नाटकीय रुपमा विकेट पतन हुँदा लो-स्कोरिंग खेलमा पन्जाबद्वारा हैदरावाद पराजित

कार्तिक ९, ई–साझाकुरा

आईपीएल २०२० अन्तर्गत शनिवारको दोश्रो तथा लिगको ४३ औं खेलमा किंग्स-११ पन्जाबले सनराइजर्स हैदरावादलाई १२ रनले पराजित गर्दै लगातार चौथो जित दर्ता गरेको छ। दिनको पहिलो खेलमा कोलकाताले दिल्लीलाई पराजित गरेको थियो ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा पहिले ब्याटिंग गर्दै पन्जाबले दिएको १२७ रनको लक्ष्य पछ्याउने क्रममा हैदरावादले १९.५ ओभरमा सबै विकेट गुमाएर ११४ रन मात्र बनाउन सक्यो।

आईपीएल इतिहासमा हैदरावादले पछ्याउन नसकेको यो सबैभन्दा सानो लक्ष्य हो। पन्जाबले यो लिग इतिहासमा रक्षा गरेको दोश्रो सानो योगफल हो। यस अघि उसले २००९ मा मुम्बईलाई ११९ रनको लक्ष्य रक्षा गरेको थियो।

हैदरावादको लागि कप्तान डेभिड वार्नरले २० बलमा ३५ रन बनाए जुन क्रममा ३ चौका र २ छक्का प्रहार गरे। विजय शंकरले २७ बलमा ४ चौका मद्दतले २६, जोनी बेयरस्टोले १९ तथा मनिष पाण्डेले १५ रन बनाए।

वार्नर र बेयरस्टोले अर्धशतकीय साझेदारी गरे

ओपनर डेभिड वार्नर र जोनी बेयरस्टोले अर्धशतकीय साझेदारी गर्दै हैदरावादलाई राम्रो सुरुवात दिलाए। सातौँ ओभरमा वार्नरलाई लेग स्पिनर रभी बिस्नोइले विकेटकिपर केएल राहुलबाट क्याच आउट गराएर साझेदारी तोडे। लगत्तै ओभरमा बेयरस्टोलाई मुरुगन आश्विनले बोल्ड गरे भने त्यसपछिको ओभरमा अब्दुल समदलाई मोहम्मद शामीले क्याच आउट गराए।

६७/३ को अवस्थाबाट मनिष पाण्डे र विजय शंकरले ३३ रनको साझेदारी गरे र टिमको योगफल १०० पुर्याए। जितको लागि २४ बलमा २७ रन आवस्यक भएको बेला १७ औं ओभरको पहिलो बलमा क्रिस जोर्डनले पाण्डेलाई क्याच आउट गराएर। लगत्तै ओभरमा अर्शदिप सिंहले विजय शंकरलाई पनि विकेटकिपर राहुलबाट क्याच आउट गराए जसपछि खेलले रोमान्चक मोड लियो।

जोर्डनको ओभरले खेलमा नाटकीय परिवर्तन 

अन्तिम २ ओभरमा जित्न हैदरावादलाई १७ रन आवस्यक रह्यो। १९ औं ओभरको तेश्रो र चौथो बलमा जोर्डनले जेसन होल्डर र राशिद खानलाई क्याच आउट गराउदै पन्जाबलाई खेलमा हावी गराए। ओभरमा जोर्डनले मात्र ३ रन खर्चेर २ विकेट लिए।

१९ औं ओभरमा जोर्डनले मात्र ३ रन खर्चेर २ विकेट लिए

अन्तिम ओभरमा जित्न हैदरावादलाई १४ रन आवस्यक रह्यो र साथमा थियो ३ विकेट।

अन्तिम ओभरको पहिलो बलमा १ रन दिएपछि दोश्रो बलमा अर्शदिप सिंहले मुरुगन आश्विनलाई क्याच आउट गराए। लगातार बलमा सिंहले प्रियम गर्गलाई पनि क्याच आउट गराए। त्यसपछि पाँचौ बलमा खलिल एहमदलाई रभी बिस्नोइले रन आउट गर्दा हैदरावाद अलआउट भयो।

एक समय १३.३ ओभरमा १०० रनमा ३ विकेट गुमाएको हैदरावादले थप १४ रन जोड्दा ७ विकेट गुमाउन पुग्यो।

पन्जाबको बलिंगमा क्रिस जोर्डन र अर्शदिप सिंहले समान ३ विकेट लिए। जुन क्रममा जोर्डनले ४ ओभरमा १७ रन खर्चिए भने अर्शदिपले ३.५ ओभरमा २३ रन खर्चिए।  रभी बिस्नोइ ( ४-०-१३-१ ) ,मोहम्मद शामी ( ४-०-३४-१ ) र मुरुगन आश्विन ( ४-०-२७-१ ) ले समान १ विकेट लिए।

पन्जाबको ब्याटिंग 

यस अघि टस हारेर ब्याटिंग गरेक पन्जाबले २० ओभरमा ७ विकेट गुमाएर १२६ रन बनएको थियो।

पन्जाबको लागि निकोलस पुरनले सर्वाधिक ३२ रन बनाए जुन क्रममा अविजित रहने क्रममा २८ बलमा २ चौका प्रहार गरे। केएल राहुलले २७ रन, क्रिस गेलले २० रन, मन्दिप सिंहले १७ रन तथा ग्लेन म्याक्सवेलले १२ रन बनाए।

निकोलस पुरनले अविजित ३२ रन बनाए

पन्जाबको लागि मायाँक अग्रवालको स्थानमा मौका पाएका ओपनर मन्दिप सिंहसंग कप्तान राहुलले ३७ रनको ओपनिंग साझेदारी गरे। पाँचौ ओभरमा सन्दिप शर्माले साझेदारी तोड्ने क्रममा सिंहलाई क्याच आउट गराए। त्यसपछि राहुलले क्रिस गेलसंग २९ रनको साझेदारी गरे। दशौँ ओभरमा गेललाई जेसन होल्डरले क्याच आउट गराएर साझेदारी तोडे।

त्यसपछि पन्जाबले लगातार विकेट गुमाउन पुग्यो। ११ औं ओभरको पहिलो बलमा राहुललाई राशिद खानले बोल्ड गरे। ग्लेन म्याक्सवेल १२ रन बनाएर सन्दिपको दोश्रो शिकार बने। लगत्तै ओभरमा खाता नखोलेका दिपक हुडालाई राशिदले स्टम्प आउट गराए। चौथो नम्बरमा आएका निकोलस पुरनले एक किनार सम्हालेर अन्तिमसम्म ब्याटिंग गरे।

हैदरावादको बलिंगमा राशिद खानले २ विकेट लिने क्रममा ४ ओभरमा मात्र १४ रन खर्चिए। सन्दिप शर्मा ( ४-०-२९-२ ) र जेसन होल्डर ( ४-०-२७-२ ) ले पनि समान २ विकेट लिए। खलिल एह्मद ( ४-०-३१-० ) र टि नटराजन ( ४-०-२३-० ) विकेटविहिन रहे।

अंकतालिका र आगामी खेल 

जितपछि पन्जाब ११ खेलमा ५ जित र ६ हार बेहोर्दै १० अंकको साथ अंकतालिकाको पाँचौ स्थानमा उक्लेको छ। लिगमा पन्जाबको यो लगातार चौथो जित हो। हारपछि हैदरावाद भने ११ खेलमा ४ जित र ६ हारपछि ८ अंक सहित छैठौं स्थानमा झरेको छ। कोलकाता १२ अंक सहित चौथो स्थानमा रहेको छ।

जितपछि पन्जाबले प्ले-अफ पुग्ने सम्भावना कायमै राखेको छ जसले अब बाँकी ३ खेलमा २ जित दर्ता गरे प्लेअफ पक्का हुनसक्छ। हैदरावादले भने प्लेअफ पुग्न अब बाँकी ३ वटै खेल जित्नु पर्नेछ।

लिग अन्तर्गत हैदरावादले आगामी खेल दिल्ली बिरुद्ध बिहिबार खेल्नेछ भने पन्जाबले सोमबार कोलकाता बिरुद्ध खेल्नेछ।

आइतबार पनि २ खेल हुनेछन्। पहिलो खेलमा बैंगलोर र चेन्नाई तथा दोश्रो खेलमा राजस्थान र मुम्बईले प्रतिस्पर्धा गर्नेछन्। भोलि मुम्बई र बैंगलोरले जिते प्ले-अफमा स्थान पक्का गर्नेछ।

प्रतिक्रिया