कोरोना संक्रमणबाट वीरगन्जमा एकै दिन ३ जनाको मृत्यु

सेयर गर्नुहोस्
8Shares

ई–साझाकुरा, भदौ १३

कोरोना संक्रमणबाट वीरगन्जमा थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा एक महिला तथा दुई जना पुरुष रहेका छन् ।

काेराेनाबाट वीरगन्ज महानगरपालिका वडा नं. १२ बस्ने ६५ वर्षीय महिला, सोही ठाउँ बस्ने ४३ वर्षीय पुरुष तथा वीरगन्ज महानगरपालिका वडा नंं. २६ मनियारी बस्ने ३७ वर्षीय पुरुषकाे मृत्यु भएकाे हाे ।

उच्च रक्तचापको समस्याबाट पीडित महिलाको शुक्रबार साँझ साढे ५ बजेको समयमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए । उनका अनुसार मृतक महिलामा  ‘वाइड जिन एक्स्पर्ट’ विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी वीरगन्ज महानगरपालिका वडा नं. १२ बस्ने ४३ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार राति करिब ११ः५५ बजेको समयमा मृत्यु भएको डा. चौरसियाको भनाई छ । उनका अनुसार एचआईभी र हेपाटाइटिस बीले ग्रसित उक्त पुरुषको नेशनल मेडिकल कलेजमा उपचार भइरहेकोमा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार मात्रै उनलाई वीरगञ्ज कोभिड अस्पताल हेल्थ केयरमा ल्याइएको थियो । कोभिड अस्पतालमा सिकिस्त अवस्थामा ल्याइएको केही बेरमै उनको मृत्यु भएको प्रवक्ता डा. चौरसियाले बताए ।

यसरी नै अर्का एकजना वीरगन्ज महानगरपालिका- २६ मनियारी निवासी २७ वर्षीय पुरुषलाई थप उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । नारायणी अस्पतालका प्रवक्ता डा. चौरसियाका अनुसार ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखि तराई अस्पतालमा उपचार भएकाे र उनमा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार दिउँसो कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरमा भर्ना गरिएको थियाे । स्वास्थ्य अवस्था गम्भीर भएपछि काठमाडाैँं रेफर गरिएको थियो ।

काठमाडौं रेफर गरेपश्चात तत्काल तराई अस्पतालकै एम्बुलेन्समा भेन्टिलेटर र क्रिटिकल केयरमा काम गर्ने स्वास्थ्यकर्मीसहित थप उपचारका लागि काठमाडौं लैजाने क्रममा मुग्लिन पुग्दासम्म राति ११ः४१ बजे निजको मृत्यु भएको डा. चौरसियाले जानकारी दिए ।

यससँगै कोरोना संक्रमणबाट पर्सामा मृत्यु हुनेको कुल संख्या ३६ पुगेको छ । कोरोना संक्रमणबाट वीरगन्जसहित अन्य जिल्लाका निवासी तर वीरगन्जको अस्पताल उपचारका क्रममा मृत्यु हुनेको संख्या भने ४८ पुगेको छ । जसमा बाराका १० जना र रौतहटका २ जना रहेका छन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।