पुरूषवादी अमेरिकी राजनीतिमा कमला ह्यारिसको उम्मेदवारी

सेयर गर्नुहोस्
0Shares

ई–साझाकुरा, साउन ३०

                                            एजन्सीहरूको सहयोगमा

सोमबार राति अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रयाटिक पार्टीका उम्मेदवार जो बाइडेनले क्यालिफोर्नियाकी सिनेटर कमला ह्यारिसलाई उपराष्ट्रपति उम्मेदवार बनाउने घोषणा गरे।

जमैकाबाट आएका बाबु र भारतबाट आएकी आमाकी छोरी ह्यारिस ठूलो दलबाट उपराष्ट्रपति उम्मेदवार हुने तेस्रो महिला र पहिलो काला जातिकी महिला भएकी छिन्।

हालका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना महामारी नियन्त्रणमा देखाएको नालायकी र काला जर्ज फ्लोएडको घाँटीमा गोरा प्रहरी अधिकारीले घुँडाले थिचेर हत्या गरेपछि भएको देशव्यापी विरोध क्रममा खुल्लमखुल्ला रूपमा देखाएको रंगभेदी प्रवृत्तिका कारण आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको पराजय लगभग निश्चितजस्तै मानिन्छ।

तमाम अवगुण र नालायकी, यसअघिका राष्ट्रपतिले सोच्न पनि नसक्ने खालका उनले गरेका पतीत काम र वहालवाला राष्ट्रपति नभएको भए जेल नै जानुपर्ने खालका अपराधका बावजुद् महामारीअघि अर्थतन्त्र र रोजगारीको राम्रो अवस्थाका कारण ट्रम्पले जित्ने बलियो सम्भावना थियो। तर कोभिड-१९ रोकथाममा सुरूमा देखाएको लापरबाही र पछि देखाएको नालायकीका कारण डेढ लाख बढी अमेरिकीको ज्यान गइसकेको छ भने अर्थतन्त्र र रोजगारी पनि धराशायी भएको छ। नोभेम्बर ३ मा हुने चुनावअघि चमत्कारिक रूपमा खोप वितरण गरे पनि चुनावमा खसालिएका सबै भोट गनिए ट्रम्पको हार निश्चित भएको अमेरिकी राजनीति विश्लेषकहरू बताउँछन्। त्यो बुझेरै पछिल्ला दिनमा ट्रम्पले चुनाव सार्ने पो हो कि भन्ने खालका अभिव्यक्ति दिन थालेका छन्।

उनका मतदाता जस्तोसुकै अवस्थामा पनि भोट खसाल्न जाने खालका छन्। हुलाकबाट मत हाल्नेमा उनलाई भोट नहाल्नेहरू बढी हुन्छन्। नोभेम्बरको चिसोमा महामारी अझ फैलियो भने हुलाकबाट मत हाल्नेको संख्या झन् बढी हुनेछ। त्यसैले उनले महिनौंदेखि हुलाकबाट मतदान गर्दा धाँधली हुन्छ भनेर हौवा पिटाएका छन्। आफूले नियुक्त गरेका हुलाक सेवाका प्रमुखमार्फत् हुलाकबाट हुने मतदान रोक्ने वा मतदान भए पनि गणना रोक्ने वा ढिलो गराएर संवैधानिक संकट निम्त्याउने उनको दाउ देखिन्छ।

यो सबै प्रपञ्चमा ट्रम्प सफल नभए बाइडेन अमेरिकाको आगामी राष्ट्रपति हुने लगभग पक्का मानिन्छ।

त्यसो भए ह्यारिस अमेरिकाकी पहिलो महिला उपराष्ट्रपति हुनेछिन्।

सन् २०१६ मा राष्ट्रपति चुनावको दौड सुरू हुनभन्दा केही महिनाअघि जेठा छोरा ब्यु बाइडेनको ‘ब्रेन ट्युमर’का कारण मृत्यु भएपछि राष्ट्रपति चुनावमा नउठ्ने घोषणा गरेका तत्कालिन उपराष्ट्रपति बाइडेनले धेरै सोचविचार गरेर ह्यारिसलाई छानेको देखिन्छ।

ह्यारिसले १४ महिनाअघि भएको डेमोक्रयाटिक पार्टीको बहसमा बाइडेनले सन् ६०-७० दशकताका काला र गोरालाई छुट्टयाउनु पर्छ भन्ने सांसदसँग राम्रो समबन्ध राखेको भन्दै उनको चर्को आलोचना गरेकी थिइन्। म त्यति बेला छुट्टै बसमा लादिएकी सानी फुच्ची हुँ भनेर गरेको बाइडेनको आलोचना धेरैले व्यक्तिगतस्तरको मानेका थिए। त्यस्तो चर्को आलोचना गरेकी ह्यारिसलाई आफ्नो दिवंगत छोरा ब्युकी समकक्षी भन्दै बाइडेनले उपराष्ट्रपतिको उम्मेदवार छानेका छन्।

उनले मार्चमा नै महिलालाई उपराष्ट्रपतिको उम्मेदवार छान्ने घोषणा गरेका थिए। मे २५मा फ्लोयडको हत्यापछि चर्किएको ब्लाक लाइभ्स म्याटर आन्दोलन  र २०१२ मा बाराक ओबामालाई मत हाल्न उर्लिएका कालाहरूले त्यो संख्यामा २०१६मा हिलारी क्लिन्टनलाई मत नखसालेकाले पनि ट्रम्पले जितेको देखेका बाइडेनले कालाको मत आफ्नोमा ओइराउन पनि काला जातिबाट उम्मेदवार छान्नु पर्ने दबाब थियो।

ट्रम्प आफ्नै नालायकी र छुद्रताले हार्ने निष्कर्ष निकालेका बाइडेनका लागि ह्यारिस ‘सेफ’ उम्मेदवार हुन्।  ह्यारिस राष्ट्रपतीय दौडमा भएकै बेला उनका कमजोरी-विवादस्पद काम खोतलिएका छन्। त्यो दौड बाहिरका छान्दा उम्मेदवारी घोषणा पछि खोतलिने खतरा हुन्थ्यो।

राष्ट्रपतीय दौडबाट बाहिरिएकी उपराष्ट्रपतिकी दाबेदारमध्ये मिनेसोटाकी सिनेटर एमी क्लोबुचारले फ्लोयडको हत्यापछि हत्या भएको काउन्टीमा विगतमा सरकारी वकिल हुँदा कालाको हत्या गर्ने प्रहरी अधिकारीमाथि मुद्दा नचलाएकाले आफैं उपराष्ट्रपतिको उम्मेदवार नहुने जानकारी बाइडेनलाई गराएकी थिइन्।

डेमोक्रयाटिक पार्टीको राष्ट्रपतीय दौडकी सम्भवत: सबैभन्दा योग्य र सक्षम उम्मेदवार मानिएकी म्यासाच्युसट्सकी सिनेटर एलिजावेथ वारेन उग्र वामन्थी भएका कारण उनलाई उपराष्ट्रपतिकी उम्मेदवार बनाए ट्रम्पले देश वामपन्थीले कब्जा गर्न आँटे भनेर कम्युनिष्टलाई इतिहासदेखि नै देखिनसक्ने अमेरिकीलाई भड्काउन सक्ने सम्भावना रहन्थ्यो।

वारेनलाई उम्मेदवार छान्दा, चुनाव जितेमा सिनेटको समीकरण बिग्रिनसक्ने खतराले पनि काम गरेको हुनसक्ने धेरैले मान्छन्।

अहिले तल्लो सदनमा डेमोक्रयाटिक पार्टीको बहुमत छ भने माथिल्लो सदन सिनेटमा रिपब्लिकनको। ट्रम्पका कारण रिपब्लिकन पार्टीको छवि बिग्रिएकाले यो वर्ष हुने सिनेटका केही सिटको चुनावमा रिपब्लिकनले जितेका ठाउँमा जिते सिनेटमा समेत डेमोक्रयाटिक पार्टीको बहुमत हुनसक्ने धेरैको आँकलन छ। बाइडेनले चुनाव जिते वारेनको खाली सिटमा मसाच्युसट्सका रिपब्लिकन गभर्नरले आफ्नै पार्टीको व्यक्तिलाई अल्पकालीन सिनेटर मनोनित गर्ने खतरा रहन्थ्यो। ह्यारिसको राज्य क्यालिफोर्नियामा डेमोक्रयाटिक गभर्नर रहेकाले त्यस्तो खतरा हुन्न।

डेमोक्रयाटिक पार्टी वामपन्थी विचारधारातिर ढल्किइसकेका बेला ह्यारिस बाइडेनजस्तै मध्यमार्गी छिन्। डेमोक्रयाटिक पार्टीका धेरै चरमपन्थीले अहिले रंगभेदी प्रहरीको बजेट रोक्नु पर्ने वा पुलिस नै खारेज गर्नुपर्ने माग गरी रहेका बेला बाइडेनले त्यस्तो प्रतिवद्धता जनाएका छैनन्। डेमोक्रयाटिकले जिते वामहरूले प्रहरी खारेज गर्ने भए, देशमा अराजकता ल्याउने भए भन्ने आरोप लगाउन ट्रम्पलाई गाह्रो छ। आफ्नै पार्टीका चरमपन्थीले क्यालिफोर्निया राज्यको महान्यायधिवक्ता हुँदा प्रहरी-हिंसा रोक्न केही गर्न नसकेको आरोप लगाएकी ह्यारिसको उपराष्ट्रपति बनेपछि त्यस्तो आरोप लगाउन झन गाह्रो हुनेछ।

डेमोक्रयाटिक पार्टीको राष्ट्रपतीय दौडका तीन मुख्य दाबेदार; भर्माण्टका सिनेटर बर्नी स्यान्डर्स, वारेन र बाइडेन सबैजना ७० वर्ष माथिका हुन्। स्यान्डर्सबाहेक अरूले उम्मेदवारी फिर्ता लिएर बाइडेनलाई समर्थन गर्न थालेपछि आफू सेतुमात्र भएको र पार्टी नयाँ पुस्ताका भएको टिप्पणी बाइडेनले गरेका थिए। ५५ वर्षीय ह्यारिसको कम उमेरले पनि उनको चयनमा मद्दत गर्‍यो।

सबैले अनुमान गरेजस्तै ट्रम्पले चुनाव हारे ह्यारिस लिङ्गभेदी अमेरिकाको पहिलो महिला उपराष्ट्रपति हुनेछन्। सबैले अनुमान गरेजस्तै बाइडेनले उमेरका कारण अर्को कार्यकालका लागि नलडे (पहिलो कार्यकाल नसकिँदै उनी ८२ वर्षका हुनेछन्) वा दुई कार्यकाल नै पुरा गरे पनि उनी डेमोक्रयाटिक पार्टीको राष्ट्रपतीय दौडमा अग्रपंक्तिमा हुनेछन्। ट्रम्पले ध्वस्त पारेको रिपब्लिकन पार्टीको पुनर्त्थान हुन समय लागे चुनाव जितेर यो दशकभित्रै ह्यारिस अमेरिकाको राष्ट्रपति हुन सक्नेछन्।

अझ चार वर्ष नपुग्दै इतिहासकै सबैभन्दा पाका उमेरका अमेरिकी राष्ट्रपति बाइडेनलाई केही भए चुनाव नजितिकनै उनी राष्ट्रपति हुनेछिन्।

जसरी भए पनि अमेरिकाजस्तो लिङ्गभेदी देशको कार्यकारी राष्ट्रपति हुनेछिन्।

संसारभर अझै पनि पितृसत्तातमक छ। कुनै समाज अलिक धेरै छ, कुनै अलिक कम। केही सामाजिक रूपमा बढी पितृसत्तात्मक छन् भने केही राजनीतिकमा। तर पश्चिमा-पूर्विय जुनै पनि समाजमा अझै पनि महिलाविरुद्ध भेदभाव जारी छ।

समानताको सवालमा तुलनात्मक रूपमा अमेरिका धेरै देशभन्दा अघि छ। अमेरिकी समाज अझै पनि धेरै हदसम्म रङ्गभेदी भए पनि महिला समानताको सवालमा अघि नै छ। तर राजनीतिमा भने अमेरिका २१औं शताब्दीमा पनि अचम्म लाग्ने गरी नै लिङ्गभेदी छ।

दक्षिण एसियामा श्रीमान् वा पिताको मृत्युपश्चात नै किन नहोस् आधा शताब्दिअघि महिलाले शासन चलाए। सोलोमन बन्दरानायकेको हत्यापछि सिरिमाओ बन्दरानायके १९६०मा तत्कालीन सिलन (हाल श्रीलंका) की प्रधानमन्त्री भइन् भने ६ वर्षपछि जवाहरलाल नेहरूकी छोरी इन्दिरा गान्धी पिताको मृत्युको दुई वर्ष नबित्दै भारतजस्तो ठूलो राष्ट्रको शक्तिशाली प्रधानमन्त्री भइन्।

यिनीहरूले शासन चलाए पनि यी देशमा महिला समानतामा उल्लेख्य प्रगति भएन। तर पनि पिता वा पतिकै मृत्युपश्चात नै किन नहोस् यिनले (विशेष रूपमा गान्धीले) सत्ता सञ्चालकका रूपमा आधा शताव्दी अघि पनि पुरा अधिकार प्रयोग गरे।

अमेरिकी त्यसको आधा शताब्दीपछि पनि महिलालाई राष्ट्र प्रमुखका रूपमा स्वीकार्नसमेत तयार देखिँदैनन्। अचम्म त महिलावादी स्वयं पनि त्यो यथार्थ खुला रूपमा स्वीकार्न बाध्य छन्।

अमेरिकाजस्तो खुला समाजमा पनि राष्ट्रपति हुन केही परम्परागत खालका मान्यता छन्। समाज जतिसुकै खुला भए पनि राष्ट्रपति ‘फेमिलीम्यान’ देखिनु पर्छ । मतलब राम्रो श्रीमान् देखिनुपर्छ। जतिसुकै व्यभिचारी भए पनि। छोराछोरी छन् भने राम्रो बुबा बन्नुपर्छ।

त्यसैले त अहिलेसम्म दुई जनामात्रै डिभोर्स भएका पुरूष अमेरिकाको राष्ट्रपति भएका छन्। १९८१ देखि शासन गरेका ४०औं  राष्ट्रपति रोनाल्ड रेगन र हालका ४५औं डोनाल्ड ट्रम्पको ह्वाइटहाउन छिर्नुअघि विवाह टुटेको थियो।

अविवाहित पनि अहिलेसम्म दुई जनामात्रै अमेरिकाका राष्ट्रपति भएका छन्। ६६ वर्षको उमेरमा निर्वाचित १५ औं राष्ट्रपति जेम्स बुकानन् (१८५७-६१) र ४८ वर्षको उमेरमा निर्वाचित २२औं ग्रोभर क्लिभलेण्ड (१८८५-८९)।  बुकानन आजीवन अविवाहित रहे भने क्लिभलेण्डले पहिलो पटक राष्ट्रपति भएको एक वर्षपछि विवाह गरेका थिए।

फेमिलीम्यान भन्ने योग्यतामा नै अर्को मुख्य र घोर लिंगभेद योग्यता लुकेको छ। अर्थात् अमेरिकी राष्ट्रपति हुन ‘म्यान’ वा पुरूष नै हुनुपर्छ। त्यसैले त अमेरिकामा अहिलेसम्म कोही पनि महिला राष्ट्रपति भएका छैनन्। स्वतन्त्र भएको २३५ वर्षभन्दा बढी र महिलालाई मतदानको अधिकार दिएको १०० वर्षमा पनि अमेरिकीले महिलालाई राष्ट्रपति निर्वाचित गरेका छैनन्।

महिला राष्ट्रपति हुने त परै जओस् उपराष्ट्रपति पनि भएका छैनन्। चार वर्ष अघि ट्रम्पसँग हारेकी हिलारी क्लिन्टनमात्र अहिलेसम्म मुख्य पार्टीले चुनेकी एकमात्र महिला राष्ट्रपति उम्मेदवार हुन् भने ह्यारिस मुख्य पार्टीले चुनेकी तेस्रो महिला उपराष्ट्रपतीय उम्मेदवार।

हिलारीले ठूलाबडाको (हाम्रो भाषामा सुकिलामुकिला) मात्र प्रतिनिधित्व गर्ने, अरूलाई नगन्ने, रूसको हस्तक्षेपसहित हारका कैयौं कारण देखाइए पनि, ट्रम्पजस्तो अयोग्य, नालायक र फटाहासँग उनीजत्तिको योग्य र अनुभवी राजनीतिज्ञले हार्ने प्रमुख कारण उनी पुरूष नहुनु नै हो।

होइन भने अर्बपति ट्रम्पले कसरी निमुखाको प्रतिनिधित्व गर्छन्? जर्ज एच डब्ल्यु बुसको शासन सकिएको आठ वर्षमै उनका छोरा जर्ज डब्ल्यु बुस राष्ट्रपति हुँदा केही नहुने तर बिल क्लिन्टनको पदावधि सकिएको १६ वर्षपछि उनकी पत्नी हिलारी राष्ट्रपति उठ्दा पनि क्लिन्टन परिवारले सत्ताकब्जा गरेझैं मानिने?

अमेरिकी राजनीतिको पितृसत्तात्मक प्रवृत्ति यस पटकको चुनावमा पनि देखियो। एलिजावेथ वारेनजस्ती योग्य र अरू धेरै आशालाग्दा महिला उम्मेदवार हुँदा पनि ‘बोरिङ जो’ भनेर उडाइने जो बाइडेन ट्रम्पविरूद्ध डेमोक्रयाटिक उम्मेदवार भए। पदभार सुरू हुँदा ७८ वर्ष पुग्ने (निर्वाचित भए अहलेसम्मकै बढी उमेरका अमेरिकी राष्ट्रपति हुने) बुढालाई डेमोक्रयाटिक पार्टीले उम्मेदवार बनायो।

दु:खद कुरा त वारेनसहित धेरै महिला उम्मेदवारका महिला समर्थकले समेत महिला भएकै कारणले आफ्नो मन पर्ने उम्मेदवारले ट्रम्पलाई हराउन नसक्ने भन्दै डेमोक्रयाटिकको चुनावमा बाइडेनलाई भोट हाले। दौडमा अगाडि रहेका भर्माण्टका सिनेटर बर्नी स्यान्डर्स आफ्नो उग्रवाम छविका कारण ट्रम्पलाई हराउन नसक्ने देखेर धेरै हदसम्म स्यान्डर्सकै जस्तो नीति भएकी वारेनले समेत बाइडेनलाई समर्थन गर्नुपर्‍यो।

वारेनले समर्थन गरेपछि सारा पार्टी बाइडेनका वरिपरि गोलबद्ध भएपछि दौडबाट बाहिरिन लागेका बाइडेनको डेमोक्रयाटिक पार्टीबाट उम्मेदवारी निश्चित भयो।

वारेन वा उनीभन्दा योग्य महिला पनि पुरूष नभएकै कारण राष्ट्रपति हुन नसक्ने कटु यथार्थसँग सम्झौता गर्न बाध्य भएका महिलावादी कमसेकम ट्रम्पजस्तो महिलालाई गन्दै नगन्ने घोर पितृसत्तावादीले हारेदेखि केही शकुन हुने आशामा थिए।

तर बाइडेन डेलावेरका सिनेटर भएका बेला उनीसँग काम गरेकी टारा रिडले यौन उत्पीडन गरेको आरोप लगाएपछि महिलावादीको त्यो शकुनको झिनो आशामा समेत तुसारापात भएको छ।

सत्ताइस वर्षअघि बाइडेनले उनलाई भित्तामा ठेलेर, उनको लुगामूनि हात लगेर, योनीमा औंला छिराएको आरोप ५६ वर्षीय रिडले लगाएकी छिन्। त्यतिबेला यसबारे धेरैलाई भनेको र सिनेट कर्मचारी कार्यलयमा लिखित जाहेरी दिएको तर जाहेरीपछि बाइडेनले उनलाई निकालेको उनको दाबी छ।

कोरोना महामारीका कारण केही महिनाअघि लगाएको आरोपको उति धेरै चर्चा नभए पनि ट्रम्पको क्याम्पेनले यो मुद्दा चुनावताका उछाल्न सक्छ।

बाइडेनले यसबारे कुरा गर्दै आफू निर्दोष भएको दाबी गरेका छन्। यो आरोप झूठो भएको भन्दै मिडियाले यसको छनबिन गर्ने र राष्ट्रिय अभिलेखालयमा यसबारे खोज्न सकिने बताएका छन्।

सन् १९९१ मा सिनेटको न्याय समिति सभापतिको हैसियतमा बाइडेनले कानुनकी प्रोफेसर अनिटा हिलले जर्ज एच डब्ल्यु बुसले सर्वोच्च अदालतको न्यायाधीशका लागि मनोनयन गरेका क्लारेन्स थोमसविरूद्ध लगाएको यौन उत्पीडन आरोपको सुनुवाइ गराएका थिए।

त्यतिबेला हिलको समर्थनमा समितिमा बयान दिन धेरैले चाहे पनि बाइडेनले उनको बयान लिएका थिएनन्। सिनेटरका रूपमा महिला अधिकारका लागि धेरै कानुन बनाउन काम गरेको र आठ वर्षका लागि बाराक ओबामाको उपराष्ट्रपति भएर महिलाका लागि धेरै गरेका बाइडेन आफैं पनि त्यो प्रकरण अप्ठयारो मान्छन्। त्यसैले त राष्ट्रपतिको दौडमा होमिनुअघि उनले हिलसँग कुरा गरेर पछुतो जनाए।

धेरै  केरिजम्याटिक नभए पनि र बोल्दा पनि चिप्लिइरहने बाइडेनको मुख्य राजनीतिक पूँजी उनको समानुभूति हो। उनी मान्छेको पीडा महसुस गर्न सक्ने नेताका रूपमा चिनिन्छन्। सबैलाई छोएर र अङ्कमाल गरी सामिप्यता देखाउने उनको बानीले यसमा सहयोग गरेको छ। उनले यसरी छुँदा धेरै महिलाले पहिले पनि अप्ठ्यारो महसुस गरेको बताएका छन्। गैरप्रेमीलाई अङ्कमाल गर्ने र गालामा म्वाइ खाने सांस्कृतिक प्रचलन भएको अमेरिकामा समेत धेरै महिलाले बाइडेनले शरिरमा त्यसरी छुँदा अप्ठ्यारो महसुस गरेको बताएका छन्। बाइडेन आफैंले पनि #मिटु अभियानपछि आफ्नो त्यसरी छुने बानी ठीक नभएको महसुस गरेको स्वीकारेका छन्।

बाइडेनको छुने बानीलाई उनका समर्थकले उनको सामिप्यता देखाउने तरिका भनी बचाउ गर्छन् भने अप्ठ्यारो मानेकै महिलाले पनि उनको उमेरका कारण अभिभावकीय व्यवहार हुनसक्ने बताउँछन्।

तर रिडअघि कसैले पनि यौन उत्पीडनको आरोप लगाएको थिएन। रिडले त छोएको मात्रै नभइ बाइडेनले योनीमा औंला छिराएको आरोप लगाएकी छिन् भने सो बेला उनको उमेर पनि अहिलेको जस्तो वृद्ध नभएर ५० वर्षका मात्रै थिए।

उसै पनि यौन उत्पीडन, बलात्कारका आरोपह प्रमाणित गर्न गाह्रो हुन्छ। सत्ताइस वर्षअघि भएको भनिएको उनीविरुद्धको यो आरोप पनि प्रमाणित हुन गाह्रो छ। तर पनि यो आरोपले उनलाई नैतिक रूपमा अप्ठ्यारो पारेको छ।

ट्रम्पले सर्वोच्च अदालतका न्यायाधीशका लागि मनोनयन गरेका ब्रेट क्यावानाविरूद्ध २०१८को अन्ततिर साइकोलोजीकी प्रोफेसर क्रिस्टिन ब्लाजी फोर्डले सन १९८२मा हाइस्कुल पढ्दा यौन आक्रमण गरेको आरोप लगाएको बेलामा बाइडेनले सकल डेमोक्रयाटिक पार्टीसँगै खुलेर फोर्डको पक्ष लिएका थिए।

फोर्डले त्यो घटनाको सबै कुरा ठ्याक्कै सम्झिन नसकेको भनी रिपब्लिकनहरूले औल्याउँदा बाइडेनले ‘कुनै पनि महिलालाई यसरी दशौं लाखका अगाडि आएर बोल्न साहस चाहिने भएकाले फोर्डलाई शंकाको सुविधा दिनु पर्ने’ बताएका थिए। महिलाले त्यसरी लगाएको आरोपको सार पत्याउनु पर्ने र त्यो साँचो हुने बताएका थिए।

रिडले सुरूमा सिनेट कर्मचारी कार्यालयमा लिखित जाहेरी हालेको तर आफूसँग त्यसको प्रतिलिपी नभएको बताएकी थिइन् भने पछि डरका कारण जाहेरीमा यौन उत्पीडन भनेर उल्लेख नगरेको भनेकी छन्।

फोर्डले सबै कुरा प्रष्टसँग नसम्झे पनि उनलाई विश्वास गर्नुपर्छ भनेको डेढ वर्ष पनि नपुग्दै अहिले त्यसरी नै अर्की महिलाले उनीविरूद्ध लगाएको आरोपले उनलाई नैतिक समस्या पारेको छ।

उनलाई मात्र नभएर सकल पार्टी र मतदातालाई पनि अप्ठ्यारो परेको छ। तर पनि महामारीका बेलामा नांगिइसकेका  ट्रम्पजस्तो असक्षम र महिलालाई ‘योनीमा समातेर’ तह लगाउनु पर्छ भन्ने व्यक्तिविरूद्ध उठेका उम्मेदवारको विरोध गर्न उनीहरूलाई गाह्रो छ। त्यसैले त पार्टीका सारा महिला नेतृले बाइडेनको बचाउ गरेका हुन्, सकल महिला मतदाताले त्यो आरोपलाई नजरअन्दाज गरेका छन्।

आफूले विगतमा महिलाप्रति गरेको व्यवहारको प्रायश्चितका लागि हो वा हिलारी योग्य हुँदा-हुँदै ट्रम्पजस्तासँग हारेको देखेको पीडा वा साँच्चै नै अमेरिका २१औं शताब्दीमा पनि यति लिङ्गभेदी हुनु हुँदैन भन्ने बोध भएर हो वा अरू कुनै कारणले, बाइडेनले महिलालाई उपराष्ट्रपतिको उम्मेदवार छानेका छन्।

चुनाव जितेमा बाइडेनको काँधमा महामारीसँग लड्ने, कोरोनाले धराशायी पारेको अर्थतन्त्रलाई उकास्ने, ट्रम्पले ध्वस्त पारेको विदेश सम्बन्ध र देशभित्रकै विभिन्न संस्था ब्युँताउने लगायतका ऐतिहासिक जिम्मेवारी हुनेछ।

चुनाव जिते त्यो सब जिम्मेवारी सुरू गर्नुअघि नै ‘बोरिङ जो’ भनेर उडाइने बाइडेनले लैंगिक समानताका लागि क्रान्तिकारी योगदान दिनेछन्। अमेरिकालाई पहिलो महिला उपराष्ट्रपति दिनेछन् र पहिलो महिला राष्ट्रपतिका लागि मार्ग प्रशस्त गर्नेछन्।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट सिन्धुपाल्चोक : ३७ घर पहिरोले बगायो, ३६ जना सम्पर्कविहिन, दुईको शव भेटियो
अगिल्लो पोस्ट नेकपामा विवाद सुल्झाउन कार्यदल गठन, महासचिव संयोजक