बलात्कारपछि त्रिशूलले रोपेर बीभत्स हत्या

ई–साझाकुरा, असोज १६

झाङ मस्टा गाउँपालिका–२ कि १२ वर्षीया सम्झना विश्वकर्माको बलात्कारपछि त्रिशूलले रोपेर हत्या गरेको पक्राउ परेका राजेन्द्र बोहराले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

बुधबार साँझ करिब ४ बजे गोठमा गाईवस्तुलाई घाँस हाल्न घरबाट निस्किएकी उनी घर फर्किनन् । राति करिब ९ः१५ बजे आफन्तले बालिकाको शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटना भएको राति नै प्रहरीले मस्टा गाउँपालिका–२ का राजेन्द्र बोहरालाई पक्राउ गरेको थियो । उनीमाथि जबरजस्ती करणी र कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको छ । अनुसन्धान र छानबिनको क्रममा उनले बलात्कार र हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ ।

‘बोहराले घटना आफूले घटाएको स्वीकार गरिसकेका छन्,’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले अनलाइनखबरसँग भने ‘उनले ढुंगाले हानेर र त्रिशूल रोपेर बालिकाको हत्या गरेको बताएका छन् ।’ घटनास्थलबाट प्रहरीले त्रिशूलसमेत बरामद गरेको छ ।

बुधबार साँझ करिब ४ बजेदेखि ५ बजेको बिचमा बालिकामाथि बलात्कार भएको  र घटना बाहिर आउने डरले हत्या गरिएको प्रहरीले जनाएको छ ।

हत्याको स्वीकार गरिसकेका बोहरा यसअघि पनि बिभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार साउन २९ गते सोही ठाउँकी १३ वर्षीया बालिकालाई समेत बोहराले बलात्कार गरेका थिए । तर, ३१ गते आफन्तहरूसँग बसेर मिलापत्र गरिएको थियो ।

बोहराले गल्ती भएको भन्दै ५०० रुपैयाँ राखेर पीडित बालिकाको खुट्टा ढोगेपछि मिलापत्र गरेको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले जानकारी दिए । ‘त्यो बेला उनीमाथि कारबाही भएको भए यस्तो जघन्य अपराध हुने थिएन । पहिलो पटक घटना मिलाएपछि अपराधीको मनोबल बढेको हो,’ उनले भने ।

सम्झनाको बलात्कारपछि हत्या भएको चार दिनपछि २९ साउनको घटनालाई लिएर बालिकाका अभिभावकले प्रहरीमा जाहेरी दर्ता गराएको जिल्ला जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रूपक खड्काले बताए । बलात्कारको घटना मिलाउने व्यक्तिहरुलाई समेत कारबाही हुने उनले बताए । ‘उहाँहरूलाई मतियार मानेर कारबाही हुन्छ,’ उनले भने, ‘अहिलेसम्म पक्राउ गरेका छैनौँ । तर, तत्काल पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढ्छ ।’

पहिलो घटना मिलाउन संलग्न रहेका ६ जनाविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने उनले बताए ।

मस्टा गाउँपालिका–२ का वडाध्यक्ष शेरबहादुर खड्काले पनि बलात्कार र हत्या आरोपमा पक्राउ परेका बोहरा विगतदेखि नै आपराधिक क्रियाकलापमा रहेको बताए ।

‘उनी चोरीका बिभिन्न घटनामा समेत संलग्न रहेको पाइएको छ । तर, कसैले उजुरी गरेका छैनन्,’ उनले भने, ‘सानो घटना भन्दै लुकाउँदै गर्दा बिभत्स घटना भयो ।’

आठ दिनपछि दाहसंस्कार

बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया बालिकको आठ दिनपछि दाहसंस्कार गरिएको छ ।

२० वर्षीय राजेन्द्र बोहरालाई आरोपितका रुपमा सार्वजनिक गरेपछि जिल्ला अस्पतालमा राखिएको बालिकाको शव आफन्तले बुझेका हुन् । उनीहरुले दोषिमाथि कडा कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया