्षको भन्दा निकै कम मात्र आयात भएको छ’, उनले बताए ।

एकातर्फ केरुङ नाकामा महिनौँ दिनदेखि सामान अड्किएर बसेको छ भने अर्कोतर्फ व्यवसायीसँग नयाँ सामान खरिद गर्ने रकम नभएपछि तिहारमा बत्ती कम आयात भएको व्यवासायीहरु बताउँछन् ।
पहिला पहिला माटाका पाला, मैनबत्ती, केराको सुप्लामा बालिने कपासको बत्तीले गाउँसहर झिलिमिली बन्थ्यो । तर, यी सामाग्रीमा भन्दा रङ्गीचङ्गी विद्युतीय बत्तीमा आकर्षण रहेको र लोडसेडिङको समस्या पनि हटेपछि विद्युतीय बत्तीमा मानिसहरु आकर्षित भएको देखिन्छ ।

तिहारमा मात्र होइन अन्य समयमा पनि होटल, रिसोर्ट, शहर बजारका व्यापारिक केन्द्र रङ्गीचङ्गी विद्युतीय बत्तीमा सजिन्छन् । बढ्दो देखासिकीले पनि शहर बजारतिर तिहारमा विद्युतीय झिलिमिली बत्ती नबलेका घरहरु कमै हुन्छन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट बाघको आक्रमणबाट पुरुषकोे मृत्यु
अगिल्लो पोस्ट भारतीय सेनाध्यक्ष नरभानेको नेपाल भ्रमण खारेज गर्न २१ दलहरुको माग