सरकारी अस्पतालको हबिगत : प्राथमिक उपचार पनि हुन छाड्याे

सेयर गर्नुहोस्
248Shares

ई–साझाकुरा, भदौ १२

कमलबारीकी पार्वती पन्थले बुधबार साँझ कुनै जीवले टोकेको महसुस गरिन् । उनलाई उपचारको लागि व्यास- ३ स्थित दमौली अस्तालमा ल्याइयो । तर अस्पतालमा उनलाई लगाउने भ्याक्सिन नै पाइएन । त्यसपछि उनलाई चितवनमा रहेको भरतपुर अस्पताल जान भनियाे । उनले भनिन्, “साँझतिर सर्पले टोकेको जस्तो लाग्यो,अनि मलाई दमौली अस्पतालमा ल्याइयो ।

दमौली अस्पतालले यहाँ केही पनि छैन भन्यो,” उनले थपिन्, “टीटी सुई पनि नभएको कस्तो अस्पताल हो ?” जिल्लाका सरकारी अस्पतालमा कुनै जीवले टोकेको सामान्य बिरामीको उपचारको व्यवस्था नहुँदा अझै जिल्लाबाहिर जानुपर्ने बाध्यता छ । दमौली अस्पतालमा प्राथमिक उपचार पाउन पनि मुस्किल पर्ने गरेको छ ।

छिमेकी जिल्ला गोरखा, लमजुङ र कास्कीका केही भेगका बासिन्दाको आस्थाको केन्द्र सो अस्पतालमा उपचारका लागि आउने बिरामी केही सुविधा नपाउँदा निराश हुँदै फर्कने गरेका छन् । पन्ध्र शय्या क्षमताको प्रादेशिक क्षेत्रको ‘क’ वर्गको अस्पतालले आँखा, दाँत, डायलाइसिस, भिडियो एक्सरे, एक्सरे, प्रसूति सेवा, ओपिडी, मानसिक, एचआइभी संक्रमितका लागि एआरटी, क्षयरोग, प्रयोगशाला, स्वास्थ्य बीमा, गर्भवती , खोप, औषधालय लगायत सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा टिटानाश औषधि र सुई नहुँदा कैयौँ सर्वसाधारण रित्तै हात फर्किन बाध्य छन् ।

लकडाउन अघिदेखि नै अस्पतालमा २५ रुपैयाँ पर्ने टिटी सुई नहुँदा सर्वसाधारणले निजी क्लिनिक तथा अस्पतालमा सयौँ गुणा मूल्य तिरेर सेवा लिँदै आएका छन् । खिया लागेका फलामजन्य वस्तुले घोच्दा, कुकुर, मुसा, बिरालो, मान्छेले टोक्दालगायत अवस्थामा ज्यानको सुरक्षाका लागि सुई लगाइन्छ । लकडाउनका कारण टिटी सुईलगायत अस्पतालको औषधालयमा अधिकांश औषधि अभाव हुँदा बीमा गरेकाहरु अझ बढी प्रभावित भएको अस्पताल प्रशासनले जनाएको छ ।

टिटी सुई लगाउन दैनिक चारदेखि सात जनासम्म अस्पतालमा आउने गरेको बताइएको छ । कतिपयले बाहिर क्लिनिकबाट टिटी सुई किनेर ल्याएर लगाएर जाने गरेको नाम नबताउने शर्तमा एक कर्मचारीले बताए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदिपराज अधिकारीले माग गरेको औषधी समयमा नै नआएको कारण सेवा प्रदानमा समस्या भएको बताए ।

“जनस्वास्थ्य कार्यालय मार्फत औषधी र भ्याक्सिन माग गर्छौं तर समयमा नै आउँदैन त के गर्ने ?” उनले भने, “समयमा नै औषधी आएमा बिरामीलाई प्रदान गर्न सकिन्छ । माग गरेअनुसारको औषधी पनि आउँदैन, कसरी पूरा गर्ने ?” त्यस्तै उनले सर्पले टोकेकोमा चाहिने ‘एन्टिडोट’ जिल्लामै नपाउने बताए । उनले भने, “निःशुल्कमा औषधी नआएपछि हामीले शुल्क तिरेर भए पनि बिरामीलाई प्रदान गरेका छौँ । तर मुख्य समस्या नै समयमा नै औषधी नआउनु हो ।” यता जनास्वास्थ्य कार्यालय तनहुँले चौमासिकको अन्तरमा अघि महिनाको अनुपातमा औषधी पठाउने गरेको बताएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट आजसम्मकै ठूलो धनराशी पुरस्कार भएको टिकटक प्रतियोगिता बराहक्षेत्रमा हुँदै
अगिल्लो पोस्ट मानव अधिकार आयोगद्वारा हिरासतमा राखिएका युवकको मृत्युबारे अनुसन्धान सुरु