गाउँपालिकाको २५ लाख रुपैंयाँ परिवारको खातामा सार्ने लेखापालसहित चार जना पक्राउ

सेयर गर्नुहोस्
141Shares

रुकुमपश्चिम, २३ साउन ।

गाउँपालिकाको २५ लाख रुपैंयाँ हिनामिना गरेको आरोपमा रुकुमपहिचमको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीसहित चार जना पक्राउ परेका छन् ।

बिहीबार राति गाउँपालिकाको कार्यालयमा हिनामिना गरेको रकमको कागजात मिलाउने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

लेखापाल केसीले सरकारी रकम आफ्नो, श्रीमती र भतिजाको खातामा जम्मा गरेको आरोपमा उनीसहित लेखा सहयोगी तथा लेखापालका सहोदर भतिजा सुवास केसी, भाइ विकास र अर्का भतिजा भिमसेनलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिएका छन् ।

रातको समयमा गाउँपालिकाको कार्यालयमा बाहिरबाट ताला लगाई कागजात मिलाउँदै गरेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनीहरुलाई कार्यालयबाटै पक्राउ गरेर जिल्ला सदरमुकाम ल्याएको छ ।

लेखापाल केसीमाथि गत वर्ष २०७६–०७७ को बजेटबाट २४ लाख ९२ हजार ३७२ रुपैयाँ आफ्नो, श्रीमती र भतिजा सुवासको खातामा जम्मा गरेको आरोप छ । घटनाको पर्दाफास भएपछि विभिन्न शीर्षकमा अनाधिकृत रुपमा आफ्नो र परिवारका सदस्यको खातामा जम्मा गरेको उक्त रकम केसीले गाउँपालिकाकै खातामा फिर्ता गरेका छन् ।

विना कुनै प्रयोजन व्यक्तिका खातामा सरकारी रकम जम्मा भएको थाहा पाएपछि गाउँकार्यपालिकाले समेत चासो व्यक्त गरेको थियो । यो कुरा बाहिरिएपछि जिल्ला प्रशासन कार्यालयले छानविन थालेको छ ।

अहिले उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ । आरोप प्रमाणित भएमा कानुन बमोजिम कारबाही गरिने प्रजिअ पौडेलले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट सुन बजारको भविष्य : गहना बिक्री नहुने दिन आउन सक्छ 
अगिल्लो पोस्ट पाटन अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु